स्याङ्जाबाट आठ महिला चुनावी प्रतिस्पर्धामा « Khabarhub

स्याङ्जाबाट आठ महिला चुनावी प्रतिस्पर्धामा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वालिङ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभासदस्यका लागि स्याङ्जाबाट आठ महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा आठ महिला उम्मेदवारसहित छ स्वतन्त्र उम्मेदवारले निर्वाचन केन्द्रीय गतिविधिलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभातर्फ स्याङ्जा क्षेत्र नं १ बाट एक मात्र महिला जनसमाजवादी पार्टी नेपालबाट तिलकुमारी नेपालीको उम्मेदवारी परेको हो । सोही क्षेत्रको प्रदेश ‘क’ मा भने तीन महिलाको उम्मेदवारी परेको छ । 

वाम-लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रकी अमृता थापा, नेकपा एमालेबाट सीताकुमारी सुन्दास र मङ्गोल नेशनल अर्गनाईजेशनबाट तिरथ गुरुङ चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । माओवादी (केन्द्र)की नेत्री थापा २०६४ र २०७० मा समानुपातिकबाट दुई पटक संविधानसभा सदस्य बनेकी थिइन् । दुई पटक संविधानसभा सदस्य बनेकी थापा यसपालि भने गठबन्धनबाट गण्डकी प्रदेशका लागि स्याङ्जा १ (क) बाट प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् । 

नेपाली काङ्ग्रेससहित गठबन्धनको साझा उम्मेदवार भएको र यसअघिको प्रदेशसभा सदस्यको निर्वाचनमा यो प्रदेशमा माओवादी केन्द्र विजयी भएकाले थापालाई बलियो उम्मेदवारकोरुपमा हेरिएको छ ।

त्यस्तै नेकपा (एमाले)बाट यो प्रदेशमा एमाले नेत्री सीताकुमारी सुन्दासको उम्मेदवारी परेको छ । उनी यसअघि जिल्ला समन्वय समितिको प्रमुख हुँदै जिल्ला समन्वय महासङ्घको केन्द्रीय अध्यक्ष भएकी थिइन् । यो प्रदेशमा थापा र सुन्दासबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । विसं २०७४मा यो प्रदेशमा माओवादीका दीपक घर्तीमगर विजयी भए ।

त्यस्तै क्षेत्र नं १ प्रदेश (ख) मा दुई महिलाको उम्मेदवारी परेको छ । मङ्गोल नेशनल अर्गनाईजेशनबाट चिन्तु गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्तिकुमारी हमाल रहेका छन् । त्यस्तै स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभामा नेकपा एमाले केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्माकुमारी अर्याल र राष्ट्रिय जनमुक्ति पार्टीकी रिमीसरा गाहामगरको उम्मेदवारी परेको छ । यो क्षेत्रमा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले सचिव अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गुरुङ यसअघि २०६४ र २०७० मा समानुपातिकबाट दुई पटक संविधानसभा सदस्य बनेका थिए ।

स्याङ्जाको क्षेत्र नं १ (ख), क्षेत्र नं २ को (क)(ख) गरी तीन वटै प्रदेशमा महिला उम्मेदवार छैनन् ।जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छ स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ स्याङ्जा क्षेत्र नं १ मा लोकबहादुर दमै उम्मेदवार छन्। सोही क्षेत्रको प्रदेश (क) मा पनि दुर्गादत्त भुसाल स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका लागि तीन निर्वाचनको प्रतिस्पर्धामा होमिएका छन्। सागर ढकाल, ढालप्रसाद पाण्डे र चिरञ्जीवी पाण्डे प्रतिस्पर्धी छन् । क्षेत्र नं २ को प्रदेश (क) मा धनबहादुर गुरुङले स्वतन्त्र उम्मेदवारी दिई चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

जिल्लाका दुई वटै निर्वाचन क्षेत्र र चार वटा प्रदेशमा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । क्षेत्र नं १ मा पुरुष मतदाताको सङ्ख्या ६२ हजार छ सय ७९ छ भने महिलाको सङ्ख्या ६४ हजार सात सय ३१ छ । क्षेत्र नं १ (क) मा पुरुष मतदाता ३० हजार पाँच सय ५८ छ भने महिला मतदाता ३१ हजार नौ सय ९९ छ । 

 प्रदेश (ख) मा पुरुष मतदाता ३२ हजार एक सय २१ छ भने महिला ३२ हजार सात सय ३२ छ । क्षेत्र नं २ मा पुरुष मतदाता ५६ हजार छ सय ३१ तथा महिला ६० हजार ४७ जना छन् । क्षेत्र नं २ को प्रदेश (क) मा पुरुष मतदाता २६ हजार तीन सय २४ र महिला २७ हजार आठ सय ६७ छन् ।

त्यस्तै प्रदेश (ख) मा पुरुष मतदाता ३० हजार तीन सय सात जना र महिला ३२ हजार एक ८० जना छन् ।स्याङ्जा जिल्लामा कूल दुई लाख ४४ हजार ८९ मतदातामध्ये पुरुष एक लाख १९ हजार तीन सय १० र महिला एक लाख २४ हजार सात सय ७८ जना छन् । एकजना अन्य छन् । समग्रमा जिल्लामा पुरुषभन्दा महिला मतदाता पाँच हजार चार सय ६८ बढी छ ।

–तोलाकान्त अवाले रासस

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : १२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका