सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक | Khabarhub Khabarhub

सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायतले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सचिव न्यौपानेले विज्ञानसम्मत् गणनालाई संस्थागत गर्ने ऋषि परम्परालाई पुनर्जागरण गरिनुपर्ने बताए ।

“राष्ट्रिय–पञ्चाङ्गलाई मोबाइल एप्लिकेसन बनाएर हत्केलामा पुर्‍याउनुपर्छ, प्रविधिसँग जोडियो भने यो विधा सर्वस्वीकृत हुन्छ, प्रत्येक दिन हुने सूर्योदय र सूर्यास्तको गणना गर्ने ज्योतिष शास्त्रीय विधि विज्ञानसम्मत छ, सबै धर्मावलम्बीका लागि ग्रह गणना गर्ने विधि एकै हो”, उनले भने ।

सहकारी, संस्थागत विद्यालयलगायत विभिन्न सङ्घसंस्थाले निकाल्ने भित्तेपात्रोलाई स्वीकृति दिई नियमन गर्ने कामको जिम्मेवारी पनि समितिलाई दिएको सचिव न्यौपानेले जनाए ।

भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो ।

पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न पनि उनले आम जनतामा आह्वान गरे ।

यससम्बन्धी जागरण फैल्याउनुपर्नेमा मन्त्रालयको जोड छ । समितिको स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।

अर्को वर्षदेखि राष्ट्रिय–पञ्चाङ्ग फागुनमै प्रकाशन गर्न, गोजी पात्रो, भित्तेपात्रो पनि प्रकाशन गर्न, वर्षमा एकपटक पण्डित एवं ज्योतिषिको सम्मेलन गर्न पनि सचिव न्यौपानेले समितिलाई निर्देशन दिए ।

धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले पञ्चाङ्ग ब्रह्मवाक्य भएकाले यसको अभावमा राज्य अन्धकार हुने बताए ।

सबै कुराको निर्देश पञ्चाङ्गले गर्ने भएकाले यसको उपयोगिताका विषयमा सबै जानकार हुनुपर्ने उनको भनाइ छ।

पञ्चाङ्गमा राखिएका ग्रहगतिलगायत विषय आकाशीय ग्रहसँग मिलेको छ कि छैन भनी अध्ययन अनुसन्धानको व्यवस्था गर्न धर्मशास्त्रविद् गौतमले सरकारसँग माग गरे ।

आफ्नो नौवर्षे कार्यकालमा मन्त्री, सचिवलगायत उच्च अधिकारीलाई पटकपटक भन्दा पनि कार्यान्वयन नभएको विषयले अहिले साकार रूप लिँदा खुसी लागेको उनको भनाइ थियो ।

समितिका सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले कर्मकाण्ड, ज्योतिष र पुराण वाचनलाई व्यवस्थित गर्न मन्त्रालयले ध्यान दिनुपर्ने बताए । धर्म, संस्कृतिका विषयमा विश्वलाई बाटो देखाउने काम नेपालको भएकाले त्यसअनुरूप नेपालले पहिले काम गरेर देखाउनुपर्नेमा उनको जोड थियो ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिषशास्त्र विभागका प्रा. डा. माधवप्रसाद पाण्डेयले सरकारले पञ्चाङ्ग प्रकाशन गरेको आजको दिन ऐतिहासिक बनेको उल्लेख गर्दै पात्रोमा प्रयोग भएको ग्रहगति र आकाशीय ग्रहगतिका विषयमा अध्ययन अनुसन्धानको व्यवस्था गर्न माग गरे ।

समितिलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिनुपर्ने उनले बताए ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले व्यक्तिगत तवरबाट प्रकाशन भएको पात्रोका आधारमा राज्यले काम गर्नुपर्ने समयको अन्त्य भएको बताए ।

विक्रम सम्वत् २०२५ मा स्थापना भएको समितिको गठन आदेश गत वर्ष स्वीकृत भएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढुङ्गेलले जनशक्तिको अभावका कारण काम गर्न कठिनाइ भएको सुनाए ।

देशभर ५० देखि ७० हजार भित्तेपात्रो प्रकाशन गर्न ठूलो धनराशि खर्च हुने उल्लेख गर्दै उनले यसलाई समितिले व्यवस्थित गर्न लागिपरेको बताए ।

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले समितिले धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नुपर्ने बताए ।

महिला ज्योतिष सङ्घकी अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले समितिको गठन आदेश जारी हुनुअघि ११ सदस्यीय समिति रहेकामा हाल घटाएर सात जनामा सीमित गरिनु उपयुक्त नभएको बताइन् ।

समितिमा जनजातिको पनि प्रतिनिधित्व हुनुपर्ने उनको माग छ ।

बजारमा निस्कने अन्य पात्रोभन्दा ठूलो आकारको अक्षर ठूला भएको यो पात्रो हेर्न सहज हुनेछ । आकर्षक कागजमा ६० पृष्ठमा छापिएको पात्रोको मूल्य व्यक्तिगत १५० र संस्थागत ५०० तोकिएको छ । पञ्चाङ्गको सम्पादक मण्डलमा समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, मन्त्रालयका संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाईं, कार्यकारी निर्देशक ज्योतिष पण्डित ढुङ्गेल र उपप्राध्यापक डा. पुरुषोत्तम भट्टराई रहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १० : ५५ बजे

पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने

काठमाडौं– नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला