राजविराज भन्सार कार्यालयमा कर्मचारी अभाव | Khabarhub Khabarhub

राजविराज भन्सार कार्यालयमा कर्मचारी अभाव


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव छ । कर्मचारी अभावका कारण कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन । राजस्व सङ्कलनमा वर्षैनी ह्रास आइरहेको अवस्था छ ।

तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो । विसं २०१३ मा यस नाकामा राजविराज भन्सार कार्यालय स्थापना भएको हो । यसका अतिरिक्त जिल्लाभर सात अन्य छोटी भन्सार कार्यालय छन् । यद्यपि कर्मचारी अभावका बीच सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौँदेखि ठप्प छन् ।

भारतसँग जोडिएको जिल्लाकै मुख्य भन्सार नाका रहेका कारण यहाँबाट २४ घण्टै मालसमान ढुवानी गर्ने सवारीसाधन, घुमफिर गर्न आउने सर्वसाधारणको गाडी, जन्ती–बिरामी बोकेका आकस्मिक सवारीसाधन आवतजावत हुनु स्वाभाविक हो । कर्मचारी अभावका कारण राति ८ बजेपछि यो भन्सार कार्यालय पूर्ण रुपमा बन्द नै रहने गर्दछ ।

‘यस कार्यालयबाट हुने प्रायः जसो काम हाल अनलाइन प्रक्रियामार्फत हुन्छ, दक्ष जनशक्ति आवश्यक छ’, कार्यालय प्रमुख दीपेन्द्र झाले भने, ‘हाल थोरै सङ्ख्यामा कर्मचारी छौँ । त्यसमा पनि प्रायःजसो करारमा राखिएका कार्यालय सहयोगी छन् । यस्तो अवस्थामा हामी चाहेर पनि २४ घण्टै सेवा सुविधा दिन सक्ने अवस्थामा छैनौँ । बिहान १० देखि ५ बजेसम्म पनि कार्यालय सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।’

एक भन्सार अधिकृत, आठ नायब सुब्बा, एक कम्प्युटर अपरेटर, एक लेखापाल, एक भन्सार संकेत निरीक्षक, एक सवारी चालक र १० कार्यालय सहयोगीको दरबन्दी रहेको यस कार्यालयमा हाल भन्सार अधिकृत सहित १५ कर्मचारी कार्यरत छन् । तीमध्ये १० कार्यालय सहयोगी छन् । उनीहरु अधिकांश करार छन् । कर्मचारी अभावले पाँच भन्सार नाका वर्षौँदेखि ठप्प छन् । द्वन्द्वकालमा सुरक्षा खतरा देखाउँदै बन्द गरिएका ती कार्यालयहरु कर्मचारी अभावका कारण ठप्प छन् ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार हाल सप्तरीको बलानबिहुल गाउँपालिकाको बेल्हीस्थित छोटी भन्सार तथा डाकनेश्वरी नगरपालिकाको पातोस्थित छोटी भन्सार मात्रै संचालनमा छ । जिल्लाको हनुमाननगर, गोविन्दपुर, स्वर्णपट्टी, कोदरकट्टी, र वननियाँ छोटी भन्सार वर्षौँदेखि ठप्प छन् । यी छोटी भन्सार ठप्प हुँदा एकातिर राजस्व असुलीमा ठूलो गिरावट देखिएको छ भने अर्को तिर तस्करीलगायत गैरकानुनी गतिविधि बढेको स्थानीयको गुनासो छ ।

घट्दै राजस्व

आर्थिक वर्ष २०७८/७९ मा यस कार्यालयले राजस्व सङ्कलनतर्फ आफ्नो निर्धारित लक्ष्य पूरा गर्न सकेन । रु छ करोड ८४ लाख २० हजार लक्ष्य निर्धारण गरिएकामा कार्यालयले रु चार करोड १७ लाख ६४ हजार राजस्व सङ्कलन गर्न सकेको कार्यालय प्रमुख झा बताउँछन् । यो लक्ष्यभन्दा ३९ प्रतिशत कम हो ।

आव २०७७÷७८ मा यस कार्यालयले रु चार करोड ६२ लाख १९ हजार ७३ राजस्व सङ्कलन गर्न सफल भएको थियो भने आव २०७५÷७६ मा रु सात करोड ९७ लाखभन्दा बढी राजस्व असुल गरेको थियो । झण्डै ५१ किलोमिटर लामो खुला सिमानाका कारण बढ्दै गएको तस्करी, कर्मचारीको अभाव, भारतीय नाकासँग जोडिएको सडकको दुरावस्था, छोटी भन्सार कार्यालय व्यवस्थित नहुनु, भौतिक पूर्वाधारको अभाव जस्ता कारणले राजविराज भन्सार कार्यालयले लक्ष्य अनुरुपको राजस्व सङ्कलन गर्न सकेको छैन ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ०५ बजे

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन

सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

कास्की – गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको

परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट

गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा

रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनार प्रदूषित

मस्को – रूसले बुधबार हजारौँ टन तेल समुद्रमा चुहिएपछि र