आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः


श्रीलंकाली राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी

मुलुकमा जारी चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हिंसात्मक सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

गत महिना सरकारविरोधी प्रदर्शन शुरु भएयता पहिलोपटक बुधबार अबेर राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति राजपाक्षेले मुलुकको राष्ट्रपतीय अधिकारी संसदलाई हस्तान्तरण गर्न तयार रहेको बताएको बीबीसीले जनाएको छ ।

यद्यपि उनले कुनै समयसीमा भने निर्धारण नगरेको बताइएको छ । सरकार विरोधी प्रदर्शनकारीले भने राष्ट्रपति गोताबाया सहित श्रीलंकामा सत्तारुढ राजपाक्षे परिवारका सबैले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

यसअघि गत सोमबार प्रधानमन्त्री महिन्दाले राजीनामा दिएका थिए । आक्रोशित प्रदर्शनकारीको आक्रमणबाट जोगिन हाल उनी श्रीलंकाली नौसैनिक आधारमा शरण लिइरहेको बताइएको छ ।

राष्ट्रका नाममा सम्बोधनका क्रममा राष्ट्रपति गोताबायाले आफ्नो राजीनाका सन्दर्भमा कुनै जिकिर नगरेको बीबीसीले जनाएको छ । आफ्ना दाजु महिन्दाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै राष्ट्रपति गोताबायाले संसदमा बहुमत पुर्‍याउनेलाई नयाँ प्रधानमन्त्रीको जिम्मेवारी दिँदै नयाँ मन्त्रिपरिषद् गठन गर्ने समेत आश्वासन दिए ।

यता सरकार विरोधी प्रदर्शनकारीले भने गोताबायाको भाषणले राष्ट्रमा जारी समस्याको सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । ‘३० दिनसम्म तपाईँ कहाँ हुनुहुन्थ्यो ? मानिसहरूसँग औषधि छैन, मानिसहरूसँग खानेकुरा छैन, पूरा मुलुक ठप्प छ ।’ राजधानी कोलम्बोका प्रदर्शनकारी कभिण्ड्य थेन्नकुनले बीबीसीलाई बताए, ‘उनले अघि सारेका सुधार हामीलाई चाहिएको छैन । हामीलाई अहिले चाहिएको कुरा उनको राजीनामा हो । मेरो दिमागलाई अचम्म लाग्छ गोताबाया राजपाक्षेले यो कुरा बुझ्दै बुझ्दैनन् ।’

यसैबीच श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी थालेका छन् । 

उनले यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार विरोधी प्रदर्शनकारीको माग बमोजिम आफूले राजीनामा नदिने तर संसद्मा बहुमत ल्याउनेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बाचा गरेका थिए ।

नयाँ प्रधानमन्त्रीमा यसअघि पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्व प्रधानमन्त्री रणिल विक्रमासिंघेको नाम अग्रपङ्क्तिमा रहेको भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

उनी २ सय २५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ । देशव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘म संसद्मा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए ।

दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकामा आर्थिक संकटसँगै खाद्यान्न, इन्धन र औषधिको चर्को अभाव र विद्युत कटौतीजस्ता समस्या उत्पन्न भएका छन् ।

फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने

फिनल्याण्डले नेटोमा सदस्यताका लागि आवेदन दिने भएको छ । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र प्रधानमन्त्री सन्ना मरिनले संयुक्त विज्ञप्ति जारी गर्दै नेटोमा सदस्यताका लागि आवेदन दिने जनाएका हुन् ।

‘अविलम्ब फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिनुपर्छ ।’ संयुक्त विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्तोले युक्रेनमाथि रुसी आक्रमणले फिनल्याण्डको सुरक्षा अवस्था परिवर्तन गराएको टिप्पणी गरेका छन् ।

यद्यपि उनले हाल आफ्नो मुलुकलाई तत्काल कुनै खतरा भने नरहेको स्पष्ट पारेको बीबीसीले जनाएको छ । यद्यपि यसबारे फिनल्याण्डमा गठित विशेष समितिले औपचारिक घोषणा भने आगामी आइतबार गर्ने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्याण्डले नेटोमा सदस्यता लिने महत्वपूर्ण नीतिगत निर्णय गरेको हो । फिनल्याण्डसँगै छिमेकी देश स्विडेनले पनि नेटोमा सदस्यताका लागि आवेदन दिने तरखर गरिरहेको बताइएको छ ।

