सप्तरी-२ : उपेन्द्र यादव र सिके रावतमध्ये को बलियो ? | Khabarhub Khabarhub

सप्तरी-२ : उपेन्द्र यादव र सिके रावतमध्ये को बलियो ?


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सप्तरी – आसन्न निर्वाचनको मिति नजिकिएसँगै सप्तरी–२ मा  चुनावी माहोल पनि बढ्दै गएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि सबैको चासो बढेको हो । यतिबेला उनीहरु आ–आफ्नो पक्षमा पार्न मत तान्न दिनरात मतदाताको घरदैलोमा घोषणापत्र बोकेर पुग्ने गरेका छन् ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  मुख्य प्रतिस्पर्धा तीन उम्मेदवारबीच हुने स्थानीयहरू बताउँछन् ।

सप्तरीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ ८ निर्वाचन क्षेत्र रहेकोमा ९५ हजार ३ सय ४४ मतदाता रहेको यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन राजपा हालको लोसपाका साथै नेपाली कांग्रेससमेतको साथ पाएर उपेन्द्र यादवले चुनाव जितेका थिए ।

यसपटक उपेन्द्रले एमालेसँग गठबन्धन गरी चुनावी मैदानमा छन् । अर्कोतिर अर्का प्रभावशाली नेता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारीले पनि उनलाई चुनौती थपिएको छ ।

यादव र राउत दुवै महादेवा गाउँपालिका–२ का मतदाता हुन् । एउटै वडाका दुई प्रभावशाली नेताले एउटै निर्वाचन क्षेत्र रोजेपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर र जनमत पार्टीका अध्यक्ष समेत रहेका डा.राउतको पनि अहिले बलियो प्रतिस्पर्धा देखिन्छ । गत स्थानीय तहको मतपरिणालाई आधार मान्दा सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर उपेन्द्र र डा.राउत भन्दा बलियो देखिएको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा जसपा र एमालेले पाएको मत जोड्दा १९ हजार ७५ पुग्छ । जबकि सत्तारुढ गठबन्धनको मत ३७ हजार ३७३ पुग्छ । जनमतले भने स्थानीयतहको निर्वाचनमा यस क्षेत्रबाट ३ हजार २७१ मत प्राप्त गरेको थियो । जनमतको सांगठनिक मत कमजोर देखिए पनि डा. राउतको व्यक्तिगत छवि र बढ्दो क्रेजले जित्न सक्ने सम्भावना बढी रहेको केही मतदाताको बुझाइ छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा ठाकुरले चुनाव जित्ने सम्भावना प्रबल रहेको गठबन्धनको दाबी छ ।

यस क्षेत्रमा राजविराज नगरपालिकाका, महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ पालिका पर्दछ । जस मध्ये २ मा लोसपा र १-१ पालिकाको प्रमुखमा कांग्रेस र जसपाले जितेका छन् ।  संसदीय चुनावमा जित दोहोर्‍याउने दबाबमा रहेका उपेन्द्र आफूले गरेको विकास निर्माण कार्यलाई प्रमुख एजेन्डा बनाएका छन् ।

जसपाको समेत अध्यक्ष रहेको यादवले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दाबी गर्दै आएका छन् । पाँच वर्षमा विकास निर्माणका धेरै आधारहरु सुरू गरिसकेको जनताले पुनः आफूलाई नै मत दिने दाबी गर्छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले स्थानीय तह निर्वाचनमा गठबन्धन भित्रका दलहरुले प्राप्त गरेको मत तथा अहिलेसम्म जनताकै काम गर्दै आएकाले चुनाव जित्नेमा पूर्ण आशावादी छन् । जनताको नजिक भएको र उनीहरुको सेवा गरेको आधारमा पनि आफू बलियो स्थितिमा पुगेको ठाकुरको बुझाइ छ ।

उनले आफू जिते सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसँग कूटनीतिक पहल गरी जिल्लासम्म जोड्ने महत्त्वाकाङ्क्षी योजनाका साथै कृषि, स्वास्थ्य, शिक्षा, सडक, खेलकुद, पत्रकारिता लगायत क्षेत्र समेतको विकासका स्थानीय मुद्दा पनि समेट्दै मतदातासामु ३० बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । घरदैलोका क्रममा उनले आफू जिते सबैलाई समान व्यवहार गर्ने मतदातासमक्ष प्रतिबद्धता गर्ने गरेका छन् ।

पहिलो पटक निर्वाचनमा होमिएका जनमत पार्टीका अध्यक्ष डा. राउतले  ठाकुर र यादवको मत काटेर आफूले चुनाव जित्ने बताए । नेताको आश्वासनबाट दिक्क भएका जनताले आफूलाई अवसर दिने र जित्नेमा उनी ढुक्क छन् ।

आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ०९ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन