'घरबाट क्रान्ति गरेर सगरमाथाको शिखरमा पाइला टेकेकी हुँ' | Khabarhub Khabarhub

‘घरबाट क्रान्ति गरेर सगरमाथाको शिखरमा पाइला टेकेकी हुँ’

विश्वका अग्ला १४ वटा हिमाल आरोहणमा निस्केकी आरोहीको कथा



काठमाडौ – पितृसत्तात्मक सोचले ग्रसित नेपाली समाजमा अहिले पनि महिलाहरूलाई गृहिणीको रूपमा मात्रै हेरिन्छ । गृहिणीबाहेक अन्य कामलाई सहजै स्वीकारेको पाइँदैन । महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउनु पर्छ भनेर ठूल्ठूला गफ दिइन्छ । सहभागिता र अधिकारका विषय जोडदार रूपले उठ्छ । तर, व्यवहारमा लागू हुन सकेको छैन । तर, यति हुँदाहुँदै पनि साहसी महिलाहरू घेरा तोडेर बाहिर निस्किन्छन् । मुर्छित सपनालाई ब्युँताउँदै घरबाट क्रान्ति गरेर निस्किने साहसी महिलामध्येकै एक हुन् पर्वतारोही शर्मिला लामा ।

उनी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित भिमखोरीमा जन्मिइन्। सानै उमेरदेखि हिमाल चड्ने सपना बोकेकी उनले अहिलेसम्म विश्वका सर्वोच्च शिखर सगरमाथासहित ७ वटा हिमाल आरोहण गरिसकेकी छिन् । विभिन्न घरयासी समस्या र बाधाबीच पनि संघर्ष गरी उनी निरन्तर पर्वत आरोहण गर्ने कार्यमा लागिरहेकी छिन् ।

नेपाली समाजमा विद्यमान कुरिती र विकृति अन्त्यको लागि महिलाको आवजहरू हिमालबाट नै उठाउनु पर्छ भन्ने सोचका साथ उनी ‘१४ हिमाल आरोहण’मा लागि रहेकी छिन् । हिमालसँग सामिप्यता गाँसिएर आफ्नो जिन्दगी नै हिमाल रहेको उनी बताउछिन् । उनी सन् २०२१ मा तेन्जिङ हिलारी सम्मानबाट पनि सम्मानीत भएकी थिइन् । पर्वत आरोहण बाहेक विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न उनी नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हुन् । जीवनका हरेक मोडमा नयाँ उद्धेश्य बोेकेर दत्तचित्त भई लाग्ने आरोही लामाका बाँकी अनुभवको आरोह र अवरोह उनकै शब्दमाः

हिमाल चड्ने सानैदेखिको सपना
म एउटा पर्वत आरोहीको रूपमा चिन्नुमा मेरो बुबाको महत्वपूर्ण भूमिका छ । मेरो बुबा ट्रेकिङ गाईडको रूपमा काम गर्नुहुन्थ्यो । उहाँ घरमा आउँदा सानै सानै बेलादेखि हामीलाई यात्राका अनुभवहरू सुनाउनु हुन्थ्यो ।

बुबाका अनुभवहरू सुन्दा सानैबेला ट्रेकिङमा जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । उहाँबाट नै प्रेरित भएर म १७ वर्षको उमेरमा ट्रेकिङ जान सुरु गरेको हो । यसैगरी सन् २०१७ मा दोलखाको रामजुङ पिकबाट मेरो हिमाल चड्ने यात्राको सुरुवात भयो ।

सगरमाथाको सफल आरोहण
सन् २०१८ मा सगरमाथा आरोहण गर्ने मेरो पहिलो यात्राको सुरुवात भयो । प्रतिकुल मौसमका कारण आठ हजार सात सय मिटर उचाईबाट नै फर्किनु पर्‍यो । जसले गर्दा सगरमाथाको चुचरोको अनुभव लिन सकिएन । सफल आरोहीहरू जत्तिकै संघर्ष गरी त्यस उचाइसम्म पुग्नु नै मेरो लागि सफलता थियो । तर पहिलो पटकको आरोहणमा सगरमाथाको चुचुराको अनुभव गर्न नपाएपछि धेरै पीडा भयो ।

त्यसपश्चात १ वर्षको अवधि भित्रमा कुनैपनि रात आनन्दले सुतिनँ । आर्थिक रूपमा पनि धेरै समस्याहरू थपिए । यस अवधिमा विभिन्न तालिम, शारीरिक स्वस्थ्य र आर्थिक स्रोतहरू जुटाउनमा व्यस्त भए । यस्तै कडा मेहनत पश्चात सन् २०१९ मा सगरमाथाको सफल आरोहण गर्न सकेँ। त्यसलगत्तै युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्बस, नेपालको मनास्लु, अन्नपूर्ण, ल्होत्से हिमाल पनि सफलता पूर्वक आरोहण गरेँ ।

‘मिसन १४ हिमाल आरोहण’को सुरुवात
सन् २०१९ मा यूरोपको अग्लो हिमाल चढेलगत्तै म काठमाडौँमा फर्केँ । फर्केको नौ दिनमा नै मनास्लु हिमाल चढेँ। यसपछि मात्रै मैले म हिमाल आरोहण गर्नका लागि योग्य छु भन्ने महशुुस गरेँ । ‘नेपाली समाजमा रहेको कुरिती र विकृति अन्त्यको लागि नेपाली महिलाको आवजहरू हिमालबाट नै उठाउनु पर्छ’ भन्ने सोच लिएँ ।

यसपछि मैले गुगलमा विश्वमा सफतापूर्वक आठ हजारभन्दा मथि उचाइमा रहेको १४ हिमाल आरोहण गरेका महिलाहरूको खोजी गरेँ । १४ हिमाल आरोहण गर्र्ने महिलामा स्पेन र अस्ट्रेलियाको दुई जना महिला मात्रै भेटेँ । त्यसपछि मैले पनि १४ हिमाल आरोहण गर्ने उद्देश्य बोकी क्याम्पेन सुरु गरेँ ।

अभियानबाट महिलाहरू प्रोत्साहित हुने र नेपालको प्राकतिक स्रोतहरूलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने विश्वास लिएकी छु । यसको प्रभाव कत्तिको पर्छ, मैले कत्तिको गर्न सक्छु भन्ने कुरा आर्थिक स्रोतमा पनि धेरै भर पर्छ । आर्थिक स्रोत पाएँ भने चाँडै नै गर्न सक्छु भन्ने विश्वास छ ।

‘१४ हिमाल आरोहण’का लागि आर्थिक चुनौती
आठ हजार मिटरभन्दा माथिका हिमालहरू पाकिस्तानमा पाँच वटा र चीनमा दुई वटा रहेका छन् । यो सात वटा हिमालका लागि खर्च अवश्य नै धेरै लाग्छ । नेपालको हिमाल चढ्नलाई बाह्रा लाखदेखि पन्ध्र लाखसम्म लाग्छ । गत वर्ष अन्नपूर्ण आरोहण गर्दा एक जना दिदीलगायत केही व्यत्तिले आर्थिक सहयोग गर्नुभएको थियो ।

त्यसैगरी ल्होत्सेका लागि साथी भाइ आफन्तजनबाट सहयोग भएको थियो । यसै गरी कञ्चनजंग हिमाल आरोहणको तयारीमा छु । यसको लागि तीन वटा स्थानीय सरकारले पाँच लाख पचास हजार रूपैयाँ सहयोग गर्नुभएको छ । बाँकी आफैले आर्थिक स्रोतहरू जुटाइरहेको छुु र केही कम्पनी संस्थाहरूले पनि सहयोग गरेको छ । तर स्रोत जुटाउन भने निकै गाह्रो भइरहेको छ ।

दुई वर्षअगाडि नै प्रदेश सरकार समक्ष कुरा राखेको थिएँ । राजनीतिक पहुँच नहुँदा हामी जस्तो ईमानदारीपूर्वक काम गर्नेलाई धेरै बाधाहरू रहेको देखेँ । कुनै माध्यमहरूबाट पहुँच पुराएर गए पनि पर्यटन सम्बन्धीको विषयमा सांसद, मन्त्रीहरूले समेत बुझेको पाइएन । ‘हिमाल चढेर पनि पर्यटन प्रर्वद्धन हुन्छ र ?’ भन्ने खालका प्रश्नहरू गर्नुहुन्छ । हिमालबाट लाखौ डलर रोयल्टीको नाममा नेपालमा आम्दानीको रूपमा आएको कुरा नबुुझ्दा दुःख लाग्छ ।

सामाजिक कार्यमा आबद्ध
म आफ्नो दैनिकी चलाउन कफी सप चलाउँदै आएको छु । गत वर्ष महिला दिवसको अवसरमा दश जना महिलाहरूलाई बारिष्ठको तालिम दिएँ । साथै तेन्जिङ हिलारी अवार्डबाट पाएको पैसाले पनि सात जना महिलाहरूलाई बारिष्ठ तालिमसँगै रोजगार पनि दिएँ ।

यससँगै आफ्नै गाँउमा महिलाहरूलाई आधारभुत बौद्ध शिक्षा कक्षा सञ्चालन गरेको छु । हाम्रा नेपाली युवाहरूको आफू स्थापित भएपछि मात्रै समाजसेवा लाग्छु भन्ने खालको सोच छन् । तर म आफ्नो आरोहण, करियर, विजनेस सँगसगै समाज सेवालाई सन्तुलनमा राखेर अघि बढिरहेकी छु ।

‘चुनौति र असफलता नै सफलतामा पुर्‍याउने भर्‍याङ हो’
हाम्रो समाज पुस्तौँदेखि नै पितृसत्तात्मक सोच भएको समाज हो । जसले गर्दा पुरुषको दाँजोमा महिलालाई बढी चुनौती छ । बाँधा अड्चनहरू सबौलाई आँउछन् । हामीले गर्न चाहेका कुरामा पहिलो त घरबाट नै अवरोध आउने गर्छन् । यो गर, त्यो नगर भन्ने खालका बन्देज गराउँछ ।

मैले हिमाल आरोहण गर्न घरबाट नै क्रान्ति गरेको निस्केको हुँ । म भित्रको म खोज्दै जाँदा हिमालतिर ठोक्किन पुगेको हो । ईमानदारीका साथ काम गर्न नै चाहनुहुन्छ भने आफ्नो मनको कुरा सुन्नुपर्छ ।

आफन्त, समाजका कुरालाई थाँती राख्दै आफ्नो मनले भनेको कुरालाई निरन्तरता दिनुपर्छ । चुनौती र असफलताले नै सफलताको बाटो देखाउँछ । दृढ भई आफ्नो कर्ममा विश्वास गरेर निरन्तर लाग्नु पर्छ । अवश्य सफल भइन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : ३३ बजे

तनहुँ जलविद्युत् आयोजनाबाट ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ

हाउथीले इजरायलमा आक्रमण नरोक्ने

इजरायल – यमनमा इजरायली आक्रमण जारी रहनुका बाबजुद हाउथीको राजनीतिक

सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएको डिप बोरिङ

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा