आर्थिक

इजरायलबाट फर्केर कृषि व्यवसायमा सफलता

By खबरहब

August 13, 2022

आठ वर्ष इजरायल बसेर नेपाल फर्केपछि केही गरौँ भन्ने लाग्यो । इजरायल कृषिमा बहचर्चित भएकाले कृषि व्यवसाय र रोजगारी तथा आम्दानीको बारेमा राम्रो सिकाई पनि भयो ।

त्यहाँ सिकेको सीप र अनुभवलाई सगांल्दै नेपालमा नै केही गर्नुपर्छ भन्ने सोच आइरहेकै थियो । जसका कारण विगत ९ वर्षदेखि काठमाडौैको गोकर्णेश्वर वडा न १ र २ मा जग्गा लिजमा लिएर सालाका अर्गानिक फार्म सञ्चालन गर्ने निर्णय लिएँ ।

९ वर्षअघि सुरु गरेको गाई फार्ममा अहिले १ सय ५० भन्दा धेरै गाई पालेका छौँ । जसबाट हामीले दुध काठमाडौैको विभिन्न ठाउँमा डेलिभरी गरिरहेको छौँ । यद्यपि सरकारले ल्याएको जग्गा वर्गीकरणको विषयमा राज्यले थोरै ध्यान दिनु जरुरी देखिन्छ । जसले गर्दा कृषि योग्य जमिनको संरक्षण हुन्छ जस्तो लाग्छ ।

नेपालमा फार्म सञ्चालन गर्नुभन्दा अगाडि ८ वर्ष इजरायलमा पनि कृषि पेशामा काम गर्थे । त्यहाँको कृषि पद्धती नेपालको भन्दा धेरै नै भिन्नता छ । त्यहाँ ८ वर्ष रोजगारीका लागि कृषि पेशामा आबद्ध भए ।

८ वर्षको इजरायलको बसाईपछि नेपाल आउँदा अब चाँही आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच आयो । जसका कारण फर्केर गइन् । नेपालमा हामी परम्परागत हिसाबले कृषि प्रणालीमा लागेका छौँ । इजरायलमा भने कृषि क्षेत्रमा आधुनिकरण प्रणाली लगाइन्छ ।

जसका कारण कृषि क्षेत्रमा त्यहाँ उल्लेखीय विकास भएको मान्छु । नेपालमा ७० देखि ८० प्रतिशत जनसंख्या कृषिमा लागेको भन्छौँ । तर पनिनगण्यमात्रामा आयात बाहिरबाट भइरहेको छ । इजरायलमा ८ प्रतिशत मानिस कृषिमा लागेको भएपनि त्यहाँको कुल जनसंख्याको ८० प्रतिशतलाई धानिरहेको छ भन्ने सुन्दा अचम्म लाग्छ । तर यसले पनि त नेपालको कृषि पद्धती कस्तो छ भनेर छर्लंग देखाउँछ ।

नेपालमा नै अब केही गर्नुपर्छ भन्ने सोचेर आफुले जोहो गरेको केही रकमबाट काठमाडाँैैको गोकर्णेश्वरस्थित वडा न १ र २ मा जग्गा लिजमा लिएर सालाका अर्गानिक फार्म सञ्चालन गरेको हुँ ।

सुरुवाती चुनौति र संघर्ष सुरुमा त केही चुनौती थियो । फार्म सञ्चालन गर्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा तरकारी खेती लाउने सोचेँ । जसमा मैले टनेल खेतीलाई प्राथमिकतामा राखेर कृषि पेशालाई अगाडि बढाए । सुरुमा केही घाटा खाएँ ।

आफुले पूरा समय दिएर लाग्नुपर्ने । मलको अभाव त्यत्तिकै । जसका कारण सुरुमा केही समस्या भोग्नुपर्यो । लिजमा जग्गा लिएर अहिले मैले मेरो फार्ममा मौसम अनुसार कृषि खेतीका साथै प्रांगारिक मल बनाउनतिर बढी केन्द्रित भएको छु । मेरो डेरी फार्ममा बढी ध्यान केन्द्रित गरेको छु ।

१५० भन्दा गाईबाट दुध दोहेर काठमाडौँका विभिन्न ठाउँमा हाम्रो ग्राहक छन् । उहाँहरुलाई घरमा नै पुर्याउने व्यवस्था गरेका छौँ । जतिपनि हामीसगँ ग्राहक हुनुहुन्छ, उहाँहरु एकदम सन्तृष्ट नै हुनुहुन्छ जस्तो लाग्छ । त्यो नै मैले कमाएको आम्दानी हो जस्तो लाग्छ । जसले गर्दा हाम्रो बजारको अवस्था राम्रै छ भनौँ ।

आफ्नै दाना फ्याक्ट्री, घाँस खेती र दुध बिक्रीबाट आम्दानी यस्तै विभिन्न आउटलेटमार्फत हामीले दुध बौद्ध, कपनका आउटलेटमा पनि पुर्याउने गरेका छौँ । गाईलाई स्याहार्न केही गाह्रो भएपनि नयाँ प्रविधि अपनाएका छौँ । दुध दुहुने प्रविधिको प्रयोग गरेका छौँ । जसले गर्दा केही सहज भएको छ भनौँ । उनीहरुलाई दानापानी दिनको लागि ८३ रोपनी जग्गामा घाँस खेती लगाएका छौँ ।

हाम्रो आफ्नै दाना फ्याक्ट्री छ । तर फाइदा चाही हामीलाई घासँ खेती लगाउँदा भएको छ । किनभने गाईलाई चाहिएको जति घाँस उपलब्ध गराउँदा दुध पनि बढी दिन्छ । त्यस्तै गाईहरु बिरामी हुने सम्भावना पनि कम हुन्छ ।

यस्तै व्यवस्थापन गर्न परिवारको सदस्य नै लागि परेका छौँ । प्रांगारिक मल बनाउने ठाउँमा स्टाफ राखेका छौँ । प्रांगारिक मलहरु हामीले बनाइरहेको छौँ । गड्यौलाले खाएको मललाई हामीले छानेर मल बनाएका छौँ । कम्पोष्ट मल हामीले नि प्रयोग गरिरहेका छौँ भने बजारमा पनि उपलब्ध गराइरहेका छौँ ।

यता कहिले तरकारी खेती लगाउँदा घाटा भएको अवस्थामा ऋण लिएर अगाडि बढ्नुपर्ने अवस्था पनि आउँछ । निरन्तर खटिरहे पनि आत्मनिर्भर हुन केही गाह्रो छ भनौँ । तर पनि कृषिमा लागेर अन्य देशबाट नेपालमा आयात भइरहेको उत्पादनलाई रोक्न धेरै थोरै भएपनि भुमिका खेलेको छौँ । केहीलाई रोजगारीको अवसर दिन सफल भएका छौँ ।

कृषि पेशाको महत्व, आवश्यकता र फाइदा यो पेशा नाफामुखी त होइन । त्यही पनि हाम्रो जस्तो देशमा परिवारसँगै बसेर काम गर्न पाइन्छ । देशको लागि धेरै थोरै योगदान गर्न पाएका छौँ । हाम्रो नेपालमा कति सरकारी जगाहरु खाली छ । तर भुमाफियाका कारणले त्यसलाई कृषि गर्ने चाहने कृषकको समुहलाई दिनुको सट्टा त्यसमा पनि राजनीतिकरण भइरहेको छ ।

सरकारले जग्गाको वर्गीकरणको नाममा कृषि योग्य जमिनलाई पनि आवासीय जग्गाको रुपमा रुपान्तरण गर्न खोजेको छ । यस्तै हुने हो भने कृषियोग्य जमिन पनि चाडैँ आवासीय भवनमा परिणत भई जताततै शहरीकरणमात्र हुन बेर लाउँदैन । अर्कोतिर वर्षेनि नेपालमा अन्य देशबाट बढीरहेको आयातलाई यसले झन बढी प्रश्रय दिने देखिएको छ । सरकारले यसमा अलि विचार पुर्याउनुपर्छ जस्तो लाग्छ ।

कृषि पेशा गर्नेलाई विनाधितो १० वर्षसम्म ऋण दिनुपर्छ नेपालका कृषि पेशामा आबद्ध हुने चाहनेलाई सरकारले प्रोत्साहन गरिरेहेको देखिएपनि यस्ता नीतिले अप्रत्यक्ष रुपमा निरुसाहित गरेको देखिन्छ । यसले अब आउने पिढीलाई थप कष्टकर हुने देखिन्छ । नेपालमा राज्यले कृषि क्षेत्रको लागि अनुदान दिने गरेको जस्तो मात्र गर्छ ।

अर्को समस्या भनेको हामीले भाडामा लिएको जग्गामा, वर्गीकरणको नाममा घरहरु बनाउने काम भएको छ । त्यो हटाउनुपर्छ । जसले गर्दा कृषकले २० वर्ष कृषि खेती गर्न पायो भने सबैको फाइदा नै हुन्छ ।

त्यस्तै विना धितो र धितोमा किसानलाई ५ वर्ष ऋण उपलब्ध गराउने सरकारको नीति छ । त्यसलाई परिमार्जन गरेर १० वर्ष बनाइदियो भने अरु पनि कृषि पेशामा आउछन् कि जस्तो लाग्छ ।

मेहनत र धैर्यताको परिणाम सरकारको नीति केही फितलो हुँदा हुदैँ पनि सानोबाट सुरु गरेको फार्म आजको अवस्थामा यसलाई आउटलेटको रुपमा विस्तार गर्न पाएका छाँै । केही हदसँम्म भएपछि सफल भएका छौँ । कृषि पेशा भनेको धैर्यता चाहिन्छ । आज पशुपालनको रुपमा एक सय ५० वटा गाईहरु पालेका छौँ । कृषि पेशामा व्यवस्थापन सबैभन्दा ठुलो हो जस्तो लाग्छ ।

आर्थिक रुपमा पूर्ण रुपमा सबल हुन नसकेपनि केही हदसम्म आत्मसन्तुष्टि भने पक्कै मिलेको छ । देशमा रोजगारीको अवस्था सिर्जना नभएको कारण आज नेपालबाट विदेशिने क्रम बढ्दो छ । सरकारले थप परिमार्जित नीतिको अवलम्बन गरेर युवा शक्तिलाई यही रोक्न आवश्यक देखिन्छ ।

जसले गर्दा अन्य देशबाट आयात हुदैँ वस्तुमा नियन्त्रण होस् र युवा जनशक्तिले पनि देशमा नै योगदान दिन सक्नेछन् । यसमा सरकारको ध्यान जान जरुरी छ ।

(काठमाडौँको गोकर्णेश्वरमा रहेको सालका फार्मका सञ्चालक शेर्पासँग विद्या लामाले गरेको कुराकानीमा आधारित)