आज असार १, २०७९ अर्थात् अंग्रेजी क्यालेन्डर अनुसार जुन १५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
जर्मनीमा फेरि कोराना सङ्क्रमित बढ्दै
जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । जर्मन स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको छ ।
त्यहाँ मंगलबार १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संख्या गएको अप्रिल महिनादेखि पहिलो पटक यतिधेरै सङ्क्रमित देखिएका बताइएको छ ।
जर्मनीमा गएको अप्रिल महिनामा ओमिक्रोन भेरियन्ट आएपछि दैनिक करिब १ लाख सङ्क्रमित पुग्ने गरेका थिए । त्यसपछि पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमितