सीमावर्ती क्षेत्रमा बढ्याे तस्करी | Khabarhub Khabarhub

सीमावर्ती क्षेत्रमा बढ्याे तस्करी


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा- देशमा निर्वाचनको माहाेल बढेको छ। सुरक्षाकर्मीहरू पनि निर्वाचनमै केन्द्रित बनेका छन् । ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निर्वाचनको सुरक्षामा खटिएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ ।

अहिले गहुँ छर्ने समय हो । किसानलाई मलको सकस छ । एक दुई बोरा मल ल्याउन नसके बाली लगाउन समस्या हुने भन्दै किसानहरू भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्याउन्नमा लागेका छन् । जसको फाइदा तस्करहरूले उठाइरहेका छन् । तस्करहरूले खुलेआम मोटरसाइकलले थेग्न नसक्ने गरी सुरक्षाकर्मीकै युनिट अगाडिबाट तस्करी गरिरहेका छन् ।

रुपन्देही गृहमन्त्री बालकृष्ण खाँणकाे गृह जिल्ला हो । उनी अहिले निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।मर्चवारका कदमहवा नाकाबाट ट्याकटरमै तस्करी हुने गरेको छ ।

चिनीको मुख्य तस्करी नाकाको रूपमा परिचय बनाएको मर्चवारकै दुर्गौलियामा सीमा टाँसिएर रहेका घरहरूमा चिनीको गोदाम नै छ। पारिबाट ल्याएर गोदाममा राख्ने र आवश्यकताअनुसार भैरहवा, बेथरी, अमवा, मणिग्राम बुटवलसम्म मोटरसाइकलमा लोड गरी दैनिक रूपमा लैजाने गरिएको छ ।

त्रिलोकपुर नाकाबाट मोटरसाइकलमै अवैध माछा दैनिक रूपमा नेपाल आउने गरेका छन्। चिनी, माछा, कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य वस्तु, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिकलगायतका सामान दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायतका नाकाबाट तस्करी हुने गरेको छ । पिक अप, ट्याक्टर, मोटरसाइकल र साइकल ठाउँअनुसार तस्करहरूले प्रयोग गर्ने गरेका छन् ।

केही महिनाअघि मात्रै यही नाकाबाट भारतीय एसएसबी र कस्टमको संयुक्त टिमले तीन वटा कपडासहितको पिक अप नियन्त्रणमा लिएको थियो । मंगलबार भैरहवा भन्सार कार्यालयमा दुई करोड बढीको सामान नियन्त्रणमा लिइएको थियो । भन्सार हुने सामान पनि तस्करीको बाटो लागेकाले लक्ष्य प्राप्त गर्न गाह्रो भएको कार्यालयका प्रमुख मणिराम पौडेलले बताए । बरामद वस्तुमा सुर्ती, कपडा, जुत्ता र गुट्खा उद्योगका कच्चा पदार्थ र प्याकिङका सामान छन् ।

रुपन्देहीको पश्चिमी क्षेत्रमा पनि तस्करी मौलाएको छ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरूले पनि धान, गहुँ र चामल अवैध रूपमा भित्र्याई वैध बनाउने गरेका छन् । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रूपमै ट्याक्टर पिकअपबाट विभिन्न सहरमा पठाउने गरिएको छ ।

बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मर्यादपुर, मेउडिहवालगायतका चौकीको अगाडिबाटै तस्करीका सामान निर्धक्क साथ आउने गरेको छ । खुला सीमाबाट जे जस्तो अवस्थामा ल्याए पनि ती सामान प्रहरी पोस्टकै अगाडिबाट जाँदासमेत प्रहरीले वास्ता नगर्नु मिलेमतोमा तस्करी भइरहेको आशंका गरिएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमै तस्करी नियन्त्रण गर्ने रणनीति बनाएको छ । रुपन्देहीमा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकको कमान्डामा १३ वटा इलाका प्रहरी कार्यालय, सई असईको कमान्डमा ४६ वटा प्रहरी चौकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको कमान्डमा जिल्लामा कुल ७८ वटा प्रहरी युनिट छन् । ठाउँ ठाउँमा अस्थायी चेकपोस्ट र मोबाइल टोली, तस्करी नियन्त्रण गर्न, अनुसन्धान र सूचनाहरू लिन जिल्लाले सादा पोसाकका प्रहरी पनि खटिने गरेका छन् ।

सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटर छ । सीमाको सुरक्षा तथा अन्य गरी अहिले जिल्लामा १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन् । एउटा गण, ६ वटा बाेर्डर आउट पोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमान्ड पोस्ट सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवालगायतमा सशस्त्र प्रहरीकै युनिट रहेको छ ।

भारतसँग ५९ दशमलव ७ किमी जोडिएको सिमानासहित समग्र जिल्लाको सुरक्षा यिनै सुरक्षा निकायले गर्दै आएका छन् । तर पनि तस्करी रोकिएको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अहिले निर्वाचनलाई लक्षित गर्दै तीन हजार ९५ म्यादी प्रहरी, १७ सय ३५ नेपाल प्रहरी, आठ सय ८८ सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको २८  र नेपाली सेनाको आवश्यकताअनुसार परिचालन गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यस आर्थिक वर्षमा एक करोड ७५ हजार ५ सय २१ रुपैयाँ बराबरको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपायलगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ । पाँच लाख ४९ हजार ४११ रुपैयाँ बराबरको सुन बरामद गरी भन्सार पठाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरका अनुसार यस आर्थिक वर्षमा दुई करोड दुई लाख ४४ हजार ८३४ रुपैयाँ बराबरको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले निर्वाचनलाई मध्यनजर गरेर थप जनशक्ति परिचालन गरेको बताए । सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठले अरू जिल्लाको तुलनामा रुपन्देही कन्ट्रोल अवस्थामै रहेको दाबी गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : २१ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको