विधानसभा चुनाव : भाजपा उस्तै, काँग्रेसको अधोगति हुँदा पञ्जाबमा आपको शानदार जित | Khabarhub Khabarhub

विधानसभा चुनाव : भाजपा उस्तै, काँग्रेसको अधोगति हुँदा पञ्जाबमा आपको शानदार जित


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा अधिकांश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ ।

भारतका मणिपुर, गोवा, उत्तर प्रदेश, उत्तराखण्ड र पञ्जाबमा भएको विधानसभाको निर्वाचनमा पञ्जाब बाहेकका सबै राज्यमा भाजपा हावी भएको छ।

भारतीय निर्वाचन आयोगलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जारी गरेको नतिजा अनुसार उत्तर प्रदेशमा भाजपाले ४०३ मध्ये २५५ सिटमा जित निकालेको छ भने दोस्रो स्थानको समाजवादी पार्टी (सपा) ले १११ सिट जितेको छ । उत्तर प्रदेशमा सरकार बनाउन २०२ सिट भए पुग्छ । काँग्रेस २ सिटमा खुम्चिएको छ ।

उत्तर प्रदेशमा १० फेब्रुअरीदेखि ७ मार्चसम्म विभिन्न ७ चरणमा भएको मतदानमा मतदाताहरूले फेरि योगी आदित्यनाथलाई नै मुख्यमन्त्री चुनेका छन् । २० करोड जन संख्या रहेको र संसद्मा सबैभन्दा धेरै सांसद् पठाउने राज्य उत्तर प्रदेशको राजनीतिले पुरै भारतको ‘मुड’ निर्धारण गर्ने बताइन्छ ।

कोरोना महामारीका बेला स्वास्थ्य सङ्कटलाई व्यवस्थापन गर्न नसकेको भन्दै केन्द्रसँगै उत्तर प्रदेशको राज्य सरकारको पनि आलोचना झेलेको थियो। त्यो बाहेक केन्द्र सरकारले ल्याएको विवादास्पद कृषि ऐनलाई लिएर किसानले आन्दोलन गरेका थिए। आन्दोलनपछि सरकारले ऐन फिर्ता लियो ।

सोही कारण पनि उत्तर प्रदेशमा भाजपालाई बहुमत ल्याउन कठिन पर्ने आलोचकहरुको अनुमान थियो । तर, आलोचकहरुलाई गलत साबित गर्दै भाजपाले सहज बहुमत हासिल गरेको छ ।

मतदानको पहिलो चरण सुरु हुनुअघि पश्चिमा मुलुकका केही पत्रकारहरूलाई डाकेर मुख्यमन्त्री योगी आदित्यनाथले आगामी निर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गरेका थिए । आफूले आपराधिक समूह र गिरोहविरुद्ध चलाएको कारबाही र कानुनलाई जात र धर्मभन्दा माथि राखेका कारण उत्तर प्रदेशका जनताले आफ्नो पार्टीलाई जिताउने उनको विश्वास थियो ।

‘मैले सन् २०१७ मा गरेका सबै बाचा पूरा गरेको छु र मेरो सरकार लोक कल्याण र प्रगतिप्रति दृढ छ भनेर देखाउन सक्षम छु ।’, ‘त्यसबेला उनले भनेका थिए,  ‘नेताको हैसियतमा महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक असर बारे म जानकार छु र सहरमा रोजगारीमा गएका दसौँ लाख आप्रवासी कामदार बेरोजगार भई खेतीपातीमा फर्केको पनि देखेको छु ।’

उनले थप ‘तर, सन् २०१७-१८ मा राज्यमा बेरोजगारी १८ प्रतिशत थियो अहिले ३ प्रतिशतमा झरेको छ । हामीले रोजगारी दिएका छौँ र वर्तमान अवस्थालाई अझ राम्रो बनाउन लागिरहेछौँ ।’

यद्यपि पश्चिमा मुलुकका मिडिया र आलोचकहरू भने भाजपाले उत्तर प्रदेशमा धार्मिक राष्ट्रवादको बलमा चुनाव लडेको शैलीमा विश्लेषण गर्छन् ।

योगी हिन्दु र मुसलमान

राजनीतिशास्त्री जोया हसन भारतको इण्डियन काउन्सिल अफ सोसल साइन्स रिसर्चकी फेलो हुन् । उनले केही दिनअघि सीएनएनलाई भनेकी थिइन्, ‘उत्तर प्रदेश भाजपाका लागि निकै महत्त्वपूर्ण छ । किनकि यसको आकार मात्रै होइन, यो हिन्दुत्वको प्रयोगशाला पनि हो ।’ ‘हिन्दु धर्मका तीन महत्त्वपूर्ण मन्दिर यहीँ छन् । योगी हिन्दु र मुसलमानबीचको ध्रुवीकरणलाई उक्साउने काम गरिरहेका छन् ।’उनको आरोप थियो ।

भारतको सेन्टर फर पोलिसी रिसर्चका राहुल वर्मा भने उत्तर प्रदेशमा भाजपाको बर्चश्व हुनुमा हिन्दू राष्ट्रवादमात्रै कारक नभएको बताउँछन् । उनका अनुसार भाजपाले उत्तर प्रदेशमा धार्मिक ध्रुवीकरण मात्रै नभई लगानी आकर्षित गर्ने, साना व्यवसायलाई सहयोग गर्ने र नयाँ रोजगारी सिर्जना गर्ने काम गरेको छ ।

विश्लेषकहरूले जे-जस्तो विश्लेषण गरे पनि चुनावपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्तै ३७ वर्षपछि योगी आदित्यनाथ उत्तर प्रदेशमा मुख्यमन्त्रीको दुई कार्यकाल सम्हाल्ने पहिलो नेता बनेका छन् ।

उत्तर प्रदेशमा मात्रै होइन भाजपाले अरु राज्यहरु गोवा, मणिपुर र उत्तराखण्डमा पनि जीत दर्ता गरेको छ । गोवामा गत १४ फेब्रुअरीमा भएको निर्वाचनमा भाजपाले कूल ४० मध्ये २० सिट जितेको छ । सरकार बनाउन भाजपालाई अब केबल एक सिट भए पुग्छ । सन् २०१७ को निर्वाचनमा १७ सिट जितेको कांग्रेस ११ सिटमा खुम्चिएको छ ।

पूर्वोत्तर राज्य मणिपुरमा भएको निर्वाचनमा पनि भाजपा नै विजय भएको छ । भाजपाले त्यहाँ कूल ६० मध्ये ३२ सिटमा जित निकाल्यो । त्यहाँ सरकार बनाउन ३१ सिट पर्याप्त हुन्छ ।

नेपालको पश्चिमी सीमा जोडिएको उत्तराखण्डमा पनि भाजपा नै अगाडि छ। उत्तराखण्डका ७० मध्ये ४७ सिटमा भाजपाले जीत निकाल्न सफल भयो । यद्यपि मुख्यमन्त्री पुष्कर सिंह धामी भने खतिमा निर्वाचन क्षेत्रमा पराजित भए । त्यहाँ सरकार बनाउन ३६ सिट चाहिन्छ ।

यसपालीको विधानसभाको सबैभन्दा रोचक नतिजा भने पञ्जाबबाट आयो । त्यहाँ आम आदमी पार्टी (आप)ले प्रचण्ड बहुमत प्राप्त गर्यो । आपले पञ्जाबका ११७ मध्ये ९२ सिट जित्यो ।

कुनै समय गान्धीवादी नेता अन्ना हजारेको अनशनको समर्थन गर्दै आफूलाई राजनीतिमा होमेका दिल्लीका वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालको सुशासन र भ्रष्टाचार विरोधी मुद्दालाई पञ्जाबका जनताले अनुमोदन गरेको शैलीमा धेरै भारतीय विश्लेषकहरूले यो नतिजालाई अथ्र्याएका छन् ।

आपले पञ्जाबमा जीत निकाल्दा कांग्रेस पार्टीले कुनै पनि राज्यमा राम्रो मत ल्याउन सकेन । पञ्जाबको निर्वाचनमा कांग्रेस पार्टीबाट मुख्यमन्त्रीका प्रत्याशी चरनजीत सिंह चन्नीले आफू उठेको चमकौर साबिह र बहादुर दुवै निर्वाचन क्षेत्रमा पराजय व्यहोर्नु पर्‍यो ।

त्यस्तै, उत्तर प्रदेशमा पनि काँग्रेस पार्टीले केबल २ सिट जित्न सक्यो भने उत्तराखण्डमा पनि काँग्रेस पार्टी १९ सिटमा सीमित हुन पुग्यो । मणिपुरमा पनि पार्टीले ५ सिट मात्रै जित्न सक्यो ।

राहुलको स्वीकारोक्ति

काँग्रेसको वर्तमान अवस्थालाई नेता राहुल गान्धीले चुनावपछि दिएको एउटा बयानले स्पष्ट पार्छ । उनले भनेका थिए, ‘जनताको निर्णयलाई हामी विनम्रता पूर्वक स्वीकार गर्छौं, जितेकालाई शुभकामना, पार्टीका कार्यकता र स्वयंसेवकहरुलाई धन्यवाद, यसबाट शिक्षा लिँदै आगामी दिनमा भारतीय जनताको स्वार्थ अनुसार काम गर्नेछौं ।’

काँग्रेस पार्टीको अधोगति र आम आदमी पार्टीको शक्ति विस्तारलाई धेरै भारतीय विश्लेषकहरूले आम आदमी पार्टी सत्तारुढ भाजपाको विकल्प बन्ने बताएका छन् । द प्रिन्ट म्याग्जिनका प्रधान सम्पादक शेखर गुप्ताको विश्लेषण अनुसार गैर परम्परागत राजनीतिक शैलीको प्रचारका कारण मानिसहरु आम आदमी पार्टीतर्फ आकर्षित भइरहेका छन् ।

उनका अनुसार दिल्लीमा आम आदमी पार्टी र मुख्यमन्त्री केजरीवालले अघि सारेको लोक कल्याण, गरिबलाई सहयोग गर्ने कुशल शैली र राष्ट्रिय स्वयंसेवक संघकै स्तरमा हिन्दु धार्मिकताका कारण आम आदमी पार्टीले जनतामा सद्भाव बटुल्न सफल भएको हो ।

उनी भन्छन्, ‘शहिनबाग र दिल्ली हिंसाका बेला जतिसुकै आलोचना भए पनि केजरीवालले मुख खोल्न उचित सम्झेनन् । तर उनले मतलब गरेनन् । किनकि उनलाई राजनीति थाहा छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : ३० बजे

पाकिस्तानमा बजेटपछि मुद्रास्फीति बढ्यो

एजेन्सी– आर्थिक वर्ष २०२४-२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा

मधेसका मुख्यमन्त्री सिंहले मागे विश्वासको मत

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत लिनको लागि

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

दमौली– अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ

दाङमा बाढी : एक जनाको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा

घोराही– बाढीमा परी दाङमा एक जना बेपत्ता भएका छन् भने