भजनी- कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ ।
उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि शङ्कर निकै चिन्तित छन्। जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमा समेत जान सकेका छैनन्।
बैंकबाट ऋण निकालेर व्यवसाय गरेका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए। “एक हजार २०० भन्दा बढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए”, शङ्करले भने, “बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।” उनले कहिले दैवी प्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताए।
यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गरेका छन्। तीन बिघा क्षेत्रमा केरा खेती गर्नुभएका दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने भएका छन्। पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडा बोध भएको छ । “एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पार्यो, पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ऋण कम गर्ने योजना थियो, सबै योजना चौपट्ट बनायो”, दिनेशले भने, “कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ऋण !”
दिनेशले केराको बीमा गरेका छन् । बिमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बिमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताए। उनले किसानले बीमा बैंकको ऋणको लागि मात्रै गर्ने गरेको बताए। टीकापुरकै विनोद शाहले २०५८ सालदेखि केरा खेती गर्दै आएका छन् । उनले अहिले पनि ५५ बिघा क्षेत्रफलमा केरा खेती गरिराखेका छन्। टीकापुरमा व्यावसायिक केरा खेती सिकाउने व्यक्तिमध्येको एक विनोदको दुई हजार ५०० भन्दा बढी केराका बोट हावाहुरीका कारण नष्ट भएका छन् ।
“मेरो केरा सानै भएका कारणले धेरै क्षति भएको छैन, जुन घारी तयार भएका थिए ती सबै ढलेका छन्”, विनोदले भने, “अरू किसानको हेर्दा यसलाई मैँले सामान्य लिएको छु तर, कतिपय किसानको ६० देखि ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको देखिन्छ ।”
केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केराका बोट नष्ट गरेकोभन्दा बढी चिन्ता केराको बेर्ना नष्ट गरेकोमा बढी चिन्ता भएको छ । १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्व दिँदै आएका छन् । उनले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आएका हुन् । तर, शनिबारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको टेकेन्द्रले बताए।
“मैँले दुई लाखभन्दा बढी बेर्ना उत्पादन गरेको थिए, अहिले पनि मसँग डेढ लाख बेर्ना छन्, हावाहुरीले टनेल उडाएपछि बेर्ना घामबाट जोगाउन निकै मुस्किल भएको छ” टेकेन्द्रले भने, “आजसम्म मैँले टनेल बनाउन सकिनँ भने मैँले एउटा केराको बेर्ना पनि जोगाउन सक्ने अवस्था नरहँदा मलाई लाखौँको क्षति पुग्छ ।” उनले १२ बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ६० देखि ७० प्रतिशत क्षति भएको बताए।
टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण करिब एक सय बिघा क्षेत्रमा लगाएको केरा पूर्ण रुपमा नष्ट भएको अनुमान गरिएको छ । अहिले टीकापुरमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएका तीन सयभन्दा बढी किसान छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौँ रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ । टीकापुरलाई केराको पकेट क्षेत्रको रूपमा हेर्ने गरिन्छ ।
उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताएका छन् । उनले अनुगमनपछि मात्रै केराको क्षतिबारे यकिन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुपमा मातहतको मन्त्रालयमा पठाइने बताए।
“किसानको भनाइअनुसार करोडौँको क्षति भएको भन्ने छ, हामी अनुगमन गर्दैछौँ, अनुगमनपछि क्षतिबारे थाहा हुन्छ”, प्रमुख जोशीले भने, “त्यसपछि राहतको लागि मन्त्रालयलाई पत्राचार गर्ने र केराको बीमा गरेको किसानलाई बीमा कम्पनीसँग समन्वय गरेर क्षतिपूर्ति दिलाउने काममा समन्वय गर्नेछौँ ।”