मन्त्री बन्नेको लहरले फेरि फुट नजिक जसपा ! | Khabarhub Khabarhub

मन्त्री बन्नेको लहरले फेरि फुट नजिक जसपा !


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको बदलिदो राजनीतिका योजनाकर्ता, अभियान्ता र निःस्वार्थ पहलकर्ता हुन्, डा. बाबुराम भट्टराई। जो आफ्नो स्वार्थभन्दा माथि आवश्यकता र सबैको सहभागितालाई महत्त्व राख्ने भएर नै नेपाली राजनीतिका सबैभन्दा अस्थिर पात्र बन्न विवश छन्।

उनकै योजना र पहलमा तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वमा समावेशिताको माग सम्बोधन भएको थियो। माओवादीलाई युद्धबाट फर्काएर दिल्लीमा १२ बुँदे सम्झौता हुँदै नेपालको शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए।

त्यसकै बलमा उनले नयाँ संविधान निर्माण, गणतन्त्र घोषणा र संघीयता लागू गराउन अनवरत भूमिका खेले। तर, माओवादीभित्रको किचलो, स्वार्थको लडाइँ र राम्रालाई भन्दा हाम्रालाई च्याप्ने होडबाजीले बाबुराम माओवादी छाडेर नयाँ शक्ति बनाउनतिर लागे।

त्यो नयाँ शक्ति उनको चाहनामा बन्यो। तर, बाहनामा चल्न सकेन। र, त्यसलाई उनले तत्कालीन संघीय समाजवादी पार्टीमा विलय गराए। किनकी उनले संघीय समाजवादीले बोकेको आदर्श र राजनीतिक लाइनलाई आत्मसात गरेका थिए।

संघीय समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी मिलेर जनता समाजवादी पार्टी बन्यो। तर, यो एकता लामो समय टिकेन। पार्टी फुट्दा महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नयाँ बन्यो।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई निर्णायक रहे। तर, दुई नेताबीच पनि लामो संघर्ष चल्यो। जुन अहिले पनि चलिरहेकै छ। मौका पर्दा एकले अर्कालाई अल्पमतमा पार्ने प्रयास जारी छ। अहिले उपेन्द्र यादव बहुमतमा छन्। बाबुरामलाई अल्पमतमा राखिएको छ।

यसबीचमा गुटको फाइदा लिएर बाबुरामलाई समर्थन गरेका तर मन्त्री बन्नका लागि उपेन्द्रसँग निकट देखिएका मोहम्मद इस्तियाक राई र प्रदीप यादव मन्त्री बनेका छन्। दुवैले मन्त्री पदका लागि बाबुरामको गुट छाडेको चर्चा छ।

यो नौलो श्रृङ्खला होइन, मधेसवादी नेता अवसर, आवश्यकता र पदका लागि जतिबेला पनि फुट्न सक्छन्। जतिबेला पनि जुट्न सक्छन् भन्ने उदाहरण धेरै छन्। यसअघि जसपा एकतामै रहेका बेला पनि धेरै नेताहरु मन्त्री पदका लागि पार्टी फुटाउन तयार भएका थिए।

अन्ततः पार्टी फुटाएर उनीहरुले सरकारमा जाने आउने गरिरहेका पनि थिए। मधेसवादी नेताहरु सरकारमा सहभागी हुन जतिबेला पनि पार्टी फुटाउन र जुटाउन तयार हुन्छन्। यही समस्याका कारण ठूला पार्टीले उनीहरुलाई मन्त्री पदको ‘ललिपप’ देखाएर आफूअनुकुल प्रयोग गर्ने गरेका छन्।

अहिले त्यही मोडमा बाबुराम सम्मिलित जसपा पनि उभिएको छ। यसअघि सरकारमा रहेका तीन जना मन्त्री फिर्ता बोलाएर जसपाले नयाँ मन्त्री पठायो। जसपामा आवश्यकताभन्दा बढी स्वार्थ हावी थियो। सुरुमा उपेन्द्र यादव स्वयंम् पनि पार्टीभन्दा बढी सत्तामा केन्द्रित थिए। अहिले पनि उनी पार्टीको आकारलाई बढाउन सत्ता केन्द्रित छन्।

केही समयअघि उनी जसपा फुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट भएका थिए। तर, त्यो लामो समय टिकेन। गठबन्धनबाट अलग हुनका लागि उनले ओलीसँग सहयोग पनि मागेका थिए। बाबुराम गठबन्धनसँग नजिक छन्। तर, उनी पार्टीमा आफ्नो भूमिका र जिम्मेवारी छाड्न चाहदैनन्।

पार्टीमा बहुमतको दम्भ देखाएर उपेन्द्र यादव बाबुरामलाई निकाल्न चाहेको खबर पनि यसबीचमा सार्वजनिक भएका थिए। दुवै नेता आफ्नो गुटको बचाउमा मात्रै रहेकाले पनि जसपाको राजनीतिक संघर्षभित्र साना नेताहरु परेका छन्। जो सत्ता र मन्त्री पदका लागि गुट फेर्ने गरेको तथ्य पनि राई र यादवबाट पुष्टि भइसकेको छ।

यस्तो अवस्थाले भोलिका दिनमा जसपा सत्ताका लागि फेरि फुट्ने र मन्त्रीका लागि नेताहरु गुट फेर्ने क्रम बढ्नेछ। यसले पछिल्लो समय बहुमत र संख्याले ठूलो आकार ग्रहण गरेको जसपा पनि फुटबाट ग्रसित हुने पक्कापक्की जस्तै छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ९ : ०० बजे

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिने

काठमाडौं- केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

काठमाडौं– केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

काठमाडौं– निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका