प्रवास

दुई महिनादेखि सम्पर्कविहीन रहेका एक नेपालीको शव पोर्चुगलकाे समुन्द्री तटमा भेटियो 

By खबरहब

June 11, 2022

काठमाडौं- करिब दुई महिनादेखि पोर्चुगलमा हराइरहेका एक नेपालीको शव समुन्द्री तटमा भेटिएको छ ।

नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवाल अप्रिल १५ देखि सम्पर्कविहीन रहेका थिए । उनको शव पोर्चुगलको समुन्द्रीमा तटमा फेला परेको हो । प्रहरीले बिहीबार मात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाई खबर गरेको थियो ।

सिलवालको शव अहिले अस्पतालमा राखिएको छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ वर्ष अघि पोर्चुगल पुगेका थिए। सिलवाल परिवारको सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलले पोर्चुगलभरि खोजीकार्य सुरु गरेको थियो ।

सिलवाल हराएको झन्डै दुई महिनापछि ९ जुनका दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो । सिलवाल हराएपछि परिवारको आग्रहमा एनआरएनए पोर्चुगलले प्रहरीमा खबर गर्नुको साथै एनआरएनए पोर्चुगलले पोर्चुगलभर सिलवालको फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान खोजी अभियान चलाएको थियो ।