काठमाडौँ – डा. हरिबहादुर (हरिवंश आचार्य) अर्थात् वरिष्ठ हुन्डी विशेषज्ञ । यनले हुन्डीमा विद्यावारिधि गरेको चाहिँ कुनै विश्वविद्यालयबाट हैन । अवैध हुन्डी दलालीको काममा खप्पिस भएकाले हरिबहादुर आफूलाई डाक्टर नै ठान्छन् ।
विदेशमा रहेका नेपालीका आफन्तलाई हुन्डीबाटै पैसा मगाउन उक्साइरहेका हरिबहादुर र उनका साथीलाई एउटा कुकुर (जोन)ले देखि सहँदैन । मानौँ, ‘हुन्डी’ गैर कानुनी हो भन्ने चेत त्यो कुकुरलाई समेत हुन्छ । उसले हरिबहादुरलाई भुक्दै लखेट्न थाल्छ ।
कुकुर अघिअघि, हरिबहादुर पछिपछि । एक ठाउँमा मोटर साइकलमा दुई युवा आइरहेका हुन्छन् । हरिबहादुरले ती युवासँग सहयोगको याचना गर्छन् ।
‘हेर्दै चोरजस्तो देखिन्छ’, एक युवा भन्छन् । ‘हामी कहाँको चोर हुनु, हामी त हुन्डीको स्वयंसेवक’, हरिबहादुर भन्छन् । ‘हेर्नुस् हुन्डी भनेको गैर कानुनी काम हो नि, यस्तो काम गर्ने मान्छेसँग हामी बोल्दैनौँ’, युवा भन्छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वित्तीय सूचनासम्बन्धी जनचेतनामूलक सन्देशका रूपमा निर्मित लघु चलचित्र ‘हुन्डी’को दृश्य हो यो । नेपाल बैंकर्स सङ्घसँगको सहकार्यमा निर्मित यो चलचित्रले हुन्डी कारोबार कुन हदसम्म जोखिमपूर्ण हुनसक्छ भन्ने देखाउन खोजेको छ ।
नेपालमा बन्ने प्रायः सन्देश र चेतनामूलक चलचित्रहरू निरस र कता कता विज्ञापनजस्ता देखिँदै आएकोमा चलचित्र ‘हुन्डी’ले पूर्ण मनोरञ्जनपूर्ण ढङ्गले दर्शकमा सन्देश दिन खोजेको छ । अर्थात् चलचित्र हेर्दा दर्शक हाँस्दै रमाउँदै सार्थक सन्देश ग्रहण गर्छन् ।
कलाकारहरू हरिवंश आचार्य, सबिन श्रेष्ठ, अनु शाह, किरण केसी, किरण तुलाधर, मुकुन्द अधिकारी, नानु बस्नेत, राजु भुजु, प्रिया रिजाल, रामेश्वर केसी, रोशनी भट्टराईको अभिनयले दर्शकलाई एक मिनट पनि पट्यार लाग्नै दिँदैन ।
‘हुन्डी’को कथा सुरु हुन्छ, जग्गा बिक्रीको प्रसङ्गबाट । विदेशमै सेटल भएका एक नेपाली युवा आफ्नो पुर्ख्यौली जग्गा बेच्न नेपाल आउँछन् । उनको भेट हरिबहादुरसँग हुन्छ, जसले एक जना हुन्डी साहुसँग जग्गा धनीको भेट गराइदिन्छन् । हुन्डी साहु आनाको ३५ लाखका दरले ३० करोडमा जग्गा किन्न तयार हुन्छन् । त्यति मात्र हैन, जग्गा बेचेको रकम हुन्डीमार्फत विदेशसम्म पुर्याइदिने जिम्मासमेत लिन्छन् ।
त्यसपछि हुन्डी साहुले कसरी ठगी गर्छ, जग्गा धनीको पैसा कसरी डुब्छ र घटनाक्रम कसरी अगाडी बढ भन्नेमै चलचित्र घुमेको छ । ठगिने व्यक्तिप्रति चलचित्रले कुनै दया भाव देखाउँदैन, किनकि हुन्डी कारोबार गैर कानुनी हो भन्ने जान्दा जान्दै पनि उनले त्यसलाई अपनाएका हुन्छन् ।
चलचित्रमा सन्देश दिइन्छ, ‘यी व्यक्ति पनि दोषी हुन् किनभने अवैध रकम ओसार पसार गर्ने र त्यसमा संलग्न हुने सबै कानुनका आँखामा दोषी हुन्छन् ।’
कलाकार मदनकृष्ण श्रेष्ठको आलोकमय मुहार अन्तिममा देखिन्छ, सन्देशवाहकका रूपमा । उनी भन्छन्, ‘कुनै पनि आर्थिक कारोबार गर्दा बैङ्किङ प्रणालीबाट मात्रै गर्नुहुन अनुरोध छ । पछिल्लो समय ठगीका केही घटनाहरू बढिरहेकाले इन्टरनेट र मोबाइल बैङ्किङ प्रयोग गर्दा आफ्नो विवरण, पिन नम्बर, खाता नम्बर, गोप्य राख्नुपर्छ । बैङ्किङ प्रणालीबाट रेमीट्यान्स पठाउँदा र प्राप्त गर्दा सुरक्षित र बढी व्याज पनि प्राप्त हुन्छ, हुन्डीबाट पठाउनु गैर कानुनी हो ।’
हरिबहादुरको अभिनय बेजोड छ । किरण केसीको अभिनयले रौनक थपेको छ, जोसँग हरिबहादुरको रोचक नोकझोंक चलिरहन्छ । टेलिसिरियलमा दर्शकले औधी मन पराइएकी अभिनेत्री प्रिया रिजाललाई पनि झलक्क देख्न पाइन्छ, जुन चलचित्रको सौन्दर्य हो । बीचबीचमा हल्का गाना बजाना पनि छ । ठग हरिबहादुरको मोटरसाइकल चोरको फन्दामा पर्ने सिक्वेन्स पनि कम रोचक छैन । जे होस्, ‘हुन्डी’को कथा र विषयवस्तुबाट खासमा मल्टीप्लेक्स हलहरूमै प्रदर्शन गर्न मिल्ने ठुलै चलचित्र निर्माण गर्न सकिन्छ ।
मह सञ्चारको युट्यूब च्यानलमा राखिएको यो चलचित्र अहिले दिनप्रतिदिन ट्रेन्डिङमा छ । चलचित्र जति ट्रेन्डिङमा रहन्छ, हुन्डीविरुद्धको जनचेतना त्यति बढ्ने आशा गर्न सकिन्छ ।
के हो हुन्डी ?
२०७८ पुसमा हुन्डी कारोबारको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गर्यो । श्रोत नखुलेको ६ लाख रुपैयाँसहित हुन्डी कारोबारी भारत, मोतिहारीका जादोलाल साह र मोतिहारीकै बिग्नन साह पक्राउ परेका थिए ।
यो त एउटा उदाहरण मात्र हो । केही समय यता श्रोत नखुलेको रकमसहित हुन्डी कारोबारी पक्राउ पर्न थालेका छन् । यसबाट देशकै अर्थतन्त्रमा नकारात्मक असर पार्ने हुन्डी कारोबार कुन हदसम्म मौलाएको छ भन्ने स्पष्ट हुन्छ ।
अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स नै हुन्डी हो । हुन्डी विभिन्न देशमा पैसाको कारोबार गर्ने अवैध तरिका हो । हुन्डीका कारोबारी विभिन्न देशमा रहेका हुन्छन् । उदाहरणका लागि नेपालबाट भारतमा पैसा पठाउन भारतमै हुन्डी कारोबारी हुन्छ । नेपालको हुन्डी दलाललाई पैसा दिएपछि भारतमा भएको दलालले आफूले चाहेको व्यक्तिलाई पैसा दिन्छ । हुन्डी दलालहरुले यसबापत केही प्रतिशत कमिसन लिन्छन्।
हुन्डीबाट पैसा पठाउनु जोखिमपूर्ण हुन्छ । यसमा ठगिने मात्र हैन, कानुनको फन्दामा परिने भय रहन्छ । सुरक्षित र भरपर्दो बैङ्किङ प्रणाली हो। तर, कम समयमै पठाउन सकिने र पैसाको स्रोत खुलाउन नपर्ने भएकाले विश्वमा विभिन्न आतङ्कवादी सङ्गठन, लागू औषध कारोबारी, काला बजारिया र अवैध धन्दा चलाउनेहरुले हुन्डीको उपयोग गर्दै आएका छन् ।
यसरी अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्स कुनै पनि देशको हितमा हुँदैन । यसले विदेशी मुद्रा संचिती घटाउने मात्र हैन, गैर कानुनी व्यवसाय र अपराध बढाउँछ। प्रहरी सूत्रका अनुसार लागू औषध कारोबार र सुन तस्करीको पैसा हुन्डीबाटै लिने/दिने गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–७८ मा ६२ लाख २९ हजार रुपियाँसहित प्रहरीले २२ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको थियो । बैङ्किङ च्यानल वा राष्ट्र बैंकबाट अनुमति प्राप्त वित्तीय संस्थामार्फत कारोबार नगरी कोडका आधारमा हुन्डीमार्फत भुक्तानी लिने-दिने अवैध कारोबारका कारण धेरै सोझासाझा ठगिने गरेका छन् । तर, ठगिएकोमा पश्चात्ताप गर्नुभन्दा पहिला आफै सजग हुन उचित हो ।
प्रतिक्रिया