नीति नहुँदा निरीह ‘नेपाली फिल्म’ « Khabarhub

नीति नहुँदा निरीह ‘नेपाली फिल्म’



काठमाडौँ – २०७५ साल चैत्र २९ गते एकसाथ दुई फिल्म प्रदर्शनमा आए  यात्रा: द म्युजिकल भ्ल्ग र ए मेरो हजुर ३ ।

नयाँ वर्षलाई लक्षित गर्दै दुई फिल्म प्रदर्शनमा आएका थिए । नयाँ वर्षको दिन राम्रो व्यापार हुने भएपछि फिल्महरू एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै नेपाली फिल्म भएकाले शो वितरणमा समस्या देखिएन । फिल्म प्रदर्शन भएपछि ‘ए मेरो हजुर ३’ को व्यापार राम्रो भयो भने यात्राले ठिकठाकै व्यापार गर्‍यो ।

त्यसको साता बित्न नपाउँदै भारतीय फिल्म ‘कलंक’ रिलिज थियो । शुक्रबार प्रदर्शनमा आएको दुई नेपाली फिल्मले दर्शक पाउँदै गर्दा बुधवार भारतीय फिल्म आउने चर्चा सुरु भयो ।

भारतीय फिल्म वितरणको अधिकार लिएका टिमले बुधवार नै फिल्म नेपाल वितरण गर्ने प्रयास गर्‍यो । तर , तत्कालीन समयमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईले नेपालमा शुक्रबार मात्र विदेशी फिल्म रिलिज गर्नुपर्ने अडान लिए।

त्यो समयमा उनी निर्मित ‘यात्रा’ पनि प्रदर्शनरत थियो । केही फिल्मकर्मीले आफ्नो फिल्मको लागि भारतीय फिल्म प्रदर्शनलाई बुधवार रोकिएको आरोपसमेत लगाए ।

तर, तत्कालीन विकास बोर्ड अध्यक्ष भट्टराईले शुक्रबार बाहेक अन्य डेटमा फिल्म रिलिज गर्न नपाइने भन्दै आफ्नो अडान कायम नै राखे । विदेशी बिदाअनुसार नेपालमा फिल्म रिलिज हुने मनोमानी बढेपछि तत्कालीन समयमा बोर्ड अध्यक्षले शुक्रबार बाहेक अन्य दिन फिल्म रिलिज गर्न नदिने अडान राखेपछि भारतीय फिल्म वितरकहरूले त्यही विषयलाई लक्षित गर्दै अदालतमा मुद्दासमेत हालेका थिए ।

बोर्डले ‘कलंक’ को रिलिज बुधवारबाट सारेर शुक्रबार पुर्‍याएपछि नेपाली तथा हिन्दी दुवै फिल्म शुक्रबार नै रिलिज गर्न दिने सोच र फिल्मकर्मीको सल्लाह अनुसार नै कार्यविधि बनाएर अगाडि बढ्ने तत्कालीन अध्यक्ष भट्टराईले कार्य योजना नै बनाएका थिए ।

नेपाली फिल्मको अस्तित्व सकाएर विदेशी फिल्मलाई प्रोत्साहन गर्न नसकिने भन्दै लिइएको अडान धेरै समय टिक्न पाएन ।

त्यही वर्ष इदमा रिलिज हुने फिल्म ‘भारत’ को रिलिजको समयसम्म नियम फितलो बन्यो । फलतः नेपालमा जुनसुकै समयमा फिल्म रिलिज हुन् थाले । बोर्ड अध्यक्ष भट्टराईले लिएको अडान नेपाली फिल्मको हितमा भएता पनि नीतिसङ्गत त्यो ठिक थिएन । नीति नियम नभएपछि बोर्डले पनि केही गर्न सकेन ।

कोरोना भाइरसको महामारी अगाडि रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ ले मङ्गलबार नै रिलिज घोषणा गर्‍यो । त्यहीअनुरुप नेपालमा पनि रिलिजको तयारी नभएको होइन । तर, कोरोना महामारीका कारण सबै ठप्प भयो । बिदा लक्षित गर्दै जथाभावी रिलिज गर्दा अघिल्लो शुक्रबार रिलिज भएको फिल्मलाई समस्या आउने भन्दै बेलाबखतमा आवाज उठ्ने गरेका छन् । तर, नीति नबन्दा त्यो चर्चामै सीमित छ ।

आउँदो वैशाख १ गते नेपालमा ‘ए मेरो हजुर ४’ सँगै विदेशी फिल्महरू पनि रिलिज हुँदैछन् । विदेशी फिल्म बिहीबार नै रिलिज हुने भएपछि नेपालमा पनि त्यही हुँदैछ । भारतीय फिल्म रिलिज गर्ने वितरकहरूले सेन्सर नगर्दै टिकेट खोलिसकेका छन् । भारतमा सेन्सर अगाडि टिकेट बुकिङ भइरहेका छन् । यद्यपी नेपालमा बिक्री नै सुरु भएको छ । नेपालमा विदेशी फिल्म हावी हुँदा नेपाली फिल्म घरेलु बजारमै निरीह बनिरहेका छन् ।

फिल्म क्षेत्रको विकासका लागि गठित संस्था चलचित्र विकास बोर्ड नीतिगत रूपमै यो समस्याको हल चाहेको विकास बोर्ड अध्यक्ष दयाराम दाहालले बताए । ‘हाम्रो बिदामा हाम्रो फिल्मले प्राथमिकता पाउनु पर्छ भन्ने पक्षमा म छु । तर, नीति नियम नहुदाँसम्म हामीले केही गर्न सक्दैनौँ’ अध्यक्ष दाहालले भने । आइतबार मात्र केही फिल्मकर्मीले बुझाएको ज्ञापन पत्रलाई सूचना , सञ्चार तथा प्रविधि मन्त्रालयमा पठाउने तयारी गरिरहेका दाहालले नीति बनाउने पक्षमा दबाब फिल्मकर्मीलाई आग्रह गरेका छन् ।

‘यो समस्यालाई समाधान गर्न कानुन चाहिन्छ, कार्यविधि चाहिन्छ, नीति बन्नु पर्छ । कुनै पनि फिल्मको प्रदर्शन रोक्ने अधिकार बोर्डसँग छैन’ अध्यक्ष दाहालले भने । उनले नेपाली फिल्मलाई सहजता दिलाउन भन्सारलगायतका विविध पक्षमा बारम्बार मातहतको मन्त्रालयमा नीति नियमका लागि झकझक्याइ रहेको बताए । ‘नेपाली फिल्मलाई राम्रो हुने डेटमा नेपाली फिल्म नै प्रदर्शन गरिनु पर्छ भनेर म पनि सहमत छु । तर, नीति नबन्दासम्म केही कानुनभन्दा बाहिर गएर हामीले केही गर्न सक्ने अधिकार छैन’ अध्यक्ष दाहालले भने ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले केहि बिदामा भने छुट दिने र अन्य डेटमा शुक्रबार नै रिलिज गर्नुपर्ने सम्झौता भएको बताए । ‘हामीले दसैँ, तिहार र नयाँ वर्षको समयमा त्यही दिन रिलिज गर्न पाइने सम्झौता गरेका थियौँ । अन्य समयमा भने शुक्रबार मात्र रिलिज गर्न पाइने भनिएको थियौँ’ संघका अध्यक्ष अधिकारीले भने । यद्यपी त्यो नेपाली फिल्मको हकमा मात्र भएको सम्झौता थियो । र, प्राय सम्झौता एकवर्षको लागि हुने भएकाले त्यसको समय समेत सकिसकेको छ । तर , अध्यक्ष अधिकारीले विदेशी फिल्म शुक्रबार बाहेक जथाभावी रिलिज गर्न नपाउने नीति बनाउनको लागु आफू र आफ्नो संस्थाले आवाज उठाउँदै आइरहेको बताउँछन् ।

नीति नबन्दासम्म नेपालमा नेपाली फिल्म नै निरीह बन्ने गरेका छन् । नीति नियमको चर्चा बेलाबखतमा नभएको होइन । तर, आफूलाई नपरे सम्म नसुन्ने फिल्मकर्मीको शैलीले गर्दा ‘चलचित्र नीति’ अगाडि बढाउन दबाब खासै पर्ने गरेको छैन । नयाँ वर्ष, तीज, दसैँ, तिहार, माघेसंक्रान्ति, प्रणय दिवसलगायतका डेटमा नेपाली फिल्मको व्यापार राम्रो हुने गरेको छ । तर, पछिल्लो समय उल्लेखित डेटमा विदेशी फिल्म आउन थालेपछि नेपाली फिल्मलाई रिलिज गर्नै सकस पर्ने गरेको छ।

नेपालमै नेपाली फिल्मलाई रिलिज गर्न समस्या त छ नै । अर्को तर्फ हलले नेपाली फिल्मलाई दिने शो मा पनि विभेद देखिने गरेको छ । नेपाली फिल्मलाई शो टाइम , शो संख्या , पोस्टर लोकेसन लगायतका प्राविधिक कुराहरुमा हल संचालकले गर्ने व्यवहार मितव्ययी छैन । यसैले गर्दा नेपालमै नेपाली फिल्म विदेशी फिल्मसँग भिड्न डराउने गरेका छन्। कसैले त्यो आट गरेता पनि वितरक र प्रदर्शकले गर्दा निरुत्साहित हुने गरेका छन् ।

यसपटक ‘ए मेरो हजुर ४’ ले नयाँ वर्षमा गर्ने व्यापारबाट मुनाफा कमाउन सकेन भने अन्य फिल्मले विदेशी फिल्मसँग भिड्ने आट गर्न सक्दैनन् । फलतः नेपाली फिल्म नेपालमै विदेशी फिल्महरुले छाडेको डेटमा रिलिज गर्न पर्ने बाध्यतामा हुनेछन् । ‘नो एमसिसी’ भनेर राष्ट्रियता देखाउने भिड पनि सांस्कृतिक रक्षाको लागि भने मौन छन् । छिमेकी मुलुक भारतमै फिल्म हेर्ने संस्कार भएकै कारण त्यहाँका फिल्महरुले अहिले हलिउडलाई टक्कर दिन थालेका छन् । भारतमै पनि हिन्दी भाषा, तामिल र तेलुगु भाषा, कन्नाडा र मलयालमका फिल्महरू प्रदर्शनमा आउँदा भाषीहरूले आफ्नो फिल्मलाई मात्र प्राथमिकतामा राख्ने गरेका छन् । हिन्दी भाषालाई साउथ इन्डियामा सहज छैन ।

कन्नाडाको फिल्म केजीएफ: च्याप्टर २ आउने भएपछि तामिल र तेलुगु दर्शकको लागि ’बिस्ट’ भन्ने फिल्म आउँदैछ । त्यहाँ एक स्टेटले अर्को स्टेटमा फिल्म चलाउन वा दर्शक पाउँन संघर्ष गर्नु परिरहेको छ । तर , पछिल्लो समय ती फिल्महरुलाई नेपालमा भने प्रदर्शन हुन् र दर्शक पाउन सहज छ । नेपाली फिल्म नेपालमै प्राथमिकतामा पर्ने गरेको छैन । यसमा नेपाली फिल्मका निर्माता-निर्देशक पनि केहि हदसम्म जिम्मेवार त छन् नै तर, फिल्म नीति नबन्दा नेपाली फिल्म घरेलु बजारमै निरीह बनिरहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ०१ बजे

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमाले महाधिवेशनः नयाँ नेतृत्वको मतदान आज हुँदै, तयार भए ८० विद्युतीय भोटिङ मेसिन

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर