प्रेमको परिभाषा र व्याख्या गर्न सायद शब्दहरू आफैँमा अपूर्ण छन् । प्रेम अनुराग हो, अनुरक्ति हो, प्रणय हो, प्रीति हो, चाह हो, स्नेह हो, माया हो, ममत्व हो, अपनत्व हो, हर्ष र खुसी हो, केवल मेरो बुझाईमा । तपाईँको बुझाइमा फरक हुन सक्छ ।
नेपाल एक धार्मिक सहिष्णुता देश भएको कारणले नै हामी एउटै समाजमा विद्यमान विविध देवी देवताहरूलाई अङ्गालेर, संस्कृति, परम्परा, चाडपर्व साटेर, प्रसाद बाँडेर जीवनयापन गर्छौ भने हाम्रो यो पश्चिमी संस्कृतिबाट भित्रिएको प्रणय दिवस आजसम्म आइपुग्दा आधुनिकतासँगै हाम्रो संस्कृति र समाजले पचाउन नसक्ने अप्राकृतिक भोजन जस्तै बनेको मात्र छैन विकृति विसंगतिहरू मौलाएर हामी हाम्रो समाज र पवित्र प्रेमको धज्जी उडाएको छ ।
आजका टिनएजर्सहरू फेब्रुअरी ७ देखि नै “रोज डे, प्रपोज डे, चकलेट डे, ट्याड्डी डे, प्रमीस डे, किस डे, हग डे हुँदै भ्यालेन्टाइन्स डे” सहित पुरै सप्ताहमा मनाउँदै आएका छन् । अहिलेकै गतिमा अगाडि बढ्ने हो भने हाम्रा सन्ततिले भविष्यमा हाम्रो संस्कृतिकै प्राण मानिने महापुराण, सप्ताह र यज्ञ, पूजापाठको पर्यायवाची शब्द भ्यालेन्टाइन्स डे भनेर भन्ने छन् ।
कसैले कसैलाई माया गर्नू, कसैसँग सँगै हिड्नु, अनि सँगै बस्दैमा आकाशै खसेको देख्ने दुनियाँ हाम्रो अगाडि छ। अनि यो सबको कुनै प्रवाह नगरी आफू नै उदांगो हुने दुनियाँ पनि हाम्रै अगाडि। यो दुवैको बीचमा तपाईं हामी जो दुवैमा पर्दैनौँ, त्यो जमातलाई यो पचाउन अलि गाह्रो हुने रहेछ।
उनीहरूलाई जन्म अनि कर्म दिने आमाबाबा होइन एउटा गूलाव दिनेको मायाले तानेको हुन्छ। त्यसो त बुबाआमालाई पनि सम्झन्छन्। तर वर्षको एक दिन। आमाको मुख हेर्ने र बुबाको मुख हेर्ने दिन। त्यो पनि अरुलाई देखाउनलाई सामाजिक सञ्जालमा पोष्ट गर्न ।
यसो भन्दै गर्दा ममाथि आरोप पनि लाग्न सक्ला तर यो धेरैसँग मेल खाए कै कुरा हो। अहिलेको समाज यै बाटोमा हिँडेको हामी सबैले देखेकै छौं ।
अनि कसैले कसैलाई स्वच्छ मनले माया गर्नु विकृति होइन। तर हाम्रो समाजले त्यो बुझ्न सकेको छैन या त हामीले बुझाउन सकेका छैनौँ। या त हाम्रो माया गर्ने शैली फरक बनेको हो । फलानोको त लभ परेको थियो नि, त्यसलाई त मैले यो यो ठाउँमा फलानोसँग देखेको, त्यो केटासँग फलानो ठाउँमा गएर बसेकी, बसेको। फलानी त आज योसँग मस्किँदै हिँडेकी थिइ निको चाल छैन, छिट्टै बिहे गर्दिए हुन्छ। यसैगरी कुरा काट्ने धेरै हुन्छन्। धेरै सुनिन्छ।
खासमा प्रणय दिवस वा प्रेम दिवस, १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्।
त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामुहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईपू २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो।
प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको विश्वास गरिन्छ। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ। तर हिजोआज यो विकृति बनेको छ।
मानिस सामाजिक प्राणी हो। समाजमा घुलमिल हुन र जीउनको लागि मानवीय आवश्यकता पूरा गर्नुपर्ने हुन्छ। त्यो आवश्यकता पूरा गर्ने क्रममा हर कुरासँग माया बसेको हुन्छ। तर बिडम्बना, आज हामी रहेको समाजमा यसको सन्तुलन बिग्रँदै गएको छ।
जसको असर मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ। एउटाको गल्तीले हजारौंको हेराइ बिग्रेको छ। एउटाको कामले हजारौंलाई दोषीको बिल्ला भिराएको छ अनि म जस्तै तपाइले पनि बिना कसूर सजाय भोग्नुपरेको छ ।
आफ्नो छाती चर्कँदा सन्तानलाई के भयो होला ? कस्तो अवस्थामा छन् होला ? भन्ने पीरमा रातभर जागा रहने आमालाई वास्ता नगर्ने युवायुवती रोज डे, प्रपोज डे, किस डे, चकलेट डे र भ्यालेन्टाइन डेको व्यग्र प्रतिक्षामा बसिरहेका हुन्छन्। के एउटा केटी वा एउटाकेटालाई गर्ने माया हामी आफ्नो जन्मदिने आमाबाबालाई गर्न सक्दैनौं र ? आफु मृत्युको मुखमा पुगेर जन्म दिने आमालाई वृद्धाआश्रममा राखेर एउटा केटीको लागि दुनिया बनाउने पुरुष पनि यै समाजमा छन् अनि, त्यै मृत्युको मुखबाट छोरा निकालेकी आमालाई घरबाट निकालेर छोराको हात समाउने केटी पनि यै समाजमा छन् । यसो भनिरहँदा कलियुगको सीताको उपमा पनि नपाएको होईन तर म आफ्नो कर्तव्यबाट कहिल्यै पछि हट्ने छैन । जुन बचन मेरी आमालाई दिएको छु ।
के तपाईले यो कुरा सोच्नु भएको छ ? मैले श्रीमानको आमाबाबालाई वृद्धाआश्रममा लगेर राखेको छु सानले भन्नुहुन्छ तर यो कुरा नभुल्नु कि तपाईँको पनि पछि छोरा हुन्छ र आउने बुहारीले त्यै व्यहार गरिन भने तपाइर्को अवस्था के हुन्छ ? पक्कै पनि सह्य हुदैन होला । त्यसैले आजको लागि मात्रै होईन भोलिको लागि पनि सोचेर आज व्यवहार गर्न सिक्नु पर्छ ।
पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गएको छ। विशेषगरी युवाहरूबीच लोकप्रिय भ्यालेन्टाइन्स डेमा विकृति पनि बढ्दै गइरहेको छ।
प्रेमलाईभन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ। जुन अति नै खतरनाक हो। जसले समाजमा विकृति फैलिदै गएको छ।
जे जस्तो डे र दिवस भए पनि यस्ता दिवसले स्वार्थी मन सबैलाई निःस्वार्थ माया गर्न सिकाओस् । क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई होईन प्रेम गरेर प्रेमकोे इज्जत पनि राख्नसिकाओस् । मायामा कुनै स्वार्थ र सर्त नहोस् । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको मागलाई स्वीकार गर्नु हो। त्यसैले बरु माया हुँदै नहोस्, भएपछि जीवनभरलाई होस्।
प्रेमलाई कुनै सूत्रमा बाँध्न सकिँदैन। प्रेमको कुनै हद र सीमा पनि हुँदैन। यसको नाप गर्ने कुनै एकाई पनि छैन। न त यसको सुरु छ, न यसको कुनै अन्त्य नै। प्रेम भनेको जीवन हो, यदि आमालाई पेटको बच्चाप्रति प्रेम नहुँदो हो त, जीवन कहाँ रहन्थ्यो र ? जीवन कुनै नियमले चल्दैन। त्यसैले प्रेमको पनि कुनै नियम हुँदैन। युवाका लागि लक्षित प्रेम दिवसलाई धेरैले प्रेम गर्ने दिनको रुपमा मात्रै बुझ्ने गरेका छन्। तर वर्षमा एक दिन मात्रै होइन, माया गर्ने मनको लागि हरेक दिन प्रेम दिवस हुनुपर्छ।
प्रतिक्रिया