नेपालमा आज : के-के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ? (अडियोसहित)


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध छ प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । देश अहिले स्थानीय निर्वाचनको संघारमा रहेकोले यसमा सरोकारवाला सबै प्रतिबद्ध हुनु आवश्यक रहेको उनले बताए । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै त्यो भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल रहेको समेत भनाई राखे । प्रधानमन्त्री देउवाले एमाले नेता भीम रावलले एमसीसीको सबैभन्दा विरोध गरिरहेको भन्दै आक्रोस पाखे । यस्तै देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको पनि जिकिर गरेका छन् ।

देउवाले आफ्नो सार्वजनिक तथ्यसम्बन्धी झुटो अभिव्यक्ति दिएको एमालेका नेता रावलको आरोप

एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सार्वजनिक तथ्यसम्बन्धी झुटो अभिव्यक्ति दिएको आरोप लगाएका छन् । नेता रावलले आज ट्वीटरमार्फत आफू उपप्रधानमन्त्री तथा रक्षामन्त्री भएका बेला संसदमा एमसीसीसँगको सम्झौता पेश नभएको दाबी गरे । केपी ओली सरकारको पालामा आफु उप प्रधानमन्त्री र रक्षामन्त्री  भएको तर अध्यक्ष ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याउनुभएको बेला आफू सो पदमा नरहेको स्पष्किरण दिए ।

वैद्य माओवादीले स्थानीय चुनावमा भाग नलिने

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । फागुन २५ गतेदेखि २९ गतेसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको प्रेस वक्तव्य जारी गरी जानकारी दिइएको छ । पार्टीको क्रान्तिकारी छवि चुनाव उपयोगबाट भन्दा बहिष्कारद्वारा नै समुज्जल हुने देखिएको विज्ञप्तिमा जनाइएको छ । साथै, सो पार्टीले दुई महिने बहिष्कार अभियान चलाउने घोषणा पनि गरेको छ । एमसीसी अनुमोदन गरिएकोमा विरोध गर्दै पार्टीले यसको खारेजीका लागि निरन्तर संघर्ष गर्ने पनि जनाएको छ ।

जसपामा भट्टराई, यादव र राईको हेडक्वार्टर गठन

जनता समाजवादी पार्टी जसपाले ३ सदस्सीय हेडक्वाटर गठन गरेको छ । जसपाले कार्यकारिणी बैठक बस्ने स्थिति नहुँदा पार्टीको सामूहिक निर्णय गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई,  अध्यक्ष उपेन्द्र यादव र  वरिष्ठ नेता अशोक राई रहेको हेडक्वार्टर गठन गरेको हो । जसपा जसपाका केन्द्रीय कार्यकारिणी समितिको बैठक हिँजोदेखि राजधानीमा जारी छ । बैठकले स्थानीय चुनावका लागि निर्वाचन आयोगमा वरिष्ठ नेता राईको मात्र हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ ।

एमाले स्थानीय तहको निर्वाचन केन्द्रित कार्ययोजना निर्माणमा जुट्यो

प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्ययोजना निर्माणमा जुटेको छ । पार्टी कार्यालय थापाथलीमा आज बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीत गर्ने गरि बनाउन लागिएको कार्ययोजनामा छलफल भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा भोलि तीन बजे बस्ने पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा पनि छलफल भएको उनले बताए । सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण र अभिमुखी कार्यक्रमहरू सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरू आयोजना गरेर सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनका केन्द्रित गरिने उनले बताए ।

दाहाल र नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायकः एमाले उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक भएको आरोप लगाएका छन् । आज नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाए । उनले वामपन्थी शक्तिको  सरकार गिराएर कांग्रेसको पछि लागेका दाहाल र नेपालले नेपालको कम्त्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताए ।

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्छः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दावी गरेका छन् । आज जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी एमालेको सातौं धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले यसअघि विभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरे । उनले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसँग तालमेलको आवश्यक नरहेको जिकिर गरे ।

राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।  आज बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिए । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने पनि अध्यक्ष लिङ्देनले भनाई राखे । लिङ्देनले आफ्नै चुनाव चिह्न दिएर द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् । उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई हलोमै मतदान गर्न पाउने आश्वासन दिए ।

महिला हिंसा अन्त्यका लागि दुई दिने दक्षिण एसियाली सम्मेलन भोलीदेखी काठमाडौंमा सुरु हुने

महिला हिंसाविरुद्धको आवाजलाई विश्वब्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येवद्धता जनाउन भोलीबाट काठमाडौंमा दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ । वुमन एनजीओ फेडेरेसन, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्नेमा जोड दिइने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले जबराविरुद्ध महाभियोग लगायौंः काँग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताएका छन् । आज  काठमाडौंको मीनभवनमा आयोजित काँग्रेसको एक महिने घरघर जाउँ कांग्रेस जिताऔं अभियानअन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताए ।

सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका श्रेष्ठको सुनुवाइ अघि बढ्यो

संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा आज  बसेको समिति बैठकले न्यायपरिषद्बाट सिफारिस भएका श्रेष्ठका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । केहि दिन अघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायधिश पदका लागि बिराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको आरोपमा १३ जना विरुद्ध मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरिएको थियो । जग्गा भोगचलन भएको करिब २७ वर्षपछि अख्तियारले  आज  विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालीन प्रध्यानाध्यापक यामबहादुर ठकुरीविरुद्ध आरोप पत्र दायर गरेको हो ।

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली भोलिदेखि स्थगित

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली  स्थगित  गरेको छ । विभागले आज एक सार्वजनिक सूचना निकाल्दै अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलिबाट आवेदन स्थगित  गरिएको जनाएको हो  । अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक डा. लोकनाथ भुसालले जानकारी दिए ।

आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छः घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् । आज काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुराईएको बताए । उनले कर्णालीको बिकट ठाँउहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सवै स्थानमा बिद्युत पुराईने जानकारी दिए ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

अर्घाखाँचीमा सत्ता गठबन्धनका दलबीच चुनावमा तालमेलको घोषणा

अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले आगामी निर्वाचनमा तालमेलको घोषणा गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म सत्ता गठबन्धनमा आवद्ध पांच दलबीच तालमेल हुने सहमति भएको बताए ।

कोरिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दक्षिण कोरियाका एक वृद्ध काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई काठमाडौं महानगरपालिका–७ लाहुरे टोल बस्ने ७३ वर्षीय राइ सि जुङ छन् । उनले आफू ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै पीडितबाट पैसा ठगी गरेको प्रहरीले जनाएको छ ।

आँखामा धुलो छर्केर लुटपाट गर्ने दुई जना पक्राउ

आँखामा धुलो खुर्सानी छर्केर सुन तथा नगद लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दाङ सौडियार गाउँपालिका घर भएका २८ वर्षीय महेश विश्वकर्मा र घोराही उपमहानगरपालिका घर भएका २४ वर्षीय राजेन्द्र सिनलाई नियन्त्रणमा लिएको हो । गत बुधबार चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसल बन्द गरी फर्किएका ३४ वर्षीय अमोल भोस्लेलको साथमा ४२ तोला सुन तथा बाह्र लाख रुपैयाँ  लुटी  उनीहरु फरार भएका थिए ।

आफ्नो गीतलाई राजनीतिकरण नगर्न गायक सपुतको आग्रह

गायक प्रकाश सपुतले आफ्नो गीतलाई राजनितिकरण नगर्न आग्रह गरेका छन् । आफ्नो पछिल्लो गीत ’पिर’ माथि विवाद भएपछि त्यसबारे स्पष्टीकरण दिँदै उनले  आफ्नो फेसबुक पेजमार्फत गीतमाथि उठेका प्रश्नको जवाफ दिएका हुन् ।  आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरे ।  यस विषयलाई नियतवश उक्साएर वा निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि सबैमा आग्रह गरेका छन् ।

मकवानपुरमा देखियो बर्डफ्लु

मकवानपुरमा पनि बर्डफ्लु रोग देखिएको छ । जिल्ला पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मकवानपुरका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको हो । केन्द्रले भीमफेदी गाउँपालिका–२ आँपचौरस्थित लिला थिङको खोरमा रहेका कुखुरामा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ । थिङको खोरमा पालिएका कुखुरा धमाधम मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु ’एच फाइभ एन वन’ संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ९ : ३६ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले