‘कसैसँग नडराई चाहेको उम्मेद्वारलाई भोट हाल्नुहोस्’ « Khabarhub

‘कसैसँग नडराई चाहेको उम्मेद्वारलाई भोट हाल्नुहोस्’

‘मौन अवधि चलिरहेको छ, मतदान केन्द्र कुरेर बसेका छौँ’



स्थानीय तहको चुनावका लागि मौन अवधि चलिरहेको छ । शुक्रबार स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान हुँदैछ । राजनीतिक दलहरूले दलगत प्रचार प्रसार सकाएका छन् । तर भित्रभित्रै मतदाता प्रभावित पार्ने काम भने गरिरहेका छन् । ७५३ स्थानमा चुनाव गराउन आयोगले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन नहोस् भनेर निर्वाचन आयोगले तीव्रताका साथ अनुगमन कार्य गरिसकेको छ । निर्वाचनको प्रक्रिया, निर्वाचनको अनुगमन तथा निर्वाचन शिक्षा र यसको व्यवस्थापन विषयमा निर्वाचन आयोग नेपालका प्रवक्ता शालिग्राम शर्मासँग खबरहबका लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

भिडियोमा हेर्नुहोस्:

स्थानीय निर्वाचनको तयारी कस्तो छ ? मतपत्रको व्यवस्थापन कसरी भइरहेको छ ?
हामी मतदानको अन्तिम चरणमा छौँ । निर्वाचनका तयारीका सबै क्रियाकलापहरू करिब सकिसकेका छन् । अहिले आयोगमा भन्दा पनि यो बिजनेस तल स्थानीय तहमा सरेको छ । मतदान अधिकृतहरू मतदान केन्द्रमा जानेक्रम जारी छ । मतपत्र बुझ्ने तथा उनीहरुका तालिमहरू पनि सम्पन्न भैसकेको छ । उहाँहरु जानेक्रममा हुनुहुन्छ । आज राति सबै मतदान अधिकृतहरू मतदानकेन्द्रमा पुगेर उहाँहरुले तिनचार ओटा मुचुल्का निकाल्नु पर्ने हुन्छ । यसमा प्रचार प्रसार निषेध गरिएको, मदिरा निषेध गरिएको, हातहतियार लिएर हिँड्न निषेध गरिएको, लगायतका मुचुल्काहरू २७ गते निकाल्नुहुन्छ । शुक्रबार बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान गर्ने समय कुरेर बसेका छौँ ।

निर्वाचन आयोगले निर्वाचन अनुगमन कसरी गरिरहेको छ ?
केन्द्रदेखि जिल्लासम्म अनुगमन संयन्त्र निर्माण भएका छन् । केन्द्रमा आयुक्तको संयोजकत्वमा एउटा केन्द्रीय अनुगमन समिति बनेको छ । यो ‘एपेक्स बडी’ हो । यसले नीति निर्माण गर्ने, निर्देशन दिने लगायतका कामहरू गर्छ भने कतिपय अनुगमन स्वयम् गर्ने र अनुगमनको लागि खटाउने गर्दछ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला अनुगमन समिति बनेको छ । र, पालिका स्तरमा निर्वाचन अधिकृतको संयोजकत्वमा अनुगमन समिति छन् । अनुगमन समितिबाट अनुगमनका कार्य भइरहेका छन् । आयोगले छुट्टै १९ जना सहसचिवको नेतृत्वमा अलिकति ठूला ठानिएका जिल्लाहरूमा हरेक जिल्लामा एउटा एउटा टोली पठाएको छ । त्यसमा पनि थप आवश्यक पर्‍यो भने सूक्ष्म अनुगमनको लागि आयोगले व्यवस्था गर्छ । आयोगबाट पनि छुट्टै टोलीहरू पनि खटिन सक्छन् । यसरी अनुगमनका विभिन्न व्यवस्थाहरू भइरहेका छन् ।

निर्वाचनमा मतदातालाई निर्वाचन मतपत्र शिक्षा दिन आयोगले कस्ता काम गरेको छ ? मतपत्र बदरको दर घटाउन कस्तो काम गरेको छ ?
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि एग्रेसिभ्ली डिजिटल माध्यमको प्रयोग गरेको छ । टिभि, रेडियो, एफएम रेडियो, सामाजिक सञ्जालहरुको प्रयोग गरेर मतदाता शिक्षाका कार्यक्रमहरु गरिरहेको छ । सबैको घर-घरमा सबैको स्क्रिनमा पुगेको छ । कसरी मतदान गर्ने, कहिले मतदान गर्ने, कस्तोलाई मतदान गर्ने लगायतका कुराहरू गरेको छ । वैशाख २८ र २९ गते कार्यस्थलमै जे जति मतदाताहरू भ्रमित छन्, उहाँहरूलाई आह्वान गरिएको छ । त्यहाँ आएर पनि मतदाता शिक्षा लिएर उपयुक्त ढङ्गबाट मतदान गर्न सक्नुहुन्छ ।

निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयले यस पटक मताधिकारको प्रयोग, मत हाल्ने तरिका, मतपत्र पट्याउने र मत पेटिकामा हाल्ने तरिका नसिकाएपछि दलहरूले आफूखुसी मतदान शिक्षा दिएका छन्, यसलाई कसरी हेर्नुहुन्छ ?
होइन । त्यो कुरा कदाचित होइन । तपाईँहरूले सञ्चार माध्यम हेर्न सक्नहुन्छ । सोसल मिडिया हेर्न सक्नुहुन्छ । सामाजिक सञ्जालमा हाम्रा पेजहरु हेर्न सक्नुहुन्छ । हाम्रा कर्मचारीमार्फत मत पोलिङ गरेका छौँ । त्यहाँ तालिमहरू सिकाएका छौँ । तर यति हुँदाहुँदै पनि दलको पनि जिम्मेवारी हो । दलले मतदाता शिक्षा दिन जरुरी छ । आयोगले शिक्षा दिँदा दल विशेषलाई लक्षित गरेर दिन मिल्दैन । तर दलहरूले त आफूलाई मत दिँदा मत कसरी बदर नहुने गरी उहाँहरुले मत माग्दा आफ्ना चिह्न बताएर मत माग्न सक्नुहुन्छ । उहाँहरुको मतदाता शिक्षा आयोगको भन्दा अझ बढी प्रभावकारी हुन सक्छ । उहाँहरुको पनि जिम्मेवारी हो । उहाँहरूले गर्नुपर्छ । उहाँहरुलाई आयोगले गर्नेका लागि आह्वान पनि गरेको छ ।

मतदानस्थलमा शारीरिक रुपले अपांगता भएकाहरुले मतदान गर्न व्यक्तिहरूलाई आयोगले कस्तो ध्यानाकर्षण गरेको छ ?
अपाङ्गता भएका व्यक्तिहरूलाई पहिला त मतदान केन्द्रसम्म आउनको लागि निर्वाचन अधिकृत मुख्य निर्वाचन अधिकृतले सहजीकरण गर्नुहुन्छ । गाडीको पास उपलब्ध गराउनुहुन्छ । गाडी उहाँ र उहाँको हेरचाह गर्ने परिवारको एकाघरको व्यक्ति मात्रै हुनुपर्छ । उहाँको मतदाता नामावली हुनुपर्छ । मतदान स्थलमा उहाँहरूले लाइन बस्नुपर्दैन । प्राथमिकताका साथ सबैभन्दा पहिला मतदान गर्न सक्नुहुन्छ । मतदान गर्दा आफैले मतसंकेत गर्न नसक्ने अवस्था हो भने एकाघरको परिवार वा एकाघरको परिवार हुनुहुन्न वा एकाघरको परिवार लान चाहन्नुहुन्न भने मतदान अधिकृतले सहजीकरण गर्दिनुहुन्छ । यसको व्यवस्था छ ।

आममतदातालाई कसरी सही तरिकाले मतदान गर्ने तरिका के–के होलान् ?
एउटा मतपत्रमा सात ठाउँमा मतदाताले चिह्न लगाउनुपर्छ । तर सात ठाउँमा मतपत्र एउटा मतपत्र भए पनि यो ६ ओटा छुट्टा छुट्टै मतपत्र हुन्। त्यो कुरा विचार गर्नुपर्छ । ठाडो लहरमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य महिला दलित महिला सदस्य साथै खुला दुई सदस्यको छ । हरेक पदको लागि एउटै पेपरमा भएता पनि छुट्टाछुट्टै मतपत्र हुन । एक मतपत्रमा मत बदर हुँदैमा अर्को अर्को मतपत्रको मत बदर हुँदैन । एक भन्दा बढी खुला सदस्यमा बाहेक अन्यमा एकभन्दा बढी चिह्नमा छाप लगाउनुहुँदैन । दुई वटा कोठामा पर्ने गरी लगाउनुहुँदैन । लतपत गराउनुहुँदैन । स्वस्तिक बाहेक अन्य चिह्नको लगाउनु हुँदैन लगायतका कुराहरू छन् । ती कुराहरू मतदान शिक्षाबाट नियमित रूपमा शिक्षा दिँदै आएका छौ । प्रचार प्रसार गरिरहेका छौ ।

आयोगले प्रचार प्रसार ढिला गरेको हो कि नियमित गर्दै आएको छ ?
ढिलो भएकै छैन । डिजिटल मिडियाबाट जाने चिज । ढिलो भएको छैन । हामीले करिब करिब १० दिन अघिदेखि व्यापकरुपमा डिजिटल माध्यमबाट प्रचार प्रसार गरिरहेका छौ । अन्तिम दुई दिन स्थलगत रूपमा मतदान केन्द्रमा गएर मतदाता शिक्षा दिन्छौ । आयोगको तर्फबाट मतदाता शिक्षा पर्याप्त रूपमा गरिएको छ ।

नयाँ मतदाता परिचयपत्र कहिले वितरण हुन्छ ? यसको व्यवस्थापन कसरी गर्नु भएको छ ?
नयाँ मतदातालाई र प्रतिलिपी निवेदन दिनुभएको मतदाताले २८ र २९ गते मतदान स्थलमा हाम्रो कर्मचारीले उहाँहरुलाई मतपत्र वितरण गर्छ।

नेपाल संघीयतामा आए पनि निर्वाचन आयोग अझै पनि केन्द्रिकृत संरचनामै चलेको देखिन्छ । स्थानीय रूपमा चुनाव गराउन सक्षम आयोग बनाउन सकिँदैन ?
तपाईँले ७५३ निर्वाचन अधिकृतको कार्यालय छन् । यहाँबाट निर्वाचन भएको होइन । यहाँबाट हामीले सपोर्ट गर्ने नीति बनाउने पोलिसी डिसिजन गर्ने हो । कतिपय चिजहरु जिल्लामा व्यवस्थापन हुन नसक्ने चिजहरु केन्द्रबाट भएका हुन । जिल्ला यति ठुलो परिमाणमा सामाग्री आवश्यक पर्छ जुन काठमाडौँको बजारमा पनि पाइँदैन । भारतबाट वा चीनको बजारबाट ल्याउनुपर्छ । त्यो कालिकोटको बजार, हुम्लाको बजार जुम्लाको बजारमा हामीलाई चाहिने सामाग्री उपलब्ध नहुन सक्छ । त्यसको लागि मात्रै आयोगले समन्वय गरेर त्यहाँ पठाउँछ । अन्यथा ७७ जिल्लामा जिल्ला निर्वाचन कार्यालय छ । ७ प्रदेशमा प्रदेश निर्वाचन कार्यालय छ । ७५३ स्थानमा अहिले निर्वाचन प्रयोजनको लागि निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । केन्द्रबाट निर्वाचन गराएको होइन । गर्नुपर्ने पोलिसीगत र केही नगरी नहुने कुराहरू केन्द्रबाट भएका छन् । अन्य सबै तलबाट भएका छन् ।

निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन नहोस् र मौन अवधिमा सामाजिक सञ्जाल लगायत कसरी निगरानी गर्नु हुन्छ ?
आयोगले पटक-पटक आह्वान गरेको छ । मौन अवधिमा सामाजिक सञ्जालबाट लगायत कुनै पनि माध्यबाट गर्न पाइँदैन । सामाजिक सञ्जालसँग अन्यबाट प्रचारप्रसार नगर्न अनुरोध गरेका छौँ । यसको लागि हामीसँग प्राविधिक टिम छ । साइबर हेर्ने नेपाली सेना र नेपाल प्रहरीका दुई जना विज्ञ राखेका छौँ । त्यसका आधारमा हामीले सक्दो नियन्त्रण गर्छौ ।

नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो र विकृत हुँदै गएको देखिन्छ । यसलाई रोक्न सक्ने केही उपाय देख्नुहुन्छ कि ?
होइन । आयोगको तर्फबाट खर्च छैन । आयोगले २०७४ को तुलनामा झन् कम खर्च भएको छ । हामीले पर मतदाता खर्च त्यो बेलाबाट अहिले सम्म भएको मूल्य वृद्धि, डलरको मूल्य वृद्धि करिब ३७ लाख मतदाता वृद्धि आदि कारणले मतदाता वृद्धि भएपछि सबै कारणले मूल्य वृद्धि हुन्छन् । मतदान केन्द्र स्थल वृद्धि गर्नुपर्छ । त्यस हिसाबले हेर्दा खेरि खर्च आयोगको तुलनात्मक रूपमा कम छ ।

अन्तिममा, निर्वाचन आयोगले आम मतदातालाई के आह्वान गर्छ ?
सम्पूर्ण मतदातालाई संविधान प्रदत्त बालिग मताधिकारको प्रयोग गरेर आफूले चाहेको उम्मेदवारलाई जिताउन लागि ३० गते बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा गएर निर्धक्क भएर विना डर, विना धाक धम्की, विना त्रास आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोग आह्वान गर्दछ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ११ : ४३ बजे

समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी

काठमाडौँ- यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

दाङमा बदर मत धेरै

काठमाडौँ- गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ

भेरी करिडोरका पुल अझै निर्माण हुन सकेनन्

काठमाडौँ- एक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएका भेरी

क्यामरुनमा पहिरोमा परी १४ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर १४

प्रदेश १ मा २४ सिटसहित एमाले पहिलो दल

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत