काठमाडौँ– हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर यो फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडि ल्याइसकेका छन् । पछिल्लो समय बोन्डको रूपमा ड्यानियल क्रेग छन् । उनी सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिँदै आएका छन् । जेम्स बोन्डका रूपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ रहेको थियो । उनको अन्तिम फिल्म भनिएसँगै नयाँ जेम्स बोन्ड को बन्नेछन् भन्ने चर्चा फिल्मीप्रेमी दर्शकमाझ छ ।
ब्रिटिस जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको ‘नो टाइम टु डाइ’ २५ औं फिल्म हो भने क्रेगको बोन्डका रूपमा पाँचौं । जेम्स बोन्ड हलिउडको सबैभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौँ कलाकार हुन् । डेनियलले आफ्नो ‘जेम्स बोन्ड’ करियरमा केही उत्कृष्ट फिल्महरू दर्शकलाई दिए । त्यही कारण अब आउने नयाँ ‘जेम्स बोन्ड’ लाई डेनियलको पाइला पछ्याउन उत्तिकै चुनौतिपूर्ण छ । यो एक अत्यन्त महत्वपूर्ण कास्टिङ निर्णय हो । बक्सअफिसमा राजस्वको ठूलो रकम संकलन गर्न सही अभिनेता छनोट गर्न अतिआवश्यक भइसकेको छ ।
डेलीमेलले हालै एक रिपोर्टमा टम एलिसलाई नयाँ बोन्डको रुपमा देख्न सकिने संकेत गरेको छ । नेटफ्लिक्सबाट प्रसारण भइरहेको ुलुसिफरु सिरिजमा डेभिलको अभिनय गरिरहेका टमलाई सम्भावित बोन्डको रुपमा हेरिएको छ । उनको हाइट , व्यक्तित्व , स्वभावले पनि उनलाई बोन्ड बनाउन सकिने संकेत डेलीमेलको रिपोर्टमा छ । टम पनि जेम्स बोन्ड झैँ आफ्नो सिरिजमा फर्मल ड्रेसमा देखिने गरेका छन् । यस्तै जेम्स बोन्ड बन्ने लिस्टमा अभिनेता टम हार्डे अगाडि छन् । उनले ‘लिजेण्ड’, ‘म्याड मेक्सः फरी रोड’ जस्ता फिल्ममा अभिनय गरेका छन् । अर्को सम्भावित अनुहारमा ४९ वर्षे इडरिस एल्बा पनि छन् । ‘द वायर’मा स्ट्रिन्जर बेलको भूमिकाले उनलाई अत्याधिक लोकप्रिय बनायो । उमेरले ३३ मा हिँड्दै गरेका ब्रिजरटन स्टार रेगे–जीन पेज जेम्स बोन्ड बन्नका लागि खराब अनुहार होइनन् ।
‘गेम अफ थ्रोन्स’ स्टार रिचर्ड म्याडेन पनि जेम्स बोन्ड बन्ने दौडमा छन् । उनी बीबीसी ड्रामा ‘बडीगार्ड’ बाट अभिनयमा उदाएका कलाकार हुन् । ‘म्याकमाफिया’ स्टार जेम्स नोर्टोन पनि बोन्ड बन्ने प्रतिष्पर्धामा छन् । ‘फिफ्टी सेड्स अफ ग्रे’ का आइरिस अभिनेता जेमी डोर्नेन ,टेलिभिजन सिरिज ‘टेकन’ का क्लिभ स्टेण्डेन, ‘क्रेजी रिच एसियन्स’ स्टार हेनरी गोल्डिङ, ‘सुपरमेन’ अभिनेता हेनरी केभिललाई पनि बोन्ड बन्ने दौडमा छन् ।