२०५७ सालमा प्रहरी सेवामा रहँदै गर्दा गोविन्द थपलियाले प्रहरी नायव उपरीक्षक डीएसपी पदबाट राजीनामा दिए। प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी १५ वर्षदेखि कृषिलाई आफ्नो कर्मको रुपमा अगाडि बढाउन सफल भएका छन्। उनको दैनिकी कृषि फार्म ग्रोमा चलिराखेको छ। उनले आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्छ भन्ने सोच बनाएर कृषि पेशालाई अंगालेका हुन्। उनी श्रीमती र परिवारको साथ सहयोग र आफ्नो मिहिनेतले आज कृषि पेशाको माध्यमबाट आफूलाई स्थापित गराउन सफल भएका छन्।
विस २०६३ सालदेखि काभ्रे जिल्लाको पाँचखाल नगरपालिका ११ को खरेलथोकमा गोविन्द थपलियाले कृषि फार्म ग्रो सञ्चालन गर्दै आएका हुन्। १५ वर्षदेखि काभ्रे जिल्लाको पाँचखाल नगरपालिका ११ को खरेलथोकमा ५५ रोपनी जग्गामा थपलियाले कृषि फार्मका साथै पशुपालन गर्दै आएका हुन्। २०४४ सालमा थपलिया नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए। प्रहरी सेवामा लाग्दै गर्दा आफ्नै केही व्यवसाय गनुपर्छ भन्ने सोच सधै आएपछि उनले प्रहरी सेवा छोडेका हुन्।
हुँदा खाँदाको जागिर छोडेर कृषि पेशामा
प्रहरी सेवामा लागेर मान प्रतिष्ठा कमाइए पनि पहिलेदेखि व्यवसायका रुपमा कृषि क्षेत्रमा अगाडि बढ्ने सोच उनमा थियो। सोही अनुरुप, २०५७ सालमा सेवामा रहँदै गर्दा प्रहरी नायब उपरीक्षक डीएसपी पदबाट थपलियाले राजीनामा दिए। थपलियाले आफूलाई व्यवसायको लागि जन्मेको जस्तो महसुस गर्थे। केही समयको आरामपछि उनले २०६३ सालमा कृषि पेशालाई अंगाल्न थालेका हुन्।
सुरुमा आफन्त र साथीभाइले हुँदा खाँदाको जागिर छोडेर किन कृषि पेशामा लागेको भन्ने प्रश्न पनि गरेको थपलिया बताउँछन्। परिवालाई सम्झाएर घर परिवारमा पनि त्यही कुरा कही न कही उठ्यो। उनले ५२ रोपनी जग्गामा कृषि खेती सुरु गरेका हुन्। जंगल फाँडेर उनले खेतीयोग्य जमिन बनाए। ११ वर्षदेखि अरुले नै खेती गरेका थिए। जसका कारण रासानियक मलले माटो बिग्रिसकेको थियो। माटो मलिलो बनाउन उनलाई २ वर्ष जस्तो लाग्यो। माटो मलिलो बनाएसँगै फार्म ग्रोको सुरुवात गरेको उनको भनाइ छ। कृषिमा लगानी जुटाउन केही रकम उनकै साथमा थियो। त्यसमा थप बैंकबाट पनि कर्जा लिए। यसरी आफ्नो कृषि कर्मलाई अगाडि बढाएको थपलिया बताउँछन्।
उनले सिजन अनुसारको तरकारी खेती लगाउँदै आएका छन्। पशुपालन व्यवसायलाई पनि निरन्तरता दिएका छन्। यहाँबाट उब्जनी भएका तरकारी काठमाडौँका विभिन्न होटलमा तथा व्यवसायीलाई ब्रिकी गर्ने गरिएको उनको भनाइ छ। पशुपालनका रुपमा बोइलर, लोकल कुखुरा कालो कुखुरा टर्की, बोयर प्रजातिका ब्राखा, गाई र भैंसी रहेका छन्। जहाँ १५ हजार बोइलर कुखुरा रहेका छन्। त्यस्तै दुई हजारको संख्यामा लोकल कुखुरा रहेका छन्। यस्तै कालो कुखुरा तीन सयदेखि ४ सय सम्मको हाराहारीमा छन्। यस्तै टर्की प्रजातिका ५ सयको हाराहारीमा कालिज ६ सयको हाराहारीमा बोयर प्रजातिका बाख्रा दुई सय जति छन् । त्यस्तै बंगुर दुई सय र गाई र भैँसी पालन पनि गरिएको छ।
‘अहिले हामीले पालेको गाई, भैंसी बाख्रा कुखुराबाट मल खेतीमा प्रयोग गरिरहेका छौँ। हाम्रो खेतमा मौसमी तरकारी लगाउँदै आएका छौँ’, उनले भने। टनेल भएको भएर गोलभेडा १२ महिना लगाउने गरेको उनको भनाइ छ। काउली, बन्दा, मुला लसुन, प्याज, सिमी धनियाँ खुर्सानी लगायतका २०/२५ वटा तरकारी मौसम अनुसार लगाउने उनको भनाइ छ।
कृषि उत्पादनमा बिचौलियालाई प्रवेश निषेध
तरकारीसँगै उनले पशुपालन पनि गरेका छन्। पशुपालनमा गर्दा यसमा मुनाफा बढी हुने उनको भनाइ छ। उनले उत्पादन गरेको तरकारीसँगै त्यहाँ उत्पादित मासुसमेत काठमाडौं ल्याउने गरेका छन्। ‘हामी हाइजेनिक एन्टिबायोटिक मासुजन्य आइटमलाई मिट मेकरबाट प्रशोधित गरेर सुपरमार्केट, ग्रोसरी स्टोर लगायत अन्यमा निर्यात गर्ने क्रममा छौँ’, उनले भने, ‘अनलाइनमा, होटेल क्याटरिङमा पनि मासु निर्यात गरिरहेका छौँ। यस्तै हाम्रो फार्ममा उत्पादन भएको तरकारीलाई बीचमा बिचौलियाको प्रवेशलाई अलि कम गरेर बिक्री गदै आएका छौँ।’
पशुबाट निस्केको जैविक मललाई कृषि खेतीमा प्रयोग गर्दैै आएको उनको भनाइ छ। ‘मेरो एक सय वटा जति स्थानीय क्लाइन्ट हुनुहुन्छ जो होटेल रेष्टुरेण्ट क्याटरिङमा जान्छ। नपुगेर ७५ प्रतिशत अन्य अर्गानिक फार्मबाट आयात गर्नुपर्ने अवस्था छ।’
सुरुवातीमा कृषिबाट उब्जाउ भएको तरकारीलाई बजारसम्म लानको लागि केही अप्ठ्यारो भए पनि अहिले सहज बन्दै गएको उनको अनुभव छ। ‘म प्रहरी सेवाबाट कृषिमा लाग्छु भनेर आएको हुँ। हार खाइन्। किनभने म मात्र लागेको थिइन्। १÷२ वर्ष हुँदै गएपछि आफनो फार्ममा काम गर्ने माछे पनि राखेँ। सबैलाई रोजगार दिन पाउनुभनेको त आफैमा ठूलो कुरा थियो। जसका कारण मिहेनत सगँसगैँ धैर्यतालाई आफूसँगै राखेँ जसका कारण त्यसले विस्तारै आफनो उचाइ लिन थाल्यो’, उनले भने।
परिवारको साथ
अहिले उनीसँगै उनको कृषि कर्ममा उनकी श्रीमतीसमेत सक्रिय छन्। साथमा काम गर्ने स्टाफ पनि छन्। काठमाडौँमा रहेको मिट मेकरमा छोरा बस्छन्। उनी परिवारको साथबाट व्यवसाय सञ्चालन गरेर अगाडि बढ्दा सन्तुष्टि मिलेको बताउँछन्। उनको कृषि फार्ममा बुटवल अछाम, विराटनगर लगायतका ठाउँबाट हेर्न र अवलोकन गर्न किसान पुग्ने गरेका छन्। त्यसरी आउनेलाई निःशुल्क जानकारी दिने उनको भनाइ छ।
‘नेपालमा कृषि पेशालाई आधुनिकीकरण गर्न अब केही समय लाग्ला तर, पनि कसरी कृषि उब्जाउ बढाउन सकिन्छ भन्ने ज्ञान अझै पनि सबैमा छैन्। यसमा चाहिँ सबैले केही सिकेर अगाडि बढ्ने हो भने हामीले अन्य देशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुँदैन’, उनले भने।
कृषि पेशालाई आत्मनिर्भर बनाउन कसरी लाग्ने भन्ने ज्ञानको कमी नेपालीमा रहेको उनको बुझाइ छ। आम्दानी हुँदैन भनेर कृषि पेशा नगर्ने प्रचलनलाई तोड्नुपर्ने उनले सनुाए।
‘कृषि पेशा भन्ने बित्तिकै शिक्षित मानिसले छुनु हुँदैन भन्ने सोच पनि छ। त्यसलाई परिमार्जन गर्नु आवश्यक छ। कृषि पेशामा लाग्न मिहिनेतको नि त्यत्तिकै जरुरी छ। आजको समयमा सबै युवा बर्ग कृषिमा नाफा छ भनेर सुनिश्चित हुन नसकेका कारण विदेशीने क्रम बढ्दो छ। त्यसलाई परिर्वतन गर्नु आवश्यक रहेको उनको भनाइ छ।
‘कृषिमा राज्यले अहिले धेरै लगानी गरेको छ । तर, सो लगानी सही रुपले र सही ठाउँमा छैन। किनभने दक्ष जनशक्ति बाहिरिनेक्रम बढ्दो छ। अहिले नेपालमा कृषि क्षेत्रमा आधुनीकीकरण केही ज्ञान र तालिम अभावका कारण नेपालको कृषि पेशा अछाडि परेको छ। केही मात्रामा सरकारले पनि कृषि क्षेत्रको बारेमा युवा जमातलाई बुझाउन नसक्दा विदेशिने युवाको जमात बढ्दो छ। अलिकति युवा जमातमा पनि देशमा नै कृषि क्षेत्रमा लाग्न हत्तोसाहित हुन्छन्।
८० देखि ९० जनालाई रोजगारी
विदेशमा कृषि फार्ममा नै जान चाहिँ रुचाउँछन्। तर, नेपालमा त्यही पेशा गर्न रुची राख्दैनन्। त्यो परिपार्टीलाई केही हदसम्म हटाउर्नु पर्ने देखिन्छ’, उनले भने। अहिले सरकाले बिना धितो ५ लाख क्रण उपलब्ध गराउँदै आएको छ। नेपालमै केही गर्न चाहनेले कृषिका लागि सो क्रण लगानी गर्न सक्छन्। हामीले दक्ष जनशक्क्तिलाई यही परिचालन गर्न सकेको खण्डमा देशको आर्थिक क्षेत्रमा ठूलो मात्रामा फड्को मार्ने उनको बुझाइ छ।
यो पेशामा लागेर आर्थिक उन्नति नभए पनि अहिले ८० देखि ९० जनालाई रोजगारी दिएको उनको भनाइ छ। आफूमा धैर्यता आत्मविश्वास र मिहिनेतलाई लगाव दिएर अगाडि बढ्ने सकेको खण्डमा सफल हुनसकिन्छ भन्ने आत्मविश्वास रहेको उनले सुनाए। नेपालमा अवसरको खाँचो छ भन्नेका लागि कृषि फार्म ग्रोका सञ्चालक गोविन्द थपलिया प्रेरणाको स्रोत बन्नसक्छन्।
प्रतिक्रिया