दिनभर आज: यी हुन् तपाईंले थाहा पाउनुपर्ने मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले थाहा पाउनुपर्ने मुख्य समाचारहरू


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यी हुन् आज दिनभरका मुख्य समाचारहरूः

सरकारले हतियार किन्ने निर्णय गरेको छैनः प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

देशमा विदेशी विनिमय सञ्चिति घट्दै गएको र आर्थिक सङ्कटको लक्षण देखिएको बेला सरकारले हतियार खरिद गर्न लागेको भन्दै पार्टीकै नेताहरूले आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको जवाफ मागेका थिए ।

जवाफमा देउवाले अहिले हतियार किन्ने कुनै निर्णय नभएको भन्दै योजना नै नभएको विषयमा आफ्नो आलोचना नगर्न आग्रह गर्नुभएको नेता रामहरि खतिवडाले जानकारी दिए ।

यो विषयमा देउवाको बोली र व्यवहार फरक हुसक्ने भन्दै विश्वस्त हुन नसकिएको नेताहरूको प्रतिक्रिया छ ।

सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै आलोचना भइरहेको छ ।

संसदमा एमालेले गरायो सभामुखको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको लेखा समितिको सभापति आफूले पाउनुपर्ने माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा लेखा समितिका सभापति भरत शाहले वार्षिक प्रतिवेदन गर्न लाग्दा एमाले सांसद राजेन्द्र गौतमले सार्वजनिक लेखा समितिको नेतृत्वको प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने जिकिर गरे ।

उनले संसदीय मूल्य र मान्यताअनुसार पनि सो समितिको सभापति आफूहरूले पाउनुपर्ने दाबी गरे ।

अहिलेसम्मको अभ्यास, परम्परा र मूल्यमान्यताको हिसाबले पनि लेखा समितिको नेतृत्व विपक्षी दलले गर्दै आएको अभ्यास रहेको भन्दै उनले गठबन्धन सरकार बनेको १ वर्ष बित्दा पनि लेखा समितिको नेतृत्वमा सरकारको छाया देखिएको तर्क गरे ।

बैठकमा समिति सभापति शाहले सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश गरे । त्यस्तै बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय विशेष समितिमा रहेको सदस्यको नाम हेरफेर गर्दै पुष्पा भुसालको ठाउँमा मीन विश्वकर्मालाई राखेको छ ।

जनार्दन शर्मामाथिको छानविन समितिमा हेरफेर

करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।

समितिमा रहेकी पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मीनबहादुर विश्वकर्मालाई उठाएको हो ।

आज बसेको प्रतिनिधिसभाको बैठकले उक्त निर्णय स्वीकार गरेको छ । असार २२ मा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

गभर्नरले तत्काल राजीनामा दिनुपर्छः नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे ।

२०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ । उनले यस बिषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन नगरेको भन्दै गर्न सक्ने स्थिति पनि होला कि नहोला भन्ने प्रश्न गम्भीर रहेको बताए ।

त्यस्तै उनले अघिल्लो सरकारले विरोध गरेको संवैधानिक परिषदसम्बन्धीको विधेयक अघि बढाउन नहुने जिकिर गरे ।

उपसभामुखको उम्मेद्वारी दर्ता

प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसाल र प्रतिपक्षी नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् ।

भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा आज मनोनयन दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छिन् ।

उम्मेद्वारी दर्ता गर्दै भुसालले सदनसँग जोडिएका विषयवस्तुलाई प्रभावकारी उठाउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न उम्मेदवारी दिएको बताइन् ।

त्यस्तै एमालेकी उम्मेदवार भट्टराईको प्रस्तावकमा सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् ।

उम्मेद्वारी दर्तापछि भट्टराईले संसदको गरिमामय पद लामो समयदेखि रिक्तता रहेको र अब निर्वाचन हुन लागेकाले उम्मेद्वारी दर्ता गराएको बताइन् । प्रतिनिधिसभामा शुक्रबार उपसभामुखको निर्वाचन हुँदैछ ।

नयाँ ऐन ल्याउन खोज्दा रोक्ने षडयन्त्र भयोः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले माग गरेअनुसारका नयाँ ऐन ल्याउन खोज्दा रोक्ने षडयन्त्र भएको बताएका छन् ।

विकल्प फाउण्डेशनले बिहीबार ललितपुरमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परितर्वन मन नपराउनेहरुले अहिले पनि संविधानमा उल्लेख अधिकार तल्लो तहमा लैजान कानून निर्माण गर्दा अवरोध सिर्जना गर्न खोजेको बताएका हुन् ।

अहिले पनि केही नेताहरु संघीयता नै खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहेको र देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजाने प्रवृति देखापरेको उनले दाबी गरे । साथै उनले आफूहरु जनताको हक अधिकारलाई थप बलियो गर्दै अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको धारणा राखे ।

उनले मुलुकलाई अघि बढाउन अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताए ।

प्रचण्डले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राखे ।

वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुने

सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानविन गर्ने भएको छ ।

आज आगलागी भएको स्थानको निरिक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानविन समिति गठन गर्ने बताएकी हुन् । उनले गोदाममा विद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने आशंका व्यक्त गरिन् ।

आगलागीबाट करौडौँको क्षति भएको र आवश्यक कागजपत्र लगायतका सामग्री नष्ट भएको बताइन् ।

आगलागीको घटनामा संलग्नलाई कारवाही गर्ने पनि उनले बताइन् । बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरुपमा जलेर नष्ट भएको छ ।

जसपा नेत्री रेणु यादवद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री रेणु यादवले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

यादवले आज विज्ञप्ति निकालेर जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पद परित्याग गरेको घोषणा गरेकी हुन् ।

वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकाले जसपा नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेकी छिन् ।

यादव यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिइन् तर अध्यक्ष उपेन्द्र यादवले फिर्ता बोलाएसँगै उनी असन्तुष्ट थिइन् ।

नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण

नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २७ पीसीआर परीक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परीक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

ललितुरमा १५ जनामा डेंगुको संक्रमण

ललितपुरमा १५ जनामा डेँगुको संक्रमण देखिएको छ ।

असार ९ गते पहिलोपटक देखिएको डेँगु संक्रमण ३० गतेसम्म आइपुग्दा १५ जनामा देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । संक्रमितहरू ललितपुर महानगरपालिकाको वडा नम्बर ५ र आसपासका बासिन्दा भएको स्वास्थ्य कार्यालय ललितपुरकी र्‍यापिड रेस्पोन्स टिमकी फोकल पर्सन गीता आचार्यले जानकारी दिइन् ।

ललितपुरको गणेशमानसिंह मेमोरियल अस्पतालबाट संक्रमण पुष्टि भएका उनीहरूमा गम्भीर असर भने नदेखिएको आचार्यले बताइन् ।

गभर्नरको राजीनामा माग्दै अखिल क्रान्तिकारीको प्रदर्शन

अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा माग गर्दै आज पनि प्रदर्शन गरेको छ ।

काठमाडौंस्थित प्रदर्शनीमार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो ।

गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने संगठनले जनाएको छ ।

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक एक लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभन देखाई दुई जना पीडितबाट उनले ११ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।

रकम लिएपछि सम्पर्क विहिन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ वसुन्धाराबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर सामान्य बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज नबिल प्रगति फन्डको शेयर १० प्रतिशतले तथा माथिल्लो तामाकोशी जलविद्युत् र प्रभु सेलेक्ट फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढे पनि प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

करदाताको संख्या बढ्यो

करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७÷७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।

प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो ।

त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १० : १३ बजे

प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कोष

संसदीय उपसमितिले समितिलाई बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा

झिनो अंकले घट्यो नेप्से 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ– पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड