विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज वैशाख १, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या १२३ पुग्यो

फिलिपिन्समा आँधीपछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ । सिंगापुरबाट प्रसारण हुने च्यानल न्युज एसिया सिएनएले जनाएअनुसार मेगी नामक आँधीपछि निम्तिएको विनाशका कारण अरु २३६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये अधिकांश बेबे शहर र आसपासका रहेको जनाइएको छ । बेबे शहर र आसपासका क्षेत्रमा मात्रै ८६ जनाले ज्यान गुमाएका छन् । आँधी प्रभावित १ लाख ६२ हजार विस्थापित भएको र अरु ४१ हजार आफन्तको शरणमा रहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएले जनाएको छ ।

आइतबार ६५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको लेटे प्रान्तमा सबैभन्दा नराम्रो विनाश निम्त्याएको बताइएको छ ।

सिएनएका अनुसार फिलिपिनी सेनाले खोजी र उद्धार कार्यलाई नरोक्ने दृढता व्यक्त गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै फिलिपिनी सेनाको बेबे शहरमा रहेको सैनिक एकाइले ‘खोजी, उद्धार र पुनःसंरचनाको अभियानलाई निरन्तरता दिने’ जनाएको हो ।

७ हजार ६ सयभन्दा धेरै टापुहरु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष २० भन्दा धेरै आँधी आउने बताइन्छ ।

युक्रेनी क्षेप्यास्त्रका कारण रुसी युद्धपोत क्षतिग्रस्त

युक्रेनी आक्रमणका कारण कृष्ण सागर स्थित रुसी युद्धपोत क्षतिग्रस्त भएको छ । बीबीसीका अनुसार युक्रेनी पक्षले १८६ मिटर लामो नेप्चुन क्षेप्यास्त्र प्रहार गरी रुसी फौज अन्तर्गत कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोत मोस्कवा युद्धपोतलाई क्षतिग्रस्त पारेको दाबी गरेको हो ।

क्षतिग्रस्त युद्धपोतमा ५ सय १० जहाजीहरु फसिरहेको हुनसक्ने युक्रेनी पक्षको भनाइ छ । युक्रेनी राष्ट्रपति ओलेक्सेई अरेस्तोभिचका अनुसार युद्धपोतमा फसेका जहाजीहरुको उद्धारका लागि अझै रुसी उद्धारकर्ताहरू पुग्न सकेका छैनन् ।

‘स्नेक टापुका हाम्रा सीमा रक्षकले जहाँ पुर्‍याउनु पर्ने हो, मोस्कवा मिसाइल क्रुजर त्यहीँ पुगेको छ’, ओदेसा क्षेत्रका गभर्नर माक्सिम मार्चेन्कोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युद्धको सुरुआती दिनहरूमा कृष्ण सागरमा अवस्थित युक्रेनको स्नेक टापुमा रहेका युक्रेनी सीमा रक्षकहरुले मोस्कवाबाट प्राप्त आत्मसमर्पणको प्रस्ताव अस्वीकार गर्दै रुसी युद्धपोतलाई ‘नर्क जान’ भनेका थिए ।

यता रुसी रक्षा मन्त्रालयले पनि युद्धपोत क्षतिग्रस्त भएको स्वीकार गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै मोस्कवामा ‘गम्भीर क्षति पुगेको’ जनाएको छ ।

बीबीसीका अनुसार विज्ञप्तिमा भनिएको छ,– युद्धपोतमा आगलागीका कारण मोस्कवाका गोलाबारुदमा विष्फोट भएको छ ।’ यद्यपि के कारणले युद्धपोतमा आगलागी भएको भन्ने रुसी रक्षा मन्त्रालयले केही खुलाएको छैन ।

‘जहाजमा गम्भीर क्षति पुगेको छ । सबै चालक दलका सबै सदस्यको उद्धार गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ ।’ विज्ञप्तिमा जनाइएको छ ।

१९८० को दशकको शुरुमा तत्कालीन सोभियत संघमा निर्मित युद्धपोतलाई सुरुआती चरणमा स्लाभा नाम दिइएपनि पछि नाम परिवर्तन गरेर मोस्कवा राखिएको बीबीसीले जनाएको छ । सन् २००० ताका मात्रै कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोतका रुपमा तैनाथ गरिएको थियो ।

युद्धपोत भेदी भुल्कान पी–१००० क्षेप्यास्त्र जडित यो युद्धपोत सिरियामा रुसी सैनिक कारवाहीका क्रममा पनि महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

रुसले अमेरिकाका ३९८ जनप्रतिनिधिविरुद्ध प्रतिबन्ध लगाउने

युक्रेनमाथि आक्रमणलाई लिएर वाशिङ्टनले चालेका दण्डात्मक कदमको बदलास्वरूप रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गरिने योजना छ’, विज्ञप्ति जारी गर्दै रुसी विदेश मन्त्रालयले जनाएको छ । उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

त्यस्तै, रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाएको रेडियो फ्रि युरोप रेडियो लिबर्टीले जनाएको छ । क्यानडाको ‘अदूरदर्शी’ नीतिहरूको जवाफमा थप कदम चालिने विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरूले विभिन्न प्रतिबन्धहरू लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरूमाथि प्रतिबन्ध लगाएको हो ।

‘फिनल्याण्ड र स्विेडन नेटोको सदस्य भए आणविक युद्धको जोखिम बढ्छ’ – रुस

फिनल्याण्ड र स्विडेनले नेटोको सदस्यता लिएको खण्डमा आणविक युद्धको खतरामा उच्च वृद्धि हुने रुसले चेतावनी दिएको छ ।

रुसका पूर्व राष्ट्रपति एवम् राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेद्भेदेभले ती मुलुकले नेटोको सदस्यता लिएको खण्डमा ‘आणविक हतियार रहित बाल्टिकको कुरै नउठ्ने’ टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै मेद्भेदेभले सीमाको सुरक्षा पनि मजबुत बनाइने बताए । उनले रुसले सीमा क्षेत्रमा ‘सुरक्षाबल र हवाई प्रतिरोधी प्रणालीको गम्भीर सबलीकरण गर्ने र फिनल्याण्डको खाडीमा उल्लेखनीय मात्रामा नौसैनिक बल परिचालन गरिने’ जनाएका हुन् ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता फिनल्याण्ड र स्विडेनमा नेटोको सदस्यता लिने पक्षमा जनमत मजबुत रहेको बताइएको छ । बेलायती टेलिभिजन च्यानल स्काई न्युजको अनलाइन संस्करणका अनुसार मेद्भेदेभको टिप्पणीको जवाफमा बाल्टिक मुलुक लिथुएनियाका रक्षामन्त्री अर्भिदास अनुसउस्कासले बाल्टिक क्षेत्रमा यसअघि नै रुसी आणविक हतियार रहेको बताएका छन् ।

बीएनएस समाचार संस्थालाई दिएको अन्तरवार्तामा रक्षामन्त्री अनुसउस्कासले युक्रेनमाथि आक्रमण गर्नुअघि नै बाल्टिक क्षेत्रमा रहेको रुसी भूमि कालिनिन्ग्रादमा आणविक हतियार परिचालित रहेको बताए । बाल्टिक समुद्रको किनारमा रहेको कालिनिन्ग्राद क्षेत्रको सीमा नेटो सदस्य मुलुकहरू पोल्याण्ड र लिथुएनियासँग जोडिन्छ ।

‘रुसले अहिले दिएको धम्की अचम्म लाग्दो छ, हामीलाई थाहा छ वर्तमान सुरक्षा अवस्थाको विकास हुनुअघि नै उनीहरुले लिथुएनियाको सीमाबाट १ सय किलोमिटरमा हतियार परिचालन गरेका छन् ।’ उनले भने, ‘कालिनिन्ग्रादमा पहिलेदेखि नै आणविक हतियार राखिएको छ । अन्तर्राष्ट्रिय समुदाय, क्षेत्रीय मुलुकहरुलाई यसबारे राम्रो जानकारी छ । उनीहरुले यसलाई धम्कीको रुपमा प्रयोग गरिरहेका छन् ।’

बुधबार स्विडेनकी प्रधानमन्त्री मगदलाना एण्डरसन र फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले स्विडेनको राजधानी स्टकहोममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । सो अन्तरवार्तामा मारिनले आगामी केही साताभित्र फिनल्याण्ड नेटोमा सहभागी हुनेबारे निर्णय गरिने बताएकी थिइन् ।

श्रीलंकामा प्रदर्शनकारीले सरकारसँग वार्ता नगर्ने

श्रीलंकामा प्रदर्शनकारीले वार्ता गर्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले गरेको आग्रह अस्वीकार गरेका छन् । श्रीलंकाको गल्ले शहरमा ‘गोता गो गामा’ नामक सरकार विरोधी आन्दोलन चलाइरहेका प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

वार्ता प्रस्तावको जवाफमा प्रदर्शनकारीले सरकारसमक्ष दुई माग पेश गरेको जनाइएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिनुपर्ने र श्रीलंकाको सरकारमा रहेका राजपाक्षे परिवारका सबै सदस्यले पनि राजीनामा दिनुपर्ने माग राखेका हुन् ।

यसअघि प्रधानमन्त्री राजपाक्षेले गल्लेको फेस ग्रिनमा सरकारविरोधी प्रदर्शनमा सहभागी युवाहरुसमक्ष वार्ताको प्रस्ताव गरेका थिए । मुलुकमा जारी संकटग्रस्त अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्रीले वार्ताको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

प्रस्तावको जवाफमा प्रदर्शनकारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा नदिएसम्म र राजपाक्षे परिवारका सबै सदस्यले सरकार नछाडेसम्म आफूहरुको प्रदर्शन नरोकिने जनाएका हुन् ।

हाल श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री महिन्दा राजपाक्षेसहित चमल राजपाक्षे, बसिल राजपाक्षे, नमल राजपाक्षे, शशिन्द्र राजपाक्षे र निपुना रनवाकालगायत राजपाक्षे परिवारका सदस्यहरुको सरकार र संसद्मा सहभागिता रहेको बताइएको छ ।

चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हाल श्रीलंकाभर सरकारविरोधी प्रदर्शन चर्किरहेको अवस्थामा प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेका हुन् ।

विश्वभर कोरोना संक्रमित ५० करोड नाघे

विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड १९ लाख ६७ हजार ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमितमध्ये हालसम्म ६१ लाख ९० हजार ३ सय ३७ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८ करोड २१ लाख ९२ हजार ८८० जनामा संक्रमण पुष्टि भएको भइसकेको छ ।

यस्तै, हालसम्म भारतमा ४ करोड ३० लाख ३९ हजार २३, ब्राजिलमा ३ करोड २ लाख १० हजार ८५३, फ्रान्समा २ करोड ७३ लाख १० हजार ५ र जर्मनीमा २ करोड ३१ लाख १६ हजार ४०२ जनालाई कोरोना संक्रमण भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ ।

कोरोनाका कारण ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण १० लाख १४ हजार ११४ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा ५ लाख २१ हजार ७६७,  ब्राजिलमा ६ लाख ६१ हजार ७१०, रुसमा ३ लाख ७२ हजार ५१२ र मेक्सिकोमा ३ लाख २३ हजार ८४८ जनाको मृत्यु भएको छ ।

न्युयोर्क गोलीकाण्डका संदिग्ध बन्दुकधारी पक्राउ

२४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेशनमा मंगलबार भएको बन्दुक हमलाका आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आक्रमणका संदिग्ध फ्रान्क रोबर्ट जेम्सलाई म्यानहटनको इष्ट भिलेज इलाकाबाट गिरफ्तार गरेको हो ।

सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सीएनएनका अनुसार गस्तीमा रहेका प्रहरीले उनलाई गरेका हुन् ।

स्थानीय समयअनुसार मंगलबार बिहान सबवे स्टेशनमा उनले चलाएको गोली लागेर १० जना घाइते भएका थिए भने अन्य दर्जनौँ घाइते भएका थिए ।

घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो । उनले ३३ राउण्ड गोली प्रहार गरेको सीएनएनले जनाएको छ । सो घटना अतिवादी हमलासँग सम्बन्धित भए – नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ‘कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले हेर्दैन ।’

कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले नहेर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले टिप्पणी गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अदानोम गेब्रियेससले युक्रेनलाई गरिएको सहयोगको सानो हिस्सामात्र विश्वका अन्य क्षेत्रमा जारी मानवीय संकटले पाउने उनको भनाइ छ ।

बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वले काला र गोरा मानिसलाई उत्तिकै महत्वले हेर्छ भन्ने मलाइ थाहा छैन ।’

‘विश्वमै प्रभाव पार्ने भएका कारण’ युक्रेनलाई सहयोग गर्नु ‘निकै महत्वपूर्ण’ रहेको उनको भनाइ छ । तर इथियोपियाको युद्धग्रस्त टिगरे प्रान्त, यमन, अफगानिस्तान वा सिरियाले यस्तो महत्व नपाएको उनले बताए ।

‘मैले निकै तीखो र इमान्दार भएर भन्नुपर्दा विश्वले मानव जातीलाई समान रुपमा व्यवहार गर्दैन । केही मानिसहरु अरुभन्दा धेरै समान छन् । र मलाइ यो भन्दा पीडा हुन्छ । किनकी म यो सब देख्छु । स्वीकार गर्न धेरै गाह्रो भएपनि यो क्रम चलिरहेको छ ।’ उनले भने ।

आइभोरी कोष्टका प्रधानमन्त्रीद्वारा राजीनामा

पश्चिम अफ्रिकी मुलुक आइभोरी कोष्टको सरकारले राजीनामा दिएको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार आइभोरियन प्रधानमन्त्री प्याट्रिक अचीले राष्ट्रपति अलासाने औवाटारासमक्ष सरकारको राजीनामा पेश गरेका हुन् ।

राष्ट्रपति औवाटाराले सरकारको राजीनामा सदर गरेको जनाइएको छ । उनलाई औवाटाराले गत वर्षको मार्च महिनामा प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीले राजीनामा बुझाएसँगै अर्को साता सरकारमा मन्त्रीहरुको संख्या घटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने राष्ट्रपति औवाटाराले जनाएका छन् । हाल ४१ मन्त्रालय रहेको आइभोरी कोष्टमा ३० मन्त्रीहरुमात्र समावेश गरी अर्को सरकार गठन गरिने उनको भनाइ छ ।

सानो सरकार विश्वव्यापी आर्थिक अवस्थाविरुद्ध जुझ्न प्रभावकारी हुने भन्दै सरकारको आकार घटाउन लागिएको अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : ४६ बजे

साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक

काठमाडौं – दक्षिण भारतीय नायक विजय थलापति आफ्नो अन्तिम फिल्म

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स