पछिल्लो समय फिनल्याण्डमा नेटोमा सदस्यताका लागि उच्च जनसमर्थन रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यसअघि २०–२५ प्रतिशत फिन्निसहरुले नेटो सदस्यताका लागि सकारात्मक प्रतिक्रिया दिएको भएपनि युक्रेनमाथि रुसी आक्रमणपछि भने यो बढेर ७६ प्रतिशत पुगेको छ ।

यता अर्को उत्तर युरोपेली मुलुक डेनमार्कले भने फिनल्याण्डलाई नेटोमा स्वागत गरिने प्रतिक्रिया दिएको छ । डेनिस प्रधानमन्त्री मेत्ते फ्रेडरिकसनले फिनल्याण्डको निर्णयले ‘नेटो र हाम्रो साझा सुरक्षा’ लाई बढाउने बताएको बीबीसीले जनाएको छ ।

पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेकै दिन उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियामा पहिलो पटक कोभिड १९ को संक्रमण भेटिएको उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले जनाएको छ ।

राजधानी प्योङ्याङमा फेला परेका संक्रमितको संख्याबारे भने केसीएनएले कुनै विवरण उपलब्ध नगराएको बीबीसीले जनाएको छ । चार दिनअघि प्योङ्याङमा कोरोना संक्रमण भेटिएको केसीएनएको भनाइ छ ।

दक्षिण कोरियाको राजधानी सोलमा आधारित रही उत्तर कोरियाको निगरानी गर्दै आएको एनके न्युजले भने कोरोना भाइरसबारे पछिल्लो विवरण सार्वजनिक हुनुअघि नै प्योङ्याङमा दुई दिनसम्म लकडाउन लागू गरिएको दाबी गरेको छ ।

त्यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भेरियन्टको भएको पनि पाइएको समाचारमा जनाइएको छ । संक्रमण पुष्टि भएपछि उत्तर कोरिया सरकारले यसलाई राष्ट्रिय संकटको अवस्थाको रुपमा घोषणा गरेको समेत जनाइएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना महामारीलाई नियन्त्रण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको केसीएनएले जनाएको छ ।

यद्यपि उत्तर कोरियामा यसअघि नै कोरोना भाइरस देखिसकेको भएपनि सरकारले यसबारे जानकारी उपलब्ध नगराएको टिप्पणी हुँदै आएका छन् ।

कोरोना भाइरसविरुद्ध अन्तर्राष्ट्रिय खोप कार्यक्रममा सहभागी नभएका कारण उत्तर कोरियाका २ करोड ५० लाख जनसंख्या संक्रमणको उच्च जोखिममा रहेको समेत जनाइएको छ ।

यसबाहेक उत्तर कोरियाको कमजोर स्वास्थ्य संरचनाका कारण पनि खतरा उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि आफ्नो मुलुकमा कोरोना भाइरस रोक्न भन्दै उत्तर कोरियाले सन् २०२० मा नै आफ्नो सीमानाका बन्द गरिदिएको थियो ।

यसबाट विदेशबाट हुने अत्यावश्यक वस्तुको आपूर्ति ठप्प हुँदा खाद्यान्नको अभाव र त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर पुगेको बीबीसीले जनाएको छ ।

केसीएनएका अनुसार सर्वोच्च नेता किमले भाइरस नियन्त्रण गर्न ‘सर्वाधिक आपतकाल’ को घोषणा गरेका छन् । यससँगै केही स्थानमा लकडाउन र कार्यक्षेत्रमा विशेष बन्देजको व्यवस्था मिलाइएको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच आफ्नो मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित देखिएको घोषणा गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले छोटो दूरीको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

राजधानी प्योङ्यङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको जापानको एनएचके प्रसारण संस्थाले जनाएको छ ।

दक्षिण कोरियामा नयाँ कन्जरभेटिभ राष्ट्रपति युन सुक इयोलले शपथ ग्रहण गरेपछि उत्तर कोरियाले पहिलो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । यो यस वर्षको उत्तर कोरियाको १६ औं हतियार परीक्षण रहेको रोयटर्सले जनाएको छ ।

यसअघि गत शनिबार उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र पनडुब्बीबाट प्रहार गर्न सकिने किसिमको रहेको जनाइएको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० लाख पुग्यो

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसले अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता हालसम्म १० लाख मानिसले ज्यान गुमाएको जानकारी दिएको हो ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘दुखद कोसेढुङ्गा’ को रुपमा टिप्पणी गरेका छन् । उनले कोरोना भाइरसका कारण भएका हरेक मृत्युलाई ‘विस्थापन गर्न नसकिने क्षति’ को रुपमा टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण भएको मृत्युको आधिकारिक तथ्यांक विश्वकै सबैभन्दा धेरै हो । यद्यपि विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने विश्वका अन्य मुलुकमा कोरोना भाइरसबाट यो भन्दा धेरै मानिसहरूको मृत्यु भएको आशंका गर्दै आएको छ ।

यसबाहेक अमेरिकामा हालसम्म ३३ करोड कूल जनसंख्या मध्ये अमेरिकामा ८ करोड भन्दा धेरै मानिस कोरोना भाइरसबाट संक्रमित भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा सर्वप्रथम सन् २०२० को जनवरी २० मा पहिलो पटक कोरोना भाइरसको संक्रमित फेला परेका थिए ।

चीनमा उड्न लागेको विमानमा आगलागी

चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ ।

११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ ।

सामान्य घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चीनको सरकार सञ्चालित अखबार पिपुल्स डेलीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा आगलागी भइरहेको विमानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । त्यस्तै भिडियोमा उद्धारकर्मी तथा अग्नि नियन्त्रकहरूले विमानमा पानी हालिरहेको समेत देखिन्छ ।

तिब्बतको न्यिङ्चीका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका सदस्यले ‘असामान्य’ गतिविधि भएको थाहा पाएर विमानको उडान स्थगित गरेका थिए । त्यसपछि केही बेरमा विमानमा आगलागी भएको एएफपीले जनाएको छ ।

विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन् ।

उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको तर युक्रेन र रुसबीच जारी द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताए ।

विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही न केही गर्नुपर्ने उनको भनाइ छ । विश्वका मुलुकहरूलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरू लक्षित गर्न उनले आग्रह गरे ।

उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको खाद्य सुरक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

अष्ट्रियाको राजधानी भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनेले सो कुरामा जोड दिएका हुन् ।

रुस युक्रेनबीच जारी द्वन्द्वका कारण इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाइ छ ।

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच छलफल

चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच छलफल भएको छ । दुई देशका विदेशमन्त्रीबप्च भिडियोमार्फत् वार्ता भएको हो ।

उनीहरूका बीचमा भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरूमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्वितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्द रुपमा अघि बढ्ने बताएका थिए ।

उनले चीन सधैँ पाकिस्तानमा शान्ति र विकासका पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको सो वार्ताका क्रममा बताएका थिए ।

जवाफमा बिलावल भुट्टोले आफूले पाकिस्तानको विदेश मन्त्रीका रुपमा चिनियाँ विदेशमन्त्रीसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए ।

उनले आफू पाकिस्तानको विदेश मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीनका विदेशमन्त्रीसँग कुराकानी गरेको पनि उल्लेख गरेका छन् ।

उनले चीनसँग पाकिस्तानको विशेष प्रकारको सौहार्द सम्बन्ध रही आएको र आगामी दिनमा पनि यो निरन्तर रहने बताएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ५९ बजे

औलोका सात जना बिरामी भेटिए

चितवन– चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी

ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्तत: सवारीचालकले प्रयोग गर्न पाउने

इजरालयमा माइक्रोसफ्टको भवननजिकै मिसाइल आक्रमण, अमेरिका भन्छ- खामेनेईको एक आदेशमा इरानले आणविक बम बनाउँछ

जेरूसेलम- इरानले इजराइलको बिर्शेबा सहरमा शुक्रबार बिहान ब्यालिस्टिक मिसाइल आक्रमण

पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने

काठमाडौं– नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट