विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस् :

आज फागुन २९, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १३, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

रुसद्वारा युक्रेनी सैनिक तालिम केन्द्रमा आक्रमण

रुसी फौजले पोल्यान्डको सीमानजिक रहेको युक्रेनी शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेका छन् । रुसी फौजले पोल्याण्डको सीमा नजिक रहेको याभोरिभ शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा केन्द्र नामक सैनिक केन्द्रमा आक्रमण भएको जनाइएको छ ।

रुसी फौजले त्यहाँ ३० भन्दा धेरै रकेट हमला गरेका थिए । आक्रमणमा ९ जनाको मृत्यु भएको र अरु ५७ जना घाइते भएको लभिभ क्षेत्रका गभर्नर माक्सिम कोजेत्स्कीले जानकारी दिएका छन् । उद्धारकर्ता तथा अग्नि नियन्त्रकहरू त्यहाँ लागेको आगो निभाउन खटिरहेको जनाइएको छ ।

उक्त केन्द्र पोल्यान्डको सीमाभन्दा केबल १० किलोमिटरको दूरीमा छ। २९० वर्गकिलोमिटर क्षेत्रफलमा रहेको उक्त केन्द्रमा १,७९० जनासम्म रहने व्यवस्था रहेको समाचार छ । यद्यपि रुसी आक्रमणका बेला त्यहाँ कति जना थिए भन्नेबारे केही खुलाइएको छैन ।

युक्रेनी तथा युक्रेनका नेटो साझेदार मुलुकका सैनिकलाई तालिम दिने काममा उक्त सैनिक केन्द्र प्रयोगमा रहेको जनाइएको छ ।आक्रमणका बेला त्यहाँ अन्तर्राष्ट्रिय सैनिक प्रशिक्षकहरू पनि उपस्थित रहेको युक्रेनी रक्षामन्त्री ओलेक्सेई रेज्निकोभले जानकारी दिएका छन् । यद्यपि सबै पीडितहरूको पहिचान भने गोप्य राखिने उनको भनाइ छ ।

ट्रम्पको चेतावनी – पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छन्

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धले तेश्रो विश्वयुद्धको खतरा निम्त्याएको चेतावनी दिएका छन् । साउथ क्यारोलाइना राज्यमा आयोजित -यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

‘यसले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छ ।’ ट्रम्पले भने, ‘के भइरहेको छ म हेरिरहेको छु, यदि तपाईंलाई पुटिन रोकिएलान् जस्तो लाग्छ, यो अझ खराब हुँदै जानेछ ।’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हार स्वीकार नगर्ने भन्दै अहिले उनीसँग वार्ता गर्न कोही पनि नभएको बताए । त्यसपछि उनले -यालीमा सहभागीहरुलाई सुनाए, ‘म हुँदा उनीसँग बोल्ने कोही त थियो ।’

वर्तमान राष्ट्रपति जो बाइडनप्रति लक्षित गर्दै ट्रम्पले यदी आफू राष्ट्रपति भएको भए पुटिनले युक्रेनमा हमला नगर्ने समेत दाबी गरे । ‘रुसविरुद्ध म जति कठोर कोही थिएन ।’ ट्रम्पको भनाइ थियो ।

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । यो आधुनिक साउदी इतिहासमै २४ घण्टामा सबैभन्दा धेरै जनालाई मृत्युदण्ड दिइएको घटना भएको अल जजिराले जनाएको छ । साउदी अरबको समाचार संस्था साउदी प्रेस एजेन्सी एसपीएका अनुसार मृत्युदण्ड पाउनेमा ७ जना यमनी नागरिक र एक जना सिरियाली छन् ।

‘यी मानिसहरू अबोध पुरुष, महिला र बालबालिकाको हत्या लगायत विभिन्न किसिमका अपराधमा दोषी पाइएका थिए ।’ एसपीएलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।‘यिनीहरूमध्ये केही इस्लामिक स्टेट, अल कायदा र हुथी समूहजस्ता विदेशी आतङ्कवादी समूहमा समेत भर्ती भएका थिए ।’

मृत्युदण्ड पाउनेमध्ये ३७ साउदी नागरिक सुरक्षा अधिकारीको हत्या प्रयास र प्रहरी चौकी र लस्करमाथि आक्रमणमा दोषी पाइएका थिए । सन् २०२१ मा साउदी अरबले ६७ जनालाई मृत्युदण्ड दिएको थियो भने सन् २०२० मा त्यहाँ २७ जनाले मृत्युदण्ड पाएका थिए ।

पछिल्लो समय एकैदिन सन् २०१६ को जनवरी महिनामा ३७ जनालाई मृत्युदण्ड दिइएको थियो ।

किभको रक्षाका लागि युक्रेन तयार

युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि तयारी गरेको समाचार छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मबल रुससँग नभएको बताएका छन् ।

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । रणनीतिक बन्दरगाह सहर मारिउपोलले “मानवीय प्रकोप“ को सामना गरिरहेको जनाइएको छ । त्यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सय भन्दा बढी नागरिक मारिएका छन् ।लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरिउपोल अझै पनि घेरिएको छ ।

“दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,“ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले बताएका छन् ।

इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण

इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको छ । कुर्दिस अधिकारीहरूले यी क्षेप्यास्त्रहरू इराक बाहिरबाट प्रहार गरिएको जनाएका छन् । इराकको सरकारी टेलिभिजनले पनि कुर्दिस्तानको प्रतिआतङ्कवाद बललाई उद्धृत गर्दै इराकबाहिरबाट प्रहार गरिएका १२ क्षेप्यास्त्र अर्बिलमा खसेको पुष्टि गरेको हो ।

यद्यपि यी क्षेप्यास्त्रबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । अर्बिलको कुन ठाउँमा क्षेप्यास्त्र खसेको भन्ने स्पष्ट नभएको रोयटर्सले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोहरूमा भने ठूलो विष्फोटको आवाज आएको सुनिन्छ । ती भिडियोको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

आइतबार अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले घटनालाई ‘घोर आक्रमण’ भन्दै निन्दा गरेका थिए । यद्यपि उनले यस घटनामा अमेरिकी नागरिक वा अमेरिकी भवनमा कुनै क्षति नपुगेको बताएको रोयटर्सले जनाएको छ ।

अर्बिलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी यसअघि पनि रकेट आक्रमण हुँदै आएका छन् । यसअघि सन् २०२० को जनवरी महिनामा इरानी सेनापति कसिम सुलेइमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि अर्बिलमा रहेका अमेरिकी फौजलाई लक्षित गरी रकेट आक्रमण भएका थिए ।

पछिल्लो आक्रमण इराकबाहिरबाट भएको भनिएपनि कुन ठाउँबाट कसले आक्रमण गर्यो भन्ने स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ । आक्रमणको कुनै समूहले पनि जिम्मा लिएको छैन ।

रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त

रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त गरिएको छ । दक्षिणपूर्वी शहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरिएको हो । ‘जापोरोजे क्षेत्रीय प्रशासन’ ले उनलाई नयाँ मेयर नियुक्त गरेको अमेरिकी टेलिभिजन सीएन्एनले जनाएको छ ।

यसअघि शुक्रबारमात्रै शहरका मेयर इभान फेदोरोभलाई सशस्त्र मानिसहरूको समूहले नियन्त्रणमा लिएका थिए । मेयर फेदोरोभमाथि आतङ्कवादी गतिविधि गरेको अभियोग लगाइएको थियो ।

नयाँ नियुक्त गरिएकी मेयर गलिना डानिलचेन्को नगर परिषद्की पूर्व सदस्य समेत रहेको जनाइएको छ । स्थानीय टेलिभिजनले अनिर्वाचित डानिलचेन्कोलाई ‘कार्यवाहक मेयर’ भन्दै सम्बोधन गरेको सीएनएनले जनाएको छ ।

स्थानीय टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले शहरलाई जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्काउनु आफ्नो प्राथमिक उद्देश्य रहेको जनाएकी छिन् ।

उनले शहरमा अस्थिरता मच्चाउन चाहने अझै केही मानिसहरू रहेको भन्दै उक्त शहर र क्षेत्रमा व्याप्त गम्भीर समस्याको समाधान गर्न ‘जनताको छनौट समिति’ समेत गठन गर्ने प्रस्ताव अघि सारेकी छिन् ।

कोरोनाविरुद्ध फ्रान्समा चौथो डोजको खोप सोमबारबाट

फ्रान्समा कोरोना भाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरूले सोमबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका हुन् ।

पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ । शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले वृद्धवृद्धाहरूबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिएका छन् ।

प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने वर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उहाँको भनाई थियो । फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका मानिसहरूको सङ्ख्या ४१ लाख रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ती मध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ ।

फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

युक्रेनको मानवीय अवस्था बिग्रँदै गएको रुसी सेनाको दाबी

युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रँदै गएको र धेरै सहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७औँ दिन शनिबार ‘विशेष सैन्य कारबाही’का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।

‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रँदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भनेका छन्।

युक्रेनी राष्ट्रबादीहरुले आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत्, पानी, खाद्यान्न र औषधिबाट वञ्चित भएको उनले बताए ।

दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रबादीहरुले घेरा हालेको सहरमा लाखौँ मानिस फँसेको उनले बताए । ‘विदेशीसहित लाखौँ मानिसहरूलाई राष्ट्रबादीहरुले नियन्त्रणमा लिएका छन् ’, उनले भने ।

युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।

चीनमा कोरोना संक्रमित बढ्न थाले

चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरू बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या १ हजार ८०० भन्दा बढी पुगको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ हजार ८०० भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।

सो कमिसनका अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । शनिबार भेटिएका १ हजार ८०७ जनामध्ये जिलिनमा मात्र १ हजार ४०० भन्दा बढी संक्रमित पाइएको छ । जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा हरेक दिन सङ्क्रमितको संख्या बढ्दै गएको पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि सरकारले कोरोनाबाट निको भएका नागरिकहरूमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । त्यहाँका सबैजसो नागरिकलाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरूको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । त्यहाँ अहिले पनि करिब पाँच हजार जना नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका छन् ।

१३ सय युक्रेनी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् ।

२४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ ।

युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ ।

रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ०१ बजे

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड (तस्बिरहरु)

काठमाडौं – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका

नौ महिनामा एक लाख पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी– बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि

धनुषाधाम– जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार

शास्त्रले काटमार नभई अहंकार चढाउनुलाई बलि मान्छ

दशैँ भन्नासाथ त्यसको सांस्कृतिक र धार्मिक साइनो गरिन्छ। यसै समयमा