‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’ | Khabarhub Khabarhub

‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका–८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपरेका छन्। सत्तरी वर्षीया कोइराला केउरिनी–दुवाचौर खैँजडी भजन संरक्षण समिति बनाएर लोकभजनको संरक्षण र संवर्द्धनमा लागेका छन्।

उनी अहिले मेलम्ची नगरपालिकाभित्र मात्रै नभई सिन्धुपाल्चोक जिल्लाकै विभिन्न गाउँ–गाउँमा पुगिरहेका छन्। हिन्दु धर्म–संस्कृतिमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको लोकभजनमा रामचरित्र, कृष्णचरित्र, महाभारतलागायतका पौराणिक कथालाई लयबद्धरूपमा छोटो टुक्का बनाइन्छ। सो टुक्कालाई खैँजडीको तालमा लयबद्धरूपमा गाउँदै नाचिन्छ खैजडी भजनमा।

परापूर्वकालदेखि चल्दै आएको संस्कृति पुस्तान्तरण नहुँदा भने समस्या भएको छ। पछिल्लो पुस्ताले सिक्न नचाहेकै कारण खैँजडी लोकभजन सङ्कटमा परेको छ। पुरानो लोकसंस्कृतिलाई बचाउन राज्यस्तरबाटै युवापुस्तालाई प्रेरित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने भजन समूहको भनाइ छ। तर मेलम्ची–७ दुवाचौरका दिनेश पौडेल भने कोइराला बाजेसँगै हिँडेर अहिले कथा भट्याउन सिकिरहेका छन्। बाइस वर्षीय पौडेल संस्कृति संरक्षण गर्दै नयाँपुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउन आफू सक्रियतापूर्वक लागेको बताउँछन्।

भजन गाउनकै लागि समूह बनाएर रातभरि पनि गाउँदै नाचेको अनुभव छ कोइरालासँग। ‘पहिले भजन गाउँदाका रौनक छुट्टै हुन्थ्यो। सामाजिक सद्भाव र एकापसमा आत्मीयता बढ्थ्यो’, आफ्नो लोकसंस्कृति लोप हुँदै गएकामा उनले दुःखेसो पोखे, ‘अहिलेका छोरा नाति आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सेर पश्चिमी संस्कृतिका भड्किला गीतमा रमाइरहेका भेटिन्छन्।’ सत्यनारायण पूजा, व्रतबन्ध, अन्य धार्मिक कार्यमा खैँजडीको तालमा भजन गाएर नाच्ने गरेको उनले सुनाए। आफ्नो विगत सम्झिँदै कोइरालाले भने, ‘छोरा–नाति सबैले खैँजडीको तालमा लोकभजन गाउन, नाच्न बिर्सिए। खैँजडी लोकभजन जोगाउनकै लागि भजन समूहलाई साथ दिएको हुँ।’ उनको जाँगर र फूर्ति देखेर पनि खैँजडी भजन समूहले उनलाई भरपुर साथ दिइरहेका छन्।

बाउबाजेले मान्दै र मनाउँदै आएका केही संस्कृति पछिल्लो पुस्ता अपनत्व नलिँदा लोपोन्मुख हुँदै छ। गाउँघरमा अत्यधिक रुचाइएका यस्ता संस्कृति पुस्तान्तरणमा अझै समस्या छ। युवावर्गको आकर्षण, चासो, लगनशीलता संस्कृति संरक्षणको तत्कालीन आवश्यकता हुन्। अहिले पनि केही युवाहरूमा यसको चासो भने रहेको पाइन्छ। लोलीमा लोली मिलाउनेहरूको भन्दा पनि अहिले कथा प्रस्तुतकर्ताको अभाव छ। भजन संरक्षणका लागि झ्याली, खैँजडी, मादललगायत आवश्यक सामग्रीको अभाव पनि त्यत्तिकै छ। स्थानीय तहलगायत विभिन्न निकायले यसबारेमा सहयोग गरेमा सजिलो हुने अपेक्षा कोइरालाको छ।

खैँजडीसँगै कोइरालासँग बालनटोली पनि छ। विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच बिस्तारै लोप हुँदै जान थालेको छ। अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरूको बालन नाच लोप हुन थालेकामा बिचारी भारती चिन्तित छन्।

बाजेपुर्खाले परम्परागतरूपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आए पनि अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलेकाले संस्कृति लोप हुने खतरा बढेको भारती बताउँछन्। बालन नृत्य दिनानुदिन लोप हुन थालेको विषयमा मेलम्ची–७ का पिताम्बर भारती त निकै दुःखेसो व्यक्त गर्छन्। उनले गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेको सुनाउँछन्। उनी भन्छन्- ‘यस्तो कार्यले बाजेपुर्खाको पालादेखि निरन्तर चल्दै आएको यो संस्कृति बचाउन सहयोग मिल्छ।’

अहिले यस्ता पर्वमा डिस्को, हिन्दी, अङ्ग्रेजी गीत गुञ्जने र अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको स्थानीयवासी भारतीको भनाइ छ। विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरूपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा संस्कृति संरक्षण समिति सदस्यहरू बताउँछन्।

हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको खाँटी परम्परामा आधारित बालन नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो लोप हुने अवस्थामा पुगेको उनीहरुको ठहर छ। अबका युवालाई खैँजडी भजनसँगै बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा भजनकीर्तन बालन नृत्य अनिवार्यरूपमा प्रदर्शन गर्ने हो भने यो संस्कार र संस्कृतिको संरक्षण हुने उनीहरूको भनाइ छ।

हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा पाका स्थानीयवासीको पनि जोड छ। स्थानीयवासी सिद्धिनारायण श्रेष्ठ यसको जगेर्ना गर्ने जिम्मा स्थानीय तहको पनि रहेकाले यस विषयको तालिम सञ्चालन गरी संरक्षण गर्न आग्रह गर्छन्। निकै प्रचलित खैँजडी भजन पछिल्लो समय लोप हुँदै गएको छ। हिन्दु धर्ममा निकै प्रचलित खैँजडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादका रुपमा देख्न पाइन्छ।

युवापुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा लोप हुँदै गएको हो। युवाको पुरानो संस्कृतिमा आकर्षण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालिमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उनको भनाइ छ।

सहयोग गरिने

माग भई आएमा तालिम सञ्चालनमा सहयोग गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए। उनले कला संस्कृति जोगाउन नगर तयार रहेको बताए।

यहाँका स्थानीय तहले विभिन्न कार्यक्रममा टोलीलाई बोलाएर चाडबाड मेलामा भजन गाउन लगाउने गरेका छन्। पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पालिकाको सहयोगमा जनै पूर्णिमामा यस टोलीले भजन प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ४१ बजे

हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो

म्याग्दी– हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व

विराटनगरमा छठको उल्लास : अस्ताउदो सूर्यलाई दिइयो अर्घ्य

विराटनगर– छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना

मानव तस्करसँग कोशीका मन्त्रीको उठबस : जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा

काठमाडौं- कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ

अर्थसंक्षेप : अर्को साताभित्र बंगलादेश बिजुली निर्यात हुँदै, एकैदिन चार हजारले घट्यो सुनको मूल्य

काठमाडौं- अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने

काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी