कोभिड संक्रमित बढेको बढ्यै, कस्तो छ सरकारको तयारी ? | Khabarhub Khabarhub

कोभिड संक्रमित बढेको बढ्यै, कस्तो छ सरकारको तयारी ?



काठमाडौँ– कोरोना अस्पतालको हब मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु अस्पतालमा अहिले आईसीयूमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

तीमध्ये ७ जनालाई नर्मल वार्डमा राखेर उपचार गराइँदै छ ।

‘पहिलाको जस्तो अवस्था नआओस् भनेर हामीले डाक्टर थपेका छौँ,’ अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन्, ‘अक्सिजन प्लान्ट थपेका छौँ, आफै उत्पादन गर्न सक्छौँ । त्यसैले पहिलाको जस्तो अभाव हुँदैन ।’

सूचना अधिकारी गौतमका अनुसार कोरोना संक्रमणका बिरामी थपिन सक्ने देखिएकाले १ सय २५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

यता पाटन अस्पतालमा अहिले ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिले १ सय १० वटा बेड कोरोना लागि भनेर छुट्याएका छौँ, ३०० सम्म बेड संख्या बढाउँदै छौँ । आवश्यक परेमा अझै बढाउँछौँ,’ अस्पतालका निर्देशक डा. रवि शाक्यले खबरहबसँग भने ।

उनका अनुसार पाटन अस्पतालमा पनि उच्च शतर्कता अपनाइएको छ । जस्तोसुकै अवस्था आए पनि आफूहरु उपचार गर्न तयारी अवस्थामा रहेको डा. शाक्य बताउँछन् ।

‘अहिले आत्तिनुपर्ने अवस्था छैन तर हामी सबै सचेत भएर स्वास्थ्यका मापदण्ड पालना गर्न आवश्यक छ,’ उनी भन्छन् ।

पछिल्लो केही हप्तायता महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पनि कोरोना संक्रमितको संख्या बढेको छ । इमर्जेन्सीमा रुघाखोकी लागेका र अक्सिजन कम भएका बिरामीको संख्या बढेको अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बम बताउँछन् । उनी कोरोना संक्रमण भइहाले पनि पहिलेको जस्तो आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

‘पहिलेको जस्तो डरलाग्दो अवस्था त अझै आइसकेको छैन तर आउन सक्छ भनेर हामी पूर्वतयारीका साथ बसेका छौँ,’ डा. बम भन्छन् ।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को नयाँ भवनमा गतहप्ता आठ जना बिरामी भर्ना भएका थिए । तर, अहिले भर्ना हुनेको संख्या बढेको छ । वीर अस्पतालमा २९ जना संक्रमितले उपचार गराइरहेका छन् भने तीमध्ये पाँच जनामा कडा लक्षण देखिएको छ ।

अस्पतालका उपनिर्देशक डा. प्रज्ज्वल श्रेष्ठ भन्छन्, ‘डेल्टाजस्तो घातक नभएकाले अहिले नै डराउनुपर्ने अवस्था आएको छैन ।’

अहिले दुई वटा अक्सिजन प्लान्ट तयारी अवस्थामा रहेकाले पनि पहिलाको जस्तो अवस्था नआउने उनी बताउँछन् । अहिले अस्पतालमा आईसीयूमा एक सय बेड रहेको र १ सय ९७ जना कोरोनाका लागि स्वास्थ्यकर्मी परिचालित गरिएको डा. श्रेष्ठ बताउँछन् ।

कसरी फैलियो कोरोनाको ओमिक्रोन भेरियन्ट ?

पुस ११ गतेदेखि शुरु भएको नेकपा माओवादी केन्द्रको महाधिवेशन पुस १८ गते सकियो ।

महाधिवेशन सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्षलगायत दर्जनौं कार्यकर्ताहरुमा संक्रमण पुष्टि भयो । नेता कार्यकर्तामा संक्रमण फैलिने माध्यम नै महाधिवेशन बनेको स्वास्थ्य मन्त्रालयको आँकलन छ । यस्तै अंग्रेजी नयाँ वर्षले पनि संक्रमण फैलाएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

नेपालमा ओमिक्रोनको जोखिम एक महिना अघिदेखि नै बढेको हो । गत मंसिर अन्तिम साता नै नेपालमा पहिलोपटक ओमिक्रोन फेला परेको थियो । यस्तै, डिसेम्बर ३० अर्थात् पुस १६ गते २ सय ३५ जनामा संक्रमण देखिँदा ४ जनाको मृत्यु भएको थियो । नयाँ वर्ष अर्थात् पुस १७ गते ३ सय ८२ जनामा संक्रमण पुष्टि भयो भने मृत्युदर शून्य थियो ।

पुस १८ गते २ सय १६ जनामा कोभिड १९ देखिँदा २ जनाको मृत्यु भएको थियो । त्यसको अर्को दिन ३ सय २६ जनामा संक्रमण पुष्टि भयो भने २ जनाले ज्यान गुमाए । यस्तै २० गते एक साताको तुलनामा संक्रमित बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । २० गते ३ सय ९३ जनामा एकैदिन कोरोना पुष्टि भएको थियो भने ३ जनाको मृत्यु भएको थियो ।

कोरोनाको ओमिक्रोन संक्रमण फैलिन थालेपछि गएको २३ गते तीन महिनायताकै सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।

आइतबार एकै दिन ११६८ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको कोभिडको कारण मृत्यु भएको छ । पछिल्लो केही दिनको संक्रमण दरको तथ्थाङ्क हेर्ने हो भने संक्रमणदर बढ्दै गए पनि संक्रमणदरको तुलनामा मृत्युदर स्थिर छ ।

यसअघि कोरोना महामारीको दोस्रो लहरका क्रममा एकै दिन २ सय ८७ जना सम्मको मृत्यु भएको थियो । अहिलेको तथ्थाङले मृत्युदर स्थिर देखिए पनि पहिलेको अवस्था नआउला भन्न सकिने अवस्था छैन ।

मृत्युदर घट्नुमा कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता र जनचेतना बढेको शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘डेल्टाजस्तो घातक छैन त्यसैले पहिलाको जस्तो आत्तिनु पदैन ।’
स्वास्थ्य मन्त्रालयको तयारी के छ ?

सरकारले केही दिनयता संक्रमण तीव्र रुपमा बढेसँगै रोकथाम गर्न पनि तयारी थालिसकेको बताएको छ । हालसम्म नेपालमा २६ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टका कारण जोखिमपूर्ण अवस्था आउन नदिन सरकारले तयारी थालिसकेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले बताइन् ।

ओमिक्रोन भेरियन्टको एस जिन नेगेटिभको संख्या बढ्नु भनेको ओमिक्रोनको संक्रमण बढ्नु हो । पत्ता लगाइएका सबै एस जिन नेगेटिभ व्यक्तिहरुलाई कन्ट्रयाक ट्रेसिङको काम नियमित रुपमा भइरहेको उनको भनाइ छ ।

सरकारले खोपको उपलब्धता सुनिश्चित गर्ने, प्रवेश नाका र उच्च जोखिममा रहेको कोभिड १९ को जाँचमा वृद्धि गर्न क्वारेटिनको व्यवस्थापन गर्न, अक्सिजन, बेड तथा दक्ष जनशक्तिको व्यवस्थापन गर्न र अन्य पूर्वतयारीको स्वास्थ्य मन्त्रालय निरन्तर प्रयास गरिरहेको उनको दाबी छ ।

अब हुन सक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई अक्सिजन, आईसीयू, भेन्टिलेटर शय्या लगायतका स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको उनले बताइन् । साथै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी पनि उनले दिइन् ।

यस्तै, कोरोना संक्रमण भएमा व्यक्तिहरुको पहिचान गरी क्वारेन्टिनमा राख्न सबै स्थानीय तह र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । सीमा नाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने र संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप प्रदेश १ मा ११, प्रदेश दुईमा ६, वाग्मतीमा २१, गण्डकीमा १७, लुम्बिनीमा १८, कर्णालीमा ७ र सुदुरपश्चिममा ५ गरी जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ ।

कोभिड १९ को पहिचान गर्न नमुना परीक्षणमा जोड दिइएको छ । नयाँ भरियन्टको पहिचानको लागि जिन सिक्वेसिङ पनि नियमित रुपमा भइरहेको छ ।

पुस मसान्तभित्र १८ वर्ष माथिका ६६ प्रतिशतलाई पूर्ण मात्राको खोप दिइसक्नुपर्ने लक्ष्यमा वागमती र गण्डकी प्रदेशले मात्र सफलता पाएका छन् । बाँकी प्रदेशमा पनि खोप कार्यक्रमले तीव्रता पाएको मन्त्रालयले जनाएको छ ।

अब संक्रमण फैलिन नदिन के गर्ने सकिन्छ त ?

मुख्य रूपमा नेपाल–भारत सिमा नाकामा निगरानी, परीक्षण गर्ने र संक्रमितको व्यवस्थापन चुस्त गतिमा गर्नुपर्ने र एरपोर्टमा कोरोना परीक्षणमा जोड दिन डाक्टर सागर राजभण्डारीको आग्रह छ ।

‘पहिलाको कमी कमजोरीबाट पाठ सिकेर अब परीक्षणको विधिको दायरालाई बढाउनुपर्र्ने बेला भएको छ । कन्ट्रयाक ट्रेसिङ र जोखिममा रहेका नागरिकको परीक्षणको दायरा बढाउने हो,’ डा. सागर राजभण्डारी भन्छन् ।

डा. राजभण्डारी स्वास्थ्यका मापदण्ड पालना गर्र्न सुझाव दिन्छन् ।

‘पहिलो लहरमा नागरिकले थाहा नपाएर लापरबाही गरे । आज त्यो स्थिति छैन । अब जिम्मेवार भएर कार्यान्वयन गर्ने समय आएको छ,’ उनी खबरहबसँगको कुराकानीमा भन्छन्,’ ‘भ्याक्सिनको दुवै डोज लगाए भनेर मास्क नलगाई हिँड्ने होइन ।’

फेरि स्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भनेर जनचेतना फैलाउनुपर्नेमा उनको जोड छ ।

यस्तै, काठमाडौँका विभिन्न अस्पतालका निर्देशकले पनि स्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले भने तेस्रो लहर नआएको भन्दै नागरिकलाई नआत्तिन आग्रह गरेको छ ।

फ्रन्टलाइनरलाई बुस्टर डोज

सरकारले आगामी माघको पहिलो साता सबै स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ । माघको दोस्रो साता तेस्रो लहरको उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकलाई जोखिमबाट जोगाउन बुस्टर डोज दिन लागेको हो ।

चिकित्सक संक्रमित भएमा अस्पतालमा जनशक्तिको अभाव हुने निचोड निकाल्दै मन्त्रालय चिकित्सकलाई बुस्टर डोज दिने निर्णयमा पुगेको हो ।

‘माघको पहिलो सातादेखि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई बुस्टर डोज प्रदान गर्ने गरी काम भइरहेको छ,’ प्रवक्ता डा. मिश्राले भनिन् ।

रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई आगामी माघ दोस्रो साता अतिरिक्त खोप दिइने तयारी भएको उनले खबरहबसँग भनिन् ।

‘कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र भेरोसेल खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिहरूलाई थप एक अतिरिक्त मात्रा माघको दोस्रो साता दिने तयारी गरेका छौँ,’ उनले भनिन् ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : १६ बजे

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी

पाँच महिनामा झन्डै ६ खर्बको आयात

काठमाडौं– गत आर्थिक वर्षको तुलनामा नेपालको वैदेशिक व्यापार बढेको छ

टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

अङ्कारा– टर्कीको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मनहरी– राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन)