सांकेतिक तस्बिर

अपराध

नक्कली चिकित्सक पक्राउ

By खबरहब

October 13, 2022

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका-१ का २२ वर्षीय डिल बहादुर महतारा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक हुन् ।

वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् ।  महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव अनुसार उनी राजी भइन । तर, महताराले दुख्ने दाँतसहित अर्को दाँत निकालिदिएका थिए । ति महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

महतारालाई पक्राउ गरेर उनीमाथि प्रहरीले अनुसन्धान उनले आफू चिकित्सक नभएको स्वीकारेका छन् । उनीमाथि इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।