अन्तर्राष्ट्रिय

प्रकृति संरक्षणका पक्षधर राजा चार्ल्स

By मनोज घिमिरे

September 11, 2022

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन पनि उनका जेठा छोरा चार्ल्स राजा भएका छन्। उनलाई राजा चार्ल्स तृतीयको नामबाट चिनिने छ। चार्ल्स प्रथम सन् १६२५ मा सत्ता सिन भएका थिए। बेलायती इतिहासकै सबै भन्दा लामो समय शासन गरेर कीर्तिमान कायम गरेकी एलिजाबेथको मृत्यु भएपछि चार्ल्स राजा भएका हुन्।

अहिले राजा भएका चार्ल्सले २९ जुलाई १९८१ मा डायना स्पन्सरसँग विवाह गरेका थिए। यो जोडीको विलियम र ह्यारीको रूपमा दुई सन्तान छन्। चार्ल्स र डायना सन् १९९६ मा छुट्टिएका थिए। ३१ अगस्ट १९९७ मा डायनाको कार दुर्घटनामा मृत्यु भएको हो। ९ अप्रिल २००५ मा चार्ल्स क्यामिला पार्कर ब्राउनसँग विवाह बन्धनमा बाँधिएका थिए। महारानीको इच्छा अनुसार क्यमिला नै बेलायतको रानी भएकी छन्।

आमा एलिजाबेथले ७० वर्ष शासन गरेर मृत्यु वरण गरेपछि छोरा चार्ल्सको नाममा पनि सबैभन्दा बढी उमेरमा राजगद्दी सम्हाल्ने कीर्तिमान बनेको हो। यस अघि विलियम चौंथो ६४ वर्षको उमेरमा राजा भएका थिए।

महारानी एलिजाबेथ र उनका श्रीमान् युवराज फिलिप्सले १४ नोभेम्बर १९४८ मा चार्ल्सलाई जन्म दिएका थिए। सन् १९६७ मा उनी अध्ययनका लागि क्याम्ब्रिज विश्व विद्यालय पुगेका थिए।

चार्ल्सकी आमा एलिजाबेथ २५ वर्षको उमेरमा सत्तासीन हुँदा चार्ल्स तीन वर्षका थिए। सुरुवाती दिनमा क्यामिलाले आफूलाई राजसंस्थाको सम्मान र परिचय आवश्यक नरहेको बताउँदै आए पनि यसै वर्ष सत्ता आरोहणको ७० वर्ष गाँठ मनाउने क्रममा एलिजाबेथले क्यामिललाई राजसंस्थाको परिचय बोकेको हेर्न चाहेको बताइन्। एलिजाबेथको त्यसै इच्छा मुताबिक क्यामिला रानी भएकी छन्।

१६२५ मा चार्ल्स प्रथमले आफ्ना बाबु जेम्स प्रथमलाई सत्तामा प्रतिस्थापन गरेका थिए। चार्ल्स प्रथमको कार्यकालमा बेलायतमा धेरै संकट परेको थियो। त्यसै समयमा बेलायतमा गृह युद्ध समेत भएको थियो।

चार्ल्स प्रथमले क्याथोलीकसँग विवाह गरेका थिए। रानी प्रोस्टेन्ट्यान्टमा माथि धेरै नै आक्रामक थिइन्। विरोध सामना गर्न नसकेर उनले थुप्रै पटक संसद् विघटन गरेका थिए। बेलायत गृह युद्धमा फसेपछि संसद्बादीले राजालाई गिरफ्तार गरेका थिए। उनले पनि सम्झौता गर्न नमानेपछि सन् १६४९ मा उनलाई मृत्यु दण्ड दिइएको थियो। केही समय बेलायतमा गणतन्त्र थियो। यसलाई ओलीभर क्रमवेलले सञ्चालन गरेका थिए।

चार्ल्स प्रथमको निधनपछि उनका छोरा चार्ल्स द्वितीयलाई स्कटल्यान्डमा झिकाएर सन् १९५१ मा राजा घोषणा गरिएको थियो। उनी फ्रान्समै निर्वासित जीवन बिताएर इङ्गल्यान्ड र स्कटल्यान्ड एउटै कमनवेल्थ अन्तरगत रहने भन्ने घोषणा गरे। त्यस एकता प्रक्रियाले सन् १९५२ मा सार्थकता पाएको थियो। राजा घोषित भए पछि पनि उनले नौ वर्ष निर्वासनमै बिताएका थिए। सन् १९६० मा उनी क्रमवेलको निधनपछि स्वदेश फर्केका थिए। लन्डन फर्केर सत्ता सम्हालेका उनको पहिलो निर्णय आफ्नो बाबुको मृत्यु पत्रमा हस्ताक्षर गर्नेलाई मृत्यु दण्ड दिने भन्ने थियो। उनले गाडिएका क्रमवेललाई बाहिर निकालेर उनको टाउको गिँड्ने काम समेत गरेका थिए।

थुप्रै धार्मिक विवादका बीच उनको कार्यकाल बितेको थियो। कुनै उत्तराधिकारी बिना सन् १६८५ मा राजा चार्ल्स द्वितीयको निधन भएको थियो। अहिलेका राजा चार्ल्सका केही फरक विशेषता छन्। उनी चार सय भन्दा बढी संस्थामा अध्यक्ष या संरक्षक छन्। यसमा गल्फ, ओपेरा र सैन्य समूह लगायत छन्।

प्रकृति र सम्पदा संरक्षण उनका प्रमुख चासोका विषय हुन्। अहिले जलवायु परिवर्तन र यसबाट उत्पन्न भएका अस्वभाविक मौसम चक्रपछि त राजको यस सवालमा ध्यान जाने नै भयो।

दिवंगत महारानीले रुख रोप्ने कुरालाई सधैँ प्रश्रयमा राख्ने गरेकी थिइन् भने छोरा चार्ल्स धेरै पहिलादेखि नै विद्युतीय गाडी चढ्दै आएका थिए। कार्बन उत्सर्जन घटाउने किसिमका वैज्ञानिक आविष्कारलाई पुरस्कृत गर्ने र यसलाई उत्साहित गर्ने बारेमा चार्ल्सको सधै ध्यान जाने गरेको थियो। उनको अर्गानीक फर्मले उत्पादन गरेका सामग्री बेलायतका धेरै डिपार्टमेन्ट स्टोरमा पाइन्छ।

राजा चार्ल्स युवा च्यारिटीलाई सहयोग गर्न रुचाउँछन्। उनको युवराज ट्रस्ट च्यारिटीले बेलायतका धेरै युवालाई सिपमूलक तालिम दिँदै बेलायतमा बेरोजगार समस्या निर्मूल गर्ने योजना राखेका थिए। साथै उनको रुचि, पुरातात्त्विक महत्त्व तथा मध्यपूर्व युगिन कला र वैकल्पिक उपचार पद्धतिमा पनि चासो रहेको थियो।

विगतमा उनले राखेका केही कुरा विवादमा पनि परेका थिए। उनले आफ्नो व्यक्तिगत धारणा अन्य कसैलाई होच्याउने खालको नभएको प्रतिक्रिया दिने गरेका थिए ।

चार्ल्स आफ्नी आमासँग स्कटल्यान्डको बालमोरल क्यासलमा बसोबास गर्थे। शुक्रबार ९६ वर्षको उमेरमा आमाको निधन भएपछि उनी लन्डन आएर आफ्नी आमको अन्तिम संस्कारको तयारी गरेका थिए। बमिंघम प्यालेसमा पुगेर उनले नयाँ प्रधानमन्त्री लिज ट्रससँग भेट गरेका थिए। युवराज विलियम बेलायतमा नै छन् भने अर्का युवराज ह्यारी श्रीमती र आफ्ना बच्चाको साथमा क्यालिफोर्नियामा बसोबास गरेका छन्।

उनले आफ्नो आमाको मृत्यु परिवार मात्र नभई , बेलायती जनता, कमनवेल्थ देशवासी र संसारका अन्य धेरैका लागि दुःखको विषय भएको प्रतिक्रिया दिएका छन्। राजा चार्ल्सले आमाको निधनमा शोक व्यक्त गर्ने सबै प्रति धन्यवाद ज्ञापन गरेका छन्।

शुक्रबार नै राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै आमाको सामाजिक सेवाको भावनालाई राजसंस्थाले सधैँ पछ्याउने जनाएका छन्। उनले पनि बाँकी जीवन देश र त्यहाँको जनताका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिग्रिएको अर्थतन्त्र, जलवायु परिवर्तन र आपूर्तिमा देखिएको समस्या लगायत अनेकन चुनौतीका बीच चार्ल्सले सत्ता ग्रहण गरेका छन्। भर्खरै प्रधानमन्त्री भएकी लिज ट्रस र चार्ल्स दुबैका लागि यी गम्भीर चुनौती हुन्। उनकी आमाको कुशल शासनका कारण राजसंस्था प्रति बेलायतमा रहेको आकर्षण र सम्मानलाई जोगाउनु त अहिलेको लागि राजा चार्ल्सको एउटा प्रमुख चुनौतीको विषय भएको छ।

महारानीको निधनमा अहिले सिङ्गो बेलायत शोकमग्न छ। धेरैले आफ्नो अभिभावक गुमाएको महसुस गरेका छन्। सामाजिक सञ्जाल र भेटघाटका सबैले यसै खाले प्रतिक्रिया व्यक्त गरेका छन्।

चार्ल्स प्रथम र चार्ल्स द्वितीयको जस्तो आन्तरिक गृह युद्धको चपेटामा त बेलायत छैन। तर, चार्ल्स तेस्रोको कार्यकालको समस्या रुस र युक्रेनका कारण उत्पन्न आपूर्तिको समस्या र जलवायु परिवर्तनको समस्या प्रमुख हुन्। राज चार्ल्स धेरै पहिलादेखि नै प्रकृति संरक्षणमा सचेत रहेका कारण यसमा बेलायती चासो अझ बढी बढ्ने कुरामा शङ्का रहन सक्दैन।

सन् १९०० यता चार्ल्स बेलायतका छैटौँ राजा हुन्। सन् १९०१ देखि १९१० सम्म राजा एडवार्ड सातोको शासन थियो। सन् १९१० देखि १९३६ सम्म राजा राजा जर्ज पाँचौँको शासन थियो। १९३६ को जुनमा राजा एडवार्ड आठौँको शासन थियो। उनी सायद बेलायती इतिहासकै छोटो समय शासन गर्ने शासकको रूपमा परिचित छन्।

सन् १९३६ देखि १९५२ सम्म राजा जर्ज छैटौँको शासन थियो। अहिले बेलायतमा बसोबास गरेका धेरै जनाले एलिजाबेथ भन्दा अगाडिको शासनको बारे थाहा पाएका थिएनन्।

उनका बारे धेरै अपेक्षा हुन सक्छन्। यी धेरै अपेक्षा मध्य जलवायु परिवर्तनका बारे उनको भूमिका कस्तो हुने भन्ने हो। अहिले संसार नै यस मुद्दामा केन्द्रित हुनु भन्दा धेरै वर्ष अगाडि सन् १९६८ देखि चार्ल्सले यसका बारे आवाज उठाउँदै आएका थिए। अपेक्षा छ, सायद बेलायतमा कार्बन उत्सर्जन घटाउने थुप्रै नीति बन्ने छन्। स्रोत : वासिंगटन पोस्ट, सीएनएन, बीबीसी