विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज फागुन ३०, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुसी आक्रमणमा न्यूयोर्क टाइम्सका पत्रकार मारिए

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन्। इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन्। हमलामा अर्का एक जना घाइते भएका छन्।

इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुले पुष्टि गरेका छन् । गोली लागेर उनका सहकर्मी घाइते भएको बताइएको छ ।

ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ।

इण्डोनेशियामा भूकम्प

इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ। तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु भूकम्प गएको हो।

६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ।

भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए। ‘भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो । मानिसहरु त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ। भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ।

भूकम्पको केन्द्र बिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ।

रुसी आक्रमणमा दुई युक्रेनी मारिए

युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ  ।  यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । 

स्थानीय समयानुसार सोमबार बिहान साढे ७ बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।  नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताएको छ ।  भवन किभको ओबोलोनमा रहेको जनाइएको छ ।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् ।

भारतमा कोरोना संक्रमित घट्दै

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ । तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यी मध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जाइएको छ । भारतमा हालसम्म कूल कोरोना सङ्क्रमितको संख्या चार करोड २९ लाख ९३ हजार ४ सय ९४छ ।

योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको शून्य दशमलब ८ प्रतिशत हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३ सय ७७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४१ हजार ४ सय ४९ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८ दशमलब ७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । 

गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको थियो । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८० करोड १९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

जेलेन्स्की घाइते सैनिकलाई भेट्न अस्पताल पुगे

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा घाइते भएका सैनिक भेट्न अस्पतालको भ्रमण गरेका छन् । युक्रेनको रक्षामन्त्रालयले जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेको जनाएको हो ।

यद्यपि उनले भ्रमण गरेको अस्पतालको पहिचान भने गोप्य राखिएको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति जेलेन्स्कीले उपचार गराइरहेका सैनिकहरुसमक्ष पुगी उनीहरुको गुनासो र अवस्थाबारे जानकारी लिएको देखिन्छ । जेलेन्स्कीले घाइते सैनिकलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ ।

केही घाइते सैनिकले उनीसँग सेल्फी पनि खिचिरहेको भिडियोमा देखिन्छ । साथै भ्रमणका क्रममा जेलेन्स्कीले सैनिक एवम् अस्पतालका कर्मचारी तथा चिकित्सकलाई तक्मा र विभूषण समेत प्रदान गरेको जनाइएको छ ।

सैनिकहरुलाई उनले ‘युक्रेनको रक्षक’ विभूषण प्रदान गरेको अमेरिकी अनलाइन समाचार पोर्टल एक्सिओसले जनाएको छ । रुसी आक्रमणसँगै युक्रेनभर भिषण लडाईं भइरहेका बेला जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेका हुन् ।

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग युक्रेनमाथि जारी रुसी आक्रमणबारे छलफल गरेका छन् । दुई नेताबीच भएको टेलिफोन वार्ताका क्रममा युक्रेनमाथि आक्रमण गरेको रुसलाई जवाफदेही बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ–आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएको ह्वाइट हाउसले जनाएको छ।

‘राष्ट्रपति बाइडेनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धबारे फेरि छलफल गर्नुभएको छ ।’ ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ । रुसले पोल्याण्डको सीमानजिक युक्रेनी सैनिक तालिम केन्द्रमा आक्रमण गरेको केही घण्टापछि दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध आक्रमण शुरु गरेको थियो ।

इरानी विदेशमन्त्री मस्को भ्रमणमा

आणविक सम्भौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री अमिरअब्दुलल्लाहियान रुसको राजधानी मस्को पुगेका छन् । इरान सम्झौताबारे वार्ता भइरहेका बेला रुसले नयाँ शर्त अघि सारेपछि इरानी विदेशमन्त्रीले मस्कोको भ्रमण गर्न लागेका हुन् ।

‘विदेशमन्त्री मंगलबार मस्को जानुहुनेछ ।’ इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खतिबजादेलाई उद्धृत गर्दै दुबईबाट प्रकाशित हुने द नेशनल न्यूज अनलाइनले जनाएको छ ।

अमेरिकाले केही महत्वपूर्ण विषयमा निर्णय गर्न बाँकी रहेकाले यो भ्रमणका क्रममा कुनै किसिमको सम्झौता घोषणा नगरिने उनको भनाइ छ । यसअघि रुसले अहिले आफ्नो मुलुकमाथि पश्चिमा मुलुकद्वारा लगाइएका नाकाबन्दीको असर इरानसँग हुने सम्झौतामा पर्न नहुने ग्यारेन्टी मागेको थियो ।

अष्ट्रियाको राजधानी भियनामा भएको दश महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए । तर रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकिएको थियो।

रुसमा इन्स्टाग्राममाथि पनि प्रतिबन्ध

यूक्रेनमाथि रूसको हमलाको असर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि पनि पर्न थालेको छ। रूसका मानिसहरूले अब सामाजिक सञ्जाल  इन्स्टाग्राम पनि प्रयोग गर्न सक्ने छैनन्। रूसको सरकारले फेसबुकपछि अब इन्स्टाग्राममाथि पनि प्रतिबन्ध लगाएको छ।

रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो। गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको छ। 

ट्विटरले रूस र यूक्रेनबीच जारी युद्धबीच विज्ञापनमा रोक लगाएको छ। मेटाको स्वामित्वमा रहेको फेसबुक एपमा रूसले अगावै प्रतिबन्ध लगाइसकेको छ। अब मेटा कै स्वामित्वमा रहेको दोस्रो एप इन्स्टाग्रामलाई पनि रूसमा प्रतिबन्धित गरिएको छ।

फेसबुक र इन्स्टाग्राम बाहेक रूसमा टिकटकमा पनि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। टिकटक प्रयोगकर्ताहरूले अपलोड गरेको भिडियो हेर्न सक्छन्‚ तर नयाँ भिडियो अपलोड गर्न सक्दैनन्।

ओबामालाई कोरोना संक्रमण

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राष्ट्रपति ओबामाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिँदै आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका हुन् । 

‘मेरो टेस्टमा भर्खरै कोरोना पोजेटिभ देखियो ।’ उनको ट्विटमा उल्लेख छ, ‘केही दिन देखि घाँटी दुखिरहेको थियो, तैपनि म तन्दुरुस्त नै छु ।’
पूर्व प्रथम महिला मिसेल ओबामा र आफू दुबैले कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाइसकेको उल्लेख गर्दै ओबामाले अरुलाई पनि खोप लगाउन आह्वान गरे ।

पछिल्लो समय कोरोना संक्रमण घट्दै जाँदा अमेरिकामा जनस्वास्थ्य मापदण्डहरु पनि विस्तारै खुकुलो पारिँदै लगिएको छन् । पछिल्लो साता औसतमा ३५ हजार नयाँ संक्रमित देखिएका थिए । जोन्स होप्किन्स विश्वविद्यालयको आँकडाअनुसार अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म ९ लाख ६७ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, अमेरिकाको संघीय रोग नियन्त्रण एवम् रोकथाम केन्द्रका अनुसार ७५ प्रतिशत भन्दा धेरै अमेरिकीहरुले पूर्ण खोपको मात्रा पाएका छन् भने ४७ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।

रुसले चीनसँग सैनिक सहयोग मागेको अमेरिकी दाबी

युक्रेनमाथि सैन्य हमला गरिरहेको रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन्।

अमेरिका पत्रिका वाशिङ्टन पोस्ट र फाइनान्सियल टाइम्सले रुसले युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले चीनसँग सहायता मागिरहेको छ। चीनले युक्रेनमाथि रुसी हमलामा आफूलाई तटस्थ राख्न खोजेपनि युक्रेन अतिक्रमणलाई लिएर रुसको भर्त्सना गरेको छैन।

रुसलाई पश्चिमा राष्ट्रहरूले कठोर प्रतिबन्ध लगाइरहेका बेला चीनले सहयोग गरे उस्ले पनि प्रतिबन्ध सामना गर्नुपर्ने अमेरिकी अधिकारीले चेतावनी दिएको सीएनएनले जनाएको छ।

नो फ्लाइ जोन स्थापना गर्न जेलेन्स्कीको नेटोलाई आग्रह

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोलाई आफ्नो देशको आकासमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले रुसले केही समयमा नेटो आबद्ध पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताउँदै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका हुन्।

युक्रेनको पोल्यान्डसँगको सिमाना नजिकै रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले पुन नेटोलाई उडान निषेधित क्षेत्र बनाएर रुसी विमानहरूलाई उडान रोक्न आग्रह गरेका हुन्।

तेश्रो विश्वयुद्ध टार्न युक्रेनलाई सहयोग आवश्यक – युक्रेनी विदेशमन्त्री

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत विदेशमन्त्री कुलेबाले युक्रेन सफलताका साथ लडिरहेको र आवश्यक सबै अस्त्रहरू उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका हुन्।

उनले रुसमाथि थप प्रतिबन्धहरू लगाउन र विश्व समुदायबाट पूर्ण रूपमा एक्ल्याउन समेत आग्रह गरेका छन्। विदेशमन्त्री कुलेबाले पुटिनलाई विफल बनाउन युक्रेन फौजलाई सहयोग गर्न आग्रह गर्दै त्यसले मात्र एउटा ठूलो युद्धलाई टार्न सक्ने बताएका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ०४ बजे

मेस्सीले पेरिस ओलम्पिक नखेल्ने, अल्भारेजले खेल्ने

ब्यूनस आयर्स – लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु 

इटहरी– इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान

माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी– भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च