काठमाडौँका सडक व्यापारीमाथि बालेनको बर्बरता | Khabarhub Khabarhub

काठमाडौँका सडक व्यापारीमाथि बालेनको बर्बरता

व्यवस्थापन र सामुहिक प्रयासमा समन्वय छाडेर बलमिच्याई


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय काठमाडौँ महानगरपालिकाले एकपछि अर्को गरी सडकमा रहेका मध्यमवर्गीयमाथि अत्याचारको हद पार गर्न थालेको छ। सडक पेटीमा व्यापार व्यवसाय गर्ने तथा आफ्नो पेट पाल्ने मध्यमवर्गीयमाथि काठमाडौँको मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले दिनभर वितण्डा मच्चाउने गरेको छ।

सडकमा ठेला राखेर कपडा बेच्ने, साग बेच्ने, तरकारी बेच्नेदेखि सानो सानो व्यवसाय गर्ने जोसुकैले पनि आ–आफ्नो गुजारा चलाउन वैद्य काम गर्न पाउँछन्। उनीहरू सडक पेटीमा काम गर्दा त्यसको सही रूपमा महानगरले व्यवस्थापन गर्ने हो।

त्यसरी अहिलेसम्म ‘एग्रेसिभ’ रूपमा महानगरले व्यवस्थापन गरेको देखिँदैन। केवल सडकमा रहेका गुजारा गर्ने मध्यम तथा निम्न वर्गीय मानिसहरूलाई निकै दुःख दिने नियतले मात्रै महानगरले काम गरेको देखिन्छ।

महानगरले केही सडकमा भने फुटपाथमा रहेका व्यापारीलाई व्यवस्थापन गरेको छ। नयाँ बानेश्वर क्षेत्रका फुटपाथमा रहेका व्यापारीलाई महानगरका मेयर बालेन शाहको अगुवाइमा व्यवस्थापन सुरु भएको थियो। त्यसले मूर्त रूप पाउँदा धेरै महानगरवासी खुसी पनि भएका थिए।

तर पछिल्लो समय सडकमा व्यापार गर्नेलाई सही व्यवस्थापन सुरु गर्नुको साटो अत्याचारकै रूपमा बर्बरता देखाउनु कायरता जस्तै हो। बालेनले त्यही गरिरहेका छन्। थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा बालेनले डोजर चलाएपछि सुरु भएको उनको अत्याचार अहिले काठमाडौँका सडकमा देखिन थालेको छ।

यो केही हदसम्म आवश्यक होला। तर यसका लागि धेरै विकल्प छन्। राज्यका धेरै निकाय छन्। काठमाडौँ महानगरले संघीय सरकारका अरु निकायसँग सर–सल्लाह गरेर वडाध्यक्ष वा वडासदस्यसँग सल्लाह गरेर पनि यो काम गर्न सक्छ।

ताकी धेरै मध्यवर्गीय परिवारको आफ्नो व्यक्तिगत गर्जो टार्ने आयआर्जन गर्ने बाटो बन्द नहोस्। उनीहरुको लगानी खेर नजाओस्। अनि आम मानिसहरु जस्तै उनीहरुको जीवनयापन पनि तहसनहस नहोस्। तर पछिल्लो समय हेर्दा आम मानिसहरुको मुटु नै चुँडिने खालको भिडियो क्लिपहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

ठेलामा आफ्नो गुजारा टार्ने सामान बेच्दै गर्दा नगर प्रहरी आएर लखेटी लखेटी त्यो ठेला खोसेर सामान्य मानवीयता पनि ख्याल नगरी हटाउनु समस्या मात्रै होइन, काठमाडौँका नयाँ मेयरको पुरानै प्रवृत्तिको विडम्बना पनि हो।

सुरुका दिनमा केही राम्रो काम गरेर चर्चामा आएका उनी पछिल्लो समय आफूप्रतिको त्यो क्रेज कायम राख्न सकिरहेका छैनन्। उनले काठमाडौँमा अतिक्रमणले भूमिगत पारिएको टुकुचा खोला उत्खनन् गरे, तर त्यसको व्यवस्थापन नगर्दा अहिले हात्तीसारनेरको टुकुचा खोला गन्हाइरहेको छ।

त्यो बाटो हिँड्ने यात्रीलाई समेत खोलाको गन्ध आइरहेको छ। यसबारे मूलधारका मिडियामा धेरै चर्चा र समाचार सामग्री छापिएका छन्। त्यतातिर बालेनको ध्यान गएको छैन। उनले काठमाडौँका सडकमा ट्राफिक व्यवस्थापन गर्न केही समय ट्राफिकसँगै उभिएर त्यसको अनुगमन गर्ने गरेका थिए।

त्यो पनि निरन्तरता छैन। केवल सडकमा रहेका निम्न तथा मध्यम वर्गीय परिवारलाई निशानामा राखिनु गलत मात्रै होइन, यो मानवअधिकारविरुद्धको अपराध हो। मानिसको मानवअधिकार हनन् गर्ने अधिकार बालेनलाई छैन। सोही कारण अब उनले आफ्नो सोच र शैली परिवर्तन गर्न आवश्यक छ।

अन्यथा स्वतन्त्र मेयर वा जनप्रतिनिधिमाथि आम मानिसको धारणा मात्रै परिवर्तन हुँदैन, यसले भोलिका दिनमा धेरै कुरा फरक पार्नेछ। जसको मूल्य स्वयंम बालेनलाई पनि महंगो पर्न सक्नेछ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १२ : ४८ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित