काठमाडौँ– रनवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ । आयन मुखर्जीद्वारा निर्देशित यो फिल्म सन् २०२२ को प्रतीक्षित मध्येको एक हो । आगामी सेप्टेम्बर ९ मा प्रदर्शन हुने फिल्मको पहिलो भागलाई ‘शिव’ भनिएको छ । सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको फिल्मको सार्वजनिक ट्रेलरमा भारतीय इतिहासलाई आधुनिकतासँग जोडेर ‘फेन्टासी’ कथावस्तु चित्रण गरिएको छ ।
फिल्ममा रनवीरले शिवको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा अग्नि अस्त्र बनेका छन् । उनले आफ्नो क्षमता बुझ्ने र आफू झैँ अस्त्रहरूको समीपमा पुग्ने कथालाई पहिलो भागमा निर्देशक मुखर्जीले समेटेका छन् । फिल्ममा आलियाले इशाको भूमिका निर्वाह गरेकी छिन् ।
शिव अर्थात रनवीरको प्रेम इशा अर्थात आलियासँग बस्छ । उनीहरूको प्रेमसँगै शिवको अस्त्रहरुको समिश्रण र राक्षसहरुको लडाइँलाई फिल्ममा चित्रण गरिएको छ । निर्देशक मुखर्जीले एस्ट्राभर्स नामक सिनेम्याटिक युनिभर्सको निर्माण गर्ने योजना अनुसार ‘ब्रह्मास्त्र’ आउने बताए । तीन भागमा बन्ने फिल्मको अन्य दुई भाग पनि आउने छ । निर्देशक मुखर्जीको अनुसार यो भारतको पहिलो सिनेम्याटिक युनिभर्स भनिएको छ ।
प्रतिक्रिया