अत्यधिक वर्षाले किसानलाई नोक्सानी « Khabarhub

अत्यधिक वर्षाले किसानलाई नोक्सानी


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ। लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्याएको छ। यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो। “हामीले सबै पालिकामा लगातारको वर्षाले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ”, उहाँले भन्नुभयो, “हालसम्म निसीखोलाको कागती र किबीखेतीमा क्षति पुर्याएको छ भने राम्रो धानबाली हुने क्षेत्रमा केही धान ढलेको पाइएको छ।”

निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मीको किबी फार्ममा बाढी पसेर क्षति पुर्याएको छ भने निसीखोलाकै रमिलाल क्षेत्रीको कागतीको बगैँचा बगाएको छ। जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका केही क्षेत्रमा धानबाली पानीले ढलाएको छ। अत्यधिक वर्षाका कारण धानबाली ढलेको कृषकले बताएका छन्। बागलुङको दक्षिणि क्षेत्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा लगातार परेको वर्षाका कारण हिउँदे बालीमा क्षति पुर्याएको छ। बाला पसाउन लागेको धान र कोदोबाली तथा तरकारी बालीमा नोक्सानी पुर्याएकोे जैमिनी–१० किटेनीका नरबहादुर छन्त्यालले बताए।

बागलुङमा गत वर्ष पाँच हजार आठ सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो भने यो वर्ष छ हजार हेक्टर जमिनमा धानखेती गरिएको छ।

ठूलोगाउँका छ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण पहिरो जाँदा काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन्। गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयवासीले बताए।

स्थानीय जङ्गबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित छ परिवारको घर पहिराको उच्च जोखिममा परेको छ। घरभन्दा एक सय मिटर तलबाट निरन्तररूपमा जमिन चिरा–चिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जङ्गबहादुरले बताए।

घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन्। पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिराका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिए।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ५४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन