अन्तर्वार्ता

‘गिजाबाट रगत आउनु अन्य रोगको संकेत हो’

By खबरहब

October 13, 2022

पछिल्लो समय मानिसहरूमा गिजाको समस्या दिनानुदिन बढिरहेको छ । गिजाबाट रगत बग्ने समस्यालाई सामान्य रुपमा लिने गरेको पाइएको छ । तर, यसको परिणाम पछि निकै भयावह हुन सक्ने चिकित्सकले जनाएका छन् । जनावरी ८ मा गिजा दाँत र यो सँग सम्बन्धित अन्य रोगको बारेमा जनचेतना फैलाएर राष्ट्रिय गिजा दिवस पनि मनाइन्छ । तर, पनि सोचेको जति प्रतिफल आउन सकेको छैन । यसै विषयमा आधारित भएर वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

गिजाबाट दाँत माझ्दा वा अन्य समय रगत किन आउँछ ? मुखमा फोहोर जम्मा भयो भने रोग निम्तिन्छ । रगत आउने स्वास गन्हाउने फोहोरको कारणले हुन्छ । तर, कहिले काही दाँत तथा मुखको स्वास्थ्यमा ख्याल नगरी हामी दिनको चारदेखि पाँच पटक खान्छौँ । यसरी खादा दुई पटक सफा गर्छौँ । त्यसमा सफा गर्ने सामग्री, तरिका र समय मिल्दैन । यसले गर्दा दाँत र गिजाको बीचमा फोहोर जम्मा हुँदा गिजामा इरिटेट हुन्छ । बोल्दा केही गर्दा लगभग ९५ प्रतिशतमा त्यसरी रगत आउने हुन्छ । पाँच प्रतिशतमा चाहिँ शरीसँग सम्बन्धित अन्य समस्याका कारणले रगत आउँछ ।

यो समस्या कस्तो व्यक्तिमा धेरै देखिन्छ ? तुलनात्मक रूपमा जुन सुकै मान्छेमा देखिन सक्छ । सबैले खाने भनेको मुखबाट नै हो र साथसाथै कहिले औषधि खाने पनि मुखबाट नै हुँदा समस्या सबैलाई हुन सक्ने भयो । शरीरमा केही दीर्घकालीन रोग सुगर, प्रेसर हुनेले त्यही अनुसारका औषधि खाइरहेका हुन्छन् । जसले गर्दा रगत जम्न नदिने हुन्छ। गिजाबाट रगत आउने हुन्छ । राम्रोसँग ब्रस गर्न नसक्नेमा यो समस्या धेरै हुन्छ।

कस्तो खाना खाँदा वा कस्तो लापर्बाही गर्दा समस्या आउने हो ? रेसादार खानेकुराहरू खादा दाँत सफा गर्दछ । तर, गुलियो टाँसिने खान खाएपछि मुख सफा गर्ने वा कुल्ला गर्ने गरिएन भने रगत आउँछ । खाना खाएपछि मिलाएर सफा गरियो भने समस्या हुँदैन।

कहिले काँहि दाँत माझ्दा घोचेर वा नदुखी रगत आउने कारण के हो त ? कहिलेकाहीँ चोटपटक लागेर वा ब्रस गर्दा गिजामा घाउ वा घोचेर रगत आउँछ । तर, हामीले दाँतका ५ वटा सतहहरू ध्यान दिएर सफा गरेनौ भने त्यहाँ फोहोर जम्मा भएर बस्छ र त्यसले समस्या सिर्जना गराउँछ । गिजा स्वस्थ छ भने त्यतिकै रगत आउँदैन । कुनै मुटुको, मस्तिष्कको लागि भनेर वा प्रेसरको औषधिहरू कुनै औषधि लिएको छ भने र कहिले काँहि वंशाणुगत रूपमा रगतको मात्र नजम्ने पनि हुन्छ । गिजाको रोग भन्दा पनि गिजाबाट रगत आउनु नै गिजामा समस्या छ भन्ने हो । तपाईँको शरीरमा रोग छ भनेर सङ्केत दिएको हो । कहिले काँहि ब्रस गर्दा घोचेर रगत आयो भने त्यो केही दिनमा निको हुन्छ । तर, पटक पटक आयो भने जाँच गर्नु पर्दछ । अस्पतालमा यसरी आएको बिरामीलाई हामीले स्केनिङ गर्ने भन्छौँ सफा गर्ने फोहोर निकाल्ने गर्छौ र एक दुई दिनमा निको हुन्छ । तर, शरीरसँग सम्बन्धित छ भने हामीले फिजिसियनलाई सिफारिस गर्छौ र के कारणले भएको पत्ता लाग्छ ।

अस्पताल नगई सिधै मेडिकलमा गएर औषधि खानु कतिको उपयुक्त छ ? त्यसरी हुँदैन । उपचार गरे पो तुरुन्त रोक्न सकिन्छ । तर, रोग भित्र भित्र सर्दै जान्छ । पछि दाँत हल्लिने समस्या झन् बढ्ने हुन्छ ।

गिजाबाट रगत आउँदा पनि लापरबाही गर्दा पछाडिको जोखिम कस्तो हुनसक्छ ? पछि गिजाले दाँत छोड्छ । किन त्यसको लागि नक्कली हाल्नु पर्दछ । नभए दाँतको महत्व जान्छ । मुखमा भएका सूक्ष्म जीवहरूलाई रक्तनलीमार्फत लगेर मुटु र फोक्सो सम्बन्धी समस्या, गर्भवतीमा महिना नपुगी बच्चा जन्मिने समस्या हुन्छ ।

उपचार गराइरहेकोले के–के कुरामा ध्यान दिने त ? दिनको दुई पटक राम्रोसँग नरम ब्रसको प्रयोग गरेर तल माथि गरी सफा गर्ने गर्नुपर्छ । अन्य समयमा पनि नुन राखेर केही खाने बित्तिकै कुल्ला गर्ने गर्नुपर्छ । रेसादार हरियो सागपात फलफूल खाने, तातो धेरै चिसो गुलियो खाना धेरै नखाने गर्नुपर्छ । यसो गरे दाँत सम्बन्धी ८० देखि ८५ प्रतिशत रोग आफै निको हुन्छ ।

यस्तो कुनै पनि समस्या नदेखियोस् भनेर हामीले बिहानदेखि बेलुकासम्म के गर्नु पर्दछ ? बच्चा जन्मेदेखि नै दाँत तथा मुखको सरसफाइ गर्ने, दाँत नआएका बालबालिकामा कपास राखेर सफा गरिदिने, बच्चा २ वर्षको भएपछि मन्जन प्रयोग गर्दा मध्यम खालको केराउको दाना राखेर सफा गर्ने । जिब्रो पनि सफा गर्ने गर्नुपर्छ। अन्य समय मनतातो पानीमा नुन राखेर सफा गर्ने गर्नुपर्छ । अति साह्रो, पिरो खाने कुराबाट टाढा रहने, धूम्रपान मद्यपानदेखि टाढा रहने, सफा रहने र प्रत्येक छ महिनामा अस्पताल गएर दाँत तथा मुखको जाँच गर्ने, प्रयोग गरिरहेको ब्रसहरू मन्जनहरू पनि राम्रोसँग बुझेर राम्ररी प्रयोग गर्ने गर्नुपर्छ । दिनमा ८ मिनेट दाँत तथा मुखको सफा गर्दा जिन्दगी भर खाना चपाएर मजा लिएर खान सकिन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)