विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज चैत्र ३०, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १३, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

१ हजार बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी

रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी मारिउपोल शहरमा एक हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाको ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ सैनिकले आत्मसमर्पण गरेका हुन् ।

त्यस्तै, रुसी गणराज्य चेचेन्याका नेता रमजान कादिरोभले पनि मारिउपोल शहरमा १ हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएका थिए । उनले मारिउपोल शहरको एजोभस्तल औद्योगिक इलाकामा रहेका युक्रेनी सैनिकलाई पनि आत्मसमर्पण गर्न आह्वान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘एजोभस्तल इलाकामा अझै पनि २ सय घाइतेहरुले स्वास्थ्य सहायता प्राप्त गर्न सकेका छैनन् ।’ कादिरोभले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, ‘त्यसैले उनीहरु र अरुका लागि पनि व्यर्थको यो प्रतिरोधलाई छाडेर परिवारसँग घर फर्केको राम्रो हुन्छ ।’

यद्यपि युक्रेनी अधिकारीहरुले भने आफ्ना सैनिकले आत्मसमर्पण गरेको रुसी दाबीको खण्डन गरेका छन् । बीबीसीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सेई एरेस्तोभिचले फेसबुकमा पोष्ट गर्दै यस्तो दाबीको खण्डन गरेका हुन् ।

एजोभस्तल इलाका आसपास अझै पनि भीषण लडाइँहरू भइरहेको रोयटर्सले जनाएको छ । यदी मारिउपोलको एजोभस्तल इलाकामा कब्जा गरेको खण्डमा मारिउपोलको बन्दरगाह रुसी फौजको पूर्ण नियन्त्रणमा जाने जनाइएको छ ।

झण्डै सात साता लामो घेराबन्दीमा परेको मारिउपोलमा हजारौँको ज्यान गइसकेको हुनसक्ने जेलेन्स्कीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिले किभको भ्रमण गर्दै

छिमेकी मुलुकहरु पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिहरुले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गर्ने भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि उनीहरु किभ जान लागेको बीबीसीले जनाएको छ ।

इस्टोनियाका राष्ट्रपति अलार कारिस, पोल्याण्डका राष्ट्रपति आन्द्रेई डुडा, लिथुएनियाका राष्ट्रपति गिटनास नउसेडा र लात्भियाका राष्ट्रपति एग्लिश लेभित्सले किभको भ्रमण गर्ने समाचार संस्था एएफपीले जनाएको छ ।

जेलेन्स्कीले ‘सहयोगको संकेतस्वरूप’ ती मुलुकका राष्ट्रपतिहरुले किभको भ्रमण गर्न लागेको जनाएका छन् । उनीहरुको भ्रमण युक्रेनलाई सैनिक तथा मानवीय सहायता प्रदान गर्ने विषयमा केन्द्रित रहने बताइएको छ ।

यसअघि जर्मन राष्ट्रपति फ्राङ्क–भाल्टर स्टाइनमियरले पनि यी मुलुकका राष्ट्रपतिको समूहसँगै किभको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।यद्यपि कुनै समय जर्मन विदेशमन्त्री रहँदा रुससँग धेरै नजिक भएको भन्दै युक्रेनले उनलाई स्वागत गर्न नसकिने जनाएको थियो ।

यद्यपि निकट भविष्य मै जर्मन चान्सलर ओलाफ शोल्जले किभको भ्रमण गर्नसक्ने जेलेन्स्कीका सल्लाहकारले जानकारी दिएको बीबीसीले जनाएको छ ।

युक्रेनमा सबै लक्ष्य पूरा गरिछाड्ने पुटिनको अडान

युक्रेनमा आफ्ना सबै लक्ष्य पूरा गरिछाड्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् ।

राजधानी मस्कोबाट ५ हजार ५ सय किलोमिटर पूर्वमा रहेको भोस्तोच्नी कोस्मोड्रोम नामक अन्तरिक्ष केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा रुसले सबै उद्देश्य पूरा गरिछाड्ने अडान व्यक्त गरेका हुन् ।

कोस्मोड्रोमका कामदारले युक्रेनमा जारी ‘सैनिक कारवाही’ बाट लक्ष्य पूरा हुन्छ वा हुँदैन भनी सोधेको प्रश्नको जवाफ दिँदै पुटिनले भने, ‘अवश्य पनि, यसमा मलाई कुनै शंकै छैन ।’

आफ्ना सैनिक युक्रेनी राजधानी किभ आसपासका क्षेत्रबाट पछि हटेयता पहिलो पटक युद्धबारे पुटिनको यस्तो टिप्पणी आएको हो । त्यस्तै, उनले युक्रेनसँगको शान्ति वार्ताको बाटो बन्द भएको टिप्पणी गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार रुसी युद्ध अपराधको ‘झूटो दाबी गरेर’ र पूरै युक्रेनमा लागू हुने गरी सुरक्षा प्रत्याभूति खोजेर युक्रेन आफैँले शान्ति वार्तामा गतिरोध उत्पन्न गराएको समेत आरोप लगाए ।

‘हामी फेरि हाम्रा लागि बाटो बन्द भएको अवस्थामा फर्केका छौँ ।’ पुटिनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बाइडेनद्वारा पुटिनलाई तानाशाहको संज्ञा

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै ‘तानाशाह’को संज्ञा दिएका छन् ।राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको प्रतिक्रिया दिएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् ।

यसअघि युक्रेनले रुसको ‘युद्ध अपराध’ भने पछि रुसी राष्ट्रपति पुटिनले शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए ।

युक्रेन युद्धमा हालसम्म २० पत्रकार मारिए

युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ ।

मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो संख्या युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको युक्रेनबाट प्रकाशित हुने समाचार पोर्टल एलबीले जनाएको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् ।

युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई) का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यम विरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो ।

रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएको बताइएको छ । युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन् ।

चीनमा आईफोनको उत्पादन गर्ने कारखानाको काम ठप्प

चीनमा कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै लागू गरिएको लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना बन्द गरिएको छ ।

एप्पलका लागि आइफोन बनाउँदै आएको ताइवानी कम्पनी पेगाट्रनले चीनमा रहेका आफ्ना दुई कारखानाको काम बन्द गर्ने घोषणा गरेको छ । बीबीसीले जनाए अनुसार यस कम्पनीले साङ्घाइ शहर र नजिकैको कुनशानमा रहेका आफ्ना दुई कारखानाको काम केही समयका लागि बन्द गर्ने भएको हो ।

कम्पनीले सक्दो छिटो काम थाल्न समेत तयार रहेको जनाएको छ । यसअघि गत महिना आइफोनको जडान गर्दै आएको अर्को ताइवानी कम्पनी फक्सकनले पनि चीनको सेन्जेन शहरमा रहेको आफ्नो कारखानाको काम बन्द गरेको जनाएको थियो ।

आँधीबाट फिलिपिन्समा मृतकको संख्या ५८ पुग्यो

आँधीपछिको बाढी र पहिरोमा परी फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । उद्धारकर्ताहरुले ‘मेगी’ नामक आँधीबाट प्रभावित लेटे प्रान्तको बेबे शहर र आसपासका क्षेत्रमा थप शव फेला पारेसँगै मृतकको संख्या ५८ पुगेको समाचार संस्था एएफपीले जनाएको छ ।

बेबे शहरमा मात्रै ४७ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै, फिलिपिन्सको मिन्दानाओ टापु र मध्य फिलिपिन्सको नेग्रोस ओरिएन्टल प्रान्तमा ३–३ जनाको मृत्यु भएको त्यहाँको विपद् निकायले जनाएको छ ।

सैनिक, तटरक्षक, प्रहरी, अग्निनियन्त्रक लगायतको टोलीबाट उद्धारकार्य भइरहेको छ । यद्यपि निरन्तर पानी परिरहेकाले उद्धारकार्यमा बाधा उत्पन्न भएको छ ।

‘चुनौति यो छ की, यहाँ निरन्तर पानी परिरहेको छ र हामी तुरुन्तै पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन सक्दैनौँ ।’ फिलिपिनी सेनाका ब्रिगेड कमाण्डर नोएल भेस्तुइरलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

‘हामी मानिसहरूको ज्यान लिने र सम्पत्तिको क्षति गराउने दुर्भाग्यपूर्ण घटनाबाट स्तब्ध भएका छौँ ।’ भेस्तुइरले भने । हरेक वर्ष फिलिपिन्समा औसत २० वटा आँधी आउने बताइएको छ ।

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा २३ जनाको मृत्यु

मध्य नाइजेरियाको बेनुइ राज्यमा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । बेनुइ राज्यका दुई बस्तीमा बन्दुकधारीको समूहले आक्रमण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बन्दुकधारीले राज्यको गुमा जिल्लाको म्बड्वेम गाउँ र तारका जिल्लाको टिरोट्यु गाउँमा पसेर आक्रमण गरेको र यसक्रममा कम्तीमा पनि २३ जना मारिएको राज्यका गभर्नरको कार्यालयका प्रवक्ता नथानियल इक्युरले जनाएका छन् ।

इक्युरलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएका छन् र उनीहरुको राज्यकै अस्पतालहरुमा उपचार भइरहेको छ ।

उनले राज्यका गभर्नरले आक्रमणको निन्दा गरेको र सुरक्षा निकायहरुलाई अपराध नियन्त्रण र मानिसहरुको जीवन र सम्पत्तिको रक्षा गर्न आग्रह गरेको बताए ।

पछिल्ला केही महिनायता नाइजेरियामा हतियारधारीको समूहबाट हुने हिंसा उल्लेखनीय रुपमा बढेको छ भने गाईवस्तुको लुटपाट र सशस्त्र डकैतीका घटनामा पनि वृद्धि भएको छ ।

आतंकवादविरुद्ध कदम चाल्न पाकिस्तानलाई भारत र अमेरिकाको संयुक्त आह्वान

अमेरिका र भारतले संयुक्त रुपमा पाकिस्तानलाई आतंकवादविरुद्ध कदम चाल्न आह्वान गरेका छन् । दुई मुलुकका विदेश एवम् रक्षामन्त्री सम्मिलित ‘टु प्लस टु’ वार्तापछि संयुक्त विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई आफ्नो भूभाग कुनै पनि आतंकवादी गतिविधिमा प्रयोग गर्न नदिन आह्वान गरेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार विज्ञप्तिमा पाकिस्तानलाई आफ्नो भूभाग कुनै पनि आतंककारी हमलाका लागि प्रयोग गर्न नदिन ‘तत्काल, दिगो र अटल कदम’ चाल्न आह्वान गरिएको छ ।

‘आतंकवादी समूहको प्रयोग र सीमापार आतंकवादको भारत कडा निन्दा गर्दछ साथै २६/११ मुम्बई आक्रमण र पठानकोट आक्रमणका योजनाकारलाई न्यायको दायरामा ल्याउन आह्वान गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रक्षामन्त्री लोइड अष्टिन तथा भारतीय विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहबीच अमेरिकाको राजधानी वाशिंटन डीसीमा वार्ता भएको थियो ।

वर्तापछि जारी विज्ञप्तिमा दुबै मुलुकले अल कायदा, जैश ए मोहम्मद, हिज्बउल मुजाहिद्दिन, लस्कर ए तैएबा, इस्लामिक स्टेटलगायत सबै आतंककारी समूहविरुद्ध एकीकृत प्रयासमा समेत जोड दिएका छन् ।

११ अप्रिलमा वार्ता शुरु हुनुअघि दुई मुलुकका सरकार प्रमुखहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी राष्ट्रपति जो बाइेडनबीच भर्चुअल संवाद भएको थियो ।

बेलायती प्रधानमन्त्रीले राजीनामा नदिने

लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् ।

बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् ।

विज्ञप्ति जारी गर्दै सुनकले ‘बेलायती जनताको अपेक्षा पूरा गर्न’ आफू केन्द्रित रहेको बताएका छन् । यद्यपि प्रधानमन्त्री जोनसन र अर्थमन्त्री सुनकले लकडाउनमा पार्टी गरेको विषयमा प्रहरीले जरिवाना तिराएपछि यसबारे माफी भने मागेको बीबीसीले जनाएको छ ।

यसअघि प्रहरीले प्रधानमन्त्रीलाई जरिवाना तिराउने समाचार सार्वजनिक भएलगत्तै विपक्षी लेबर पार्टीका नेता सर केर स्टारमरले बोरिस जोनसनले जनतालाई बारम्बार ढाँटेको र कानून उल्लङ्घन गरेको भन्दै राजीनामा दिन आह्वान गरेका थिए ।

त्यस्तै, स्कटल्याण्डकी प्रथममन्त्री निकोला स्टर्जन र स्कटिश नेशनल पार्टी एसएनपीले पनि प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन आह्वान गरेका थिए । यसबाहेक लिबरल डेमोक्र्याट र वेल्शमा सक्रिय प्लेइड कमरीलगायतका पार्टीले पनि जोनसनलाई राजीनामा दिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

मंगलबार लण्डनको मेट्रोपोलिटन प्रहरीले प्रधानमन्त्री, प्रधानमन्त्रीकी श्रीमती र अर्थमन्त्रीले लकडाउनको उल्लङ्घन गर्दै पार्टी गरेकोमा जरिवाना तिराउने समाचार सार्वजनिक भएको थियो ।

यससँगै कानून उल्लङ्घन गरेपछि दण्ड पाउने उनी पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ०० बजे

दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा

न्युयोर्क – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेश

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन