फाइल फोटो

समाचार

अविरल वर्षाका कारण धानबालीमा क्षति

By खबरहब

October 11, 2022

मेलम्ची– अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैँको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो ।

लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दसैँ लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्ची नगरपालिका–५ भरतमणि सिग्देलले बताए ।

‘दसैँ मनाएलगत्तै धान काट्न हुने भइसकेको थियो, तर अहिले पाकेको धान काट्न नपाउँदै लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता सबैमा छ’, मेलम्ची– ५ का राजेन्द्र ढकालले भने। 

वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पुर्‍याइएको छ । जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानलाई चिन्ता थपिएको छ । लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पुर्‍याएको छ । अझै पनि पानी पर्ने संकेत देखिएकाले धान काट्न डराउनुपर्ने अवस्था रहेको मेलम्ची–९ का किसान कृष्णबहादुर खड्काले बताए ।

मौसम खुल्नेबित्तिकै धान काट्ने चटारो रहेको उनले बताए । जिल्लामा विशेषगरी बास्मती, खुमल ४, मन्सुली र हाइब्रिट प्रजातिको धान लगाउने गरिन्छ ।