विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन २५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्रीको सपथ ग्रहण

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नितिश कुमारले सपथ ग्रहण गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीका अनुसार नितिश कुमारले राज्यको मुख्यमन्त्रीका रुपमा कीर्तिमानी आठौँ पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

भारतको केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपासँगको सत्ता साझेदारी त्यागेसँगै राज्यमा राजनीतिक समीकरणमा फेरबदल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मङ्गलबार उनले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनले बिहारका राज्यपाल फागू चौहानलाई भेटेर राजीनामापत्र बुझाएका थिए ।

राजीनामा दिएको भोलिपल्ट नै उनी पुन: मुख्यमन्त्रीमा पदासिन भएका छन् । सातदलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो ।

तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् । राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए ।

राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एकसय ६४ जना विधायकको समर्थन रहेको जनाइएको छ ।

यता भारतको केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपाले बिहारमा नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको आरोप लगाएको छ ।

नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको हो ।

भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएअनुसार राज्यको राजधानी पटनामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जयसवालले बिहारका जनताले नितिश कुमारलाई कहिल्यै क्षमा नदिने बताए ।

‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइएको थियो ।

मंगलबार जे भयो त्यो बिहारका जनता र भाजपामाथि विश्वासघात हो’, नितिशतर्फ संकेत गर्दै जयसवालले भने ।

पाकिस्तानमा पत्रकार गिरफ्तारीको चौतर्फी विरोध

पाकिस्तानका पत्रकारले स्थानीय एआरवाई न्युज टेलिभिजनका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गरेका छन् । उनलाई बुधबार पक्राउ गरिएको थियो ।

पत्रकारहरुले उनको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग समेत गरेका छन् । सादा पोशाकमा आएका प्रहरीले उनको घरमा जबरजस्ती प्रवेश गरी पक्राउ गरेको भारतीय समाचर संस्था एएनआईले जनाएको छ ।

पत्रकार सङ्घ र प्रेस क्लबले एआरवाई न्यूजका प्रमुख युसुफको गिरफ्तारीको निन्दा गर्दै उनलाई तत्काल हिरासतमुक्त नगरे देशव्यापी आन्दोलनको आह्वान गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट (पीएफयूजे) ले वक्तव्य जारी गर्दै सरकारको लज्जास्पद कारवाहीको विरोध गरेको छ ।

प्रधानमन्त्री शहबाज सरिफले युसुफलाई तत्काल रिहा गर्न निर्देशन दिनुपर्ने उक्त युनियनले बताएको छ । पिएफयूजेका महासचिव एएच खानजादाले युसुफलाई तत्काल रिहा नगरिए पत्रकारले देशव्यापी आन्दोलनको आह्वान गर्ने बताए ।

अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध कुनै पनि हालतमा नसहने कराँची प्रेस क्लबका सचिव रिजवान भट्टीले भनेका छन् ।

पाकिस्तानको विद्युतीय सञ्चार नियामक प्राधिकरणले सोमबार कारण देखाउ सूचना पठाएपछि उनलाई पक्राउ गरिएको हो ।

यसैबीच, नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सलमान इकबालसहित अन्य दुई ‘एङ्कर’ विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ । उनीहरूमाथि देशद्रोह र षड्यन्त्रको आरोप लगाइएको छ ।

युक्रेनमा भएको गोलाबारीमा १२ युक्रेनीको मृत्यु

युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्य एक जनाको मृत्यु भएको बताएका छन् ।

जापोरिज्जियामा युरोपकै सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्र रहेको छ । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोलाबारी गरेको आरोप लगाएका छन् ।

रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो ।

त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो ।

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा भारतमा १६ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ९० हजार ६ सय ९७ सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २८ हजार दुई सय ६१ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय २६ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५७ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ८० लाखभन्दा बढीको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यता दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट संक्रमित भएका छन् । सोमबारको तुलनामा मंगलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको संख्या बढेको हो । मंगलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट संक्रमित हुनेको संख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका संख्या २५ हजार तीन सय ८२ पुगेको छ ।

यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार चार सय ९८ जना बिरामीको अभिलेखीकरण गरिएको मलेसियायाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन् ।

मंगलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै रोगलाई परास्त गर्ने मलेसियालीको संख्या ४६ लाख ३५ हजार सात सय ३७ पुगेको छ । हाल मलेसियामा ४२ हजार सात सय १७ जना कोभिड–१९ का सक्रिय संक्रमित छन् ।

न्युजिल्याण्डमा कोभिड–१९ का पाँच हजार एकसय ६९ नयाँ बिरामी फेला परेका तथा १८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड–१९ को महामारी सुरु भएयता न्युजिल्याण्डमा एक हजार सात सय पाँच जनाको मृत्यु भएको छ ।

सन् २०२० को शुरुमा न्युजिल्याण्डमा महामारी फैलिएपछि १६ लाख ५७ हजार ७४३ जना कोरोनाबाट पीडित भएका छन् ।

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनीको मृत्यु

इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेस्ट ब्याङ्कमा भएको भिडन्तमा चार नागरिक मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भिडन्तमा मारिएकामध्ये तीन जना उत्तरी वेस्ट ब्याङ्कको नाब्लुस सहर र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रनका बान्दिा रहेका थिए । नाब्लुसमा इजरायली सेनाले छापा मारेको थियो ।

सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले छापा मारेको जनाएको छ ।

इजरायलको सेनाले नाब्लुसमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजी गर्ने क्रममा छापा मारेको जनाएको छ ।

त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरेको जनाएको छ ।

पछिल्ला केही दिनमा इजरायली सेना र प्यालेस्टिनी लडाकुले आक्रमणहरु जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ ।

यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि हिंसात्मक घटनाहरु भने रोकिएका छैनन् ।

जर्मनीमा ४ वर्षीया बालिकामा पनि मङ्कीपक्सको सङ्क्रमण

युरोपेली मुलुक जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको पाइएको छ । जर्मनीकी एकजना चार बर्षीया बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले जनकारी दिएको हो ।

उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर सङ्क्रमित रहेका र उनीहरुसँगै बस्दै आएकी यी बालिकामा पनि सो सङ्क्रमण भेटिएको छ ।

जर्मनीमा गएको मे महिनादेखि मङ्कीपक्सको सङ्क्रमण देखिएको हो । त्यहाँ अहिलेसम्म दुई हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिइसकेको छ । तर बच्चामा भने यो पहिलो पटक पाइएको बताइएको छ ।

अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ ।

बारुदी सुरुङ हटाउन अमेरिकाले युक्रेनलाई ८९ मिलियन डलर सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ ।

युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन् । ‘रुसको गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’, अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

‘यी विस्फोटक खतराहरूले उर्वर खेती भूमिमा पहुँच रोक्छ । पुनर्निर्माण प्रयासमा ढिलाइ गर्दछ । विस्थापित समुदायहरूलाई उनीहरूको घर फर्कनबाट रोक्छ र निर्दोष युक्रेनी नागरिकको ज्यान जोखिममा पार्छ, ’ विज्ञप्तिमा भनिएको छ ।

रुसी सेनाले खाद्यान्न सुविधा, कार ट्रक, धुने मेसिन, ढोका, अस्पतालको ओछ्यान र लडाइँमा मारिएका मानिसहरूका शव लुकाइएका स्थानमा माइन राखेको एक अमेरिकी अधिकारीले बताएका छन् ।

नुनको विकल्पमा अन्य खानेकुरा खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम हुने शोध प्रतिवेदन सार्वजनिक

नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ ।

जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउनसक्ने बताएका छन् ।

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे । आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ ।

चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए । नुनको विकल्प रोज्नेमा हृदयघातको जोखिम कम देखिएको अध्ययनको निष्कर्ष छ ।

चीनमा गरिएको यो अध्ययन र त्यसको निष्कर्ष मानज स्वास्थ्यका निम्ति लाभदायक भए पनि त्यस्तै परिणाम विश्वका अन्य भागमा पनि लागू हुन्छन् भनेर किटान गर्न नसकिने अनुसन्धानकर्ता नील बताउँछन् ।

पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिङ्ग वा जातिका मानिसको रक्तचाप कम गर्ने उनी उल्लेख गर्छन् । बीस वर्षदेखि अध्ययनअनुसन्धानमा व्यस्त उनले यो अनुसन्धानको निष्कर्षबाट आफू उत्साहित भएको बताए ।

पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा उनले जोड दिए । आयोडिनयुक्त नुन कण्ठरोग निवारण लागि ल्याइएको झै सोडियमयुक्त नुन हटाएर पोटासियमयुक्त नुनको प्रयोग बढाउन सकिने उनको तर्क छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ०० बजे

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा