साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१ . गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित 
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटसम्म स्थगित भएपछि ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि साउन  ३१  लागि बैठक स्थगित गरिएको हो । प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ ।

आज बसेको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । यस्तै सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित  गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए ।

२ . सरकारद्वारा विश्व बैंकबाट प्राप्त १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार
सरकारले कर्मचारीहरूको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न  आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाईल्याण्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।  विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने गरेको छ भने जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिए  ।

त्यस्तै बैठकले सप्तकोशी बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद्संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको उनले बताए ।

३ . संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा 
संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेस प्रदेश सरकारका मन्त्रीहरुले आजदेखि धर्ना दिन सुरु गरेका छन् ।मधेस भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको र आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको  हो । जसअन्तर्गत आजदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरूले तय गरेका छन् ।

४. हत्यारालाई कडा कारबाहीको माग गर्दे वीरगन्जमा प्रदर्शन
बाराको विश्रामपुर गाउँपालिका– ५ ईटियाहीका बासिन्दाले  आज वीरगन्जमा प्रदर्शन गरेका छन् । गाउँकै २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन् ।

गत साउन २५ गते वीरगन्ज ट्युसन पढ्न आएका राजकुमार घर नफर्किएपछि  परिवारले आफन्त र साथीभाइकोमा खोजतलास गरेका थिए । राजकुमार नभेटिएपछि  उनका परिवारले जिल्ला प्रहरी कार्यालय बारामा  गत साउन २६ खोजीका लागि निवेदन दिएका थिए  ।

प्रहरीले खोजतलास गर्ने क्रममा साउन २७ गते भारतको बिहार भागलपुर जिल्लाको भागलपुर रेल्वे स्टेशन नजिकै राजकुमारको शव भेटिएको  र भारतीय प्रहरीसँगको समन्वयमा शव वीरगन्ज ल्याई सकिएको प्रहरीले जनाएको छ ।

 घटनामा सलंग्न दुईजना आरोपतिलाई प्रहरीले पक्राउ गरिसकेको छ । राजकुमारका छिमेकी  विश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई वीरगन्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको  छ ।

५. सेयर बजार परिसूचक नेप्से राताम्मे
साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से राताम्मे भएको छ । नेप्से आज  २७ दशमलव ९२ अंक घटेर २ हजार १० बिन्दुमा पुगेको हो ।

२ सय २७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर कुल १ अर्ब ८७ करोड  ३२ लाख ८१ हजार  ८ सय ९७ रुपैँयामा कारोबार भएको छ । आज सबै सूचकहरु ओरालो लागेका छन् । अपर हेवाखोलाको मूल्य ८ प्रतिशत बढेको छ ।  यस्तै गुराँस लघुवित्तको मूल्य ७ प्रतिशत घटेको  छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ, शिवम् सिमेन्ट, स्वावलम्बन लघुवित्त र नबिल बैंक अगाडि रहेका छन् ।

६. यात्रुवाहक बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु 
पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु  भएको छ । अन्य अन्य पाँच जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ ।  घटना लगत्तै १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरूले बताएका छन् ।

यद्यपि  भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको समाचारमा जनाइएको छ ।घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

७. साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने 

श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

प्रतियोगितामा नेपाल समूह ’बी’ मा रहेको छ  । नेपालको समूहमा भारत र भुटान रहेको छ ।नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्  । फाइनल खेल  सेप्टेम्बर १४ मा हुनेछ ।

८. फुटबलर श्याम थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा स्वागत 
भारतका लेजेण्ड फुटबलर श्याम थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वागत गरेको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा  आज एन्फाले थापालाई स्वागत गरेका हुन्।

 कार्यक्रममा एन्फाका मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिराट जंग शाही, दावा लामा, दीपक खतिवडा लगायत एन्फाका पदाधिकारीको उपस्थिति रहेको थियो ।कार्यक्रममा फुटबल विकासको बारेमा छलफल भएको थियो ।

 नेपालमा जन्मिएका थापा भारतीय फुटबलको सर्वश्रेष्ठ नाम हो ।उनी ब्वाइज युनियन क्लबको निमन्त्रणामा नेपाल आएका हुन् ।

९. थप ४५५ जनामा कोरोना पुष्टिपछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् ।हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

१०. अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग रु ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी रु १४ हजार बैंक खातामा ट्रान्सफर गर्न लगाएको र रु ३० हजार उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको भन्दै आयोगले बिगो रु ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ०९ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द