बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने  | Khabarhub Khabarhub

बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ ।

हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप चालक तिलक धामीले बताए । उनले भने, ‘कालोपत्रे भए एक घण्टाभित्रै पुगिनेमा अहिले करिब चार घण्टा लाग्छ । एक दुई पटक आवतजावत गर्दा गाडीका पाट पुर्जाहरू खराब हुन्छन् । करिब दर्जन ठाउँमा पहिरो गइरहन्छ । सडक गुणस्तरीय नभएकाले भाडासमेत बढी लिनुपर्ने बाध्यता छ ।’

जय पृथ्वी राजमार्गको ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न कामको अधुरै रहेको हो । ‘तीन वर्षअघि काम सुरु गरेको ठेकेदारका मान्छे वर्षमा एक महिना मात्रै सडकमा देखिन्छन् । काम भएको छैन । स्थानीय मजदुरलाई काम गराएको पैसा दिएको छैन । हाम्रो ठाउँमा विकास हुने भन्दै सामुदायिक वनबाट गिट्टी बालुवा निःशुल्क प्रयोग गर्न दिने निर्णयसमेत गरेर ठेकेदारलाई सहयोग ग¥यौँ । तर, ठेकेदारको अत्तोपत्तो छैन,’ ढोल्यामोडका शैलेन्द्र धानुकले भने ।

यात्रुहरूले अहिले ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटरको भाडा ५०० रुपैयाँ तिर्नु परिरहेको छ । वर्षा नभएको समयमा बस सञ्चालन हुने यस सडकमा वर्षामा ४ ह्वील ड्राइभ जिप मात्रै चलिरहेकाछन् । पानी परेको दिन भने ठाउँठाउँमा पहिरो जाने भएकाले पहिरो पन्छाउन जिपसँगै डोजर दौडाउनुपर्ने अवस्था छ ।

वर्षातको समयमा पहिरो जाने ठाउँका लागि एउटा डोजर भाडामा लिएर सडकमै खडा राखेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए ।

उनले भने, ‘ठेकेदारको लापरबाहीले सडकको हालत बिग्रिएको हो । ठेकेदार सम्पर्कमा समेत छैनन् । किन अलपत्र छाडेको हो केही बुझ्न सकिएको छैन । अहिले गाडीको पछिपछि डोजर दौडाउनुपर्ने बाध्यता छ ।’

कालोपत्रेको काम सुरु गरेर अधुरो छाडेको ठेकेदारले केही ठाउँमा नाली निर्माण र केही ठाउँमा पर्खाल लगाएर छाडेको छ । तर, ठाउँठाउँमा पहिरो खस्ने भएकाले पहिरोमा दैनिक गाडीहरू फस्ने गरेका छन् ।

ढोल्यामोड–पुर्चौडी सडक कालोपत्रे गर्न ग्वाल्लेक निर्माण सेवाले ठेक्का पाएकोमा निर्माण व्यवसायी दानसिंह रावललाई पेटी ठेकेदार (सब कन्डक्टर)को रुपमा काम दिइएको हो । रावलले वर्षातका कारण काम अवरुद्ध भएको बताए ।

उनले भने, ‘अहिले वर्षातमा काम अवरुद्ध छ । बर्षापछि काम गर्नेछौँ । मेसिनहरू सम्बन्धित् ठाउँमै छन् । आगामी असार मसान्तसम्मको म्याद छ, समयमै काम सक्छौँ ।’ सब कन्डक्टरमार्फत काम गराइरहेका ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेश चन्दले काम केही दिनमै अघि बढ्ने बताए ।

यता पूर्वाधार विकास कार्यालयले भने उक्त सडकका ठेकेदारले अन्यत्र पनि काम गरिरहेकाले काम अवरुद्ध भएको जनाएको छ । कार्यालयका प्राविधिक नरेश भुलले भने, ‘त्यही ठेकेदारले हाम्रै कार्यालयको काम मेलौलीमा पनि गरिरहेकाले उताको काम सकेपछि पुर्चौडीमा काम गर्नुहुन्छ ।’ १७ करोडको लागतमा केही कामहरू सम्पन्न भइसकेको भुलले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ११ : ४७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट