१८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने | Khabarhub Khabarhub

 १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । 

आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो ।

आसन्न निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगको अनुमान छ । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनसम्म १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । 

गत वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एक सय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली संकलन  सुरु गरेको थियो ।  सरकारले यही साउन १९ गते आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलनको काम स्थगन गरेको थियो । 

आगामी भदौ १२ देखि १९ गतेसम्म निर्वाचन कार्यालयमा पुगी मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारको सदस्यको मृत्यु भएमा हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न सकिनेछ । 

नामावली अद्यावधिक गर्न इमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिन सकिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ०७ बजे

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक

राष्ट्रसंघको महासभा : नेपाल घरेलुसँगै अन्तर्राष्ट्रिय विषयमा केन्द्रित

न्यूयोर्क – नेपालले यसपटक संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा निकै महत्त्वपूर्ण

भरुवा बन्दुकसहित एकजना पक्राउ

रूकुम पश्चिम – प्रहरीले रूकुम पश्चिमबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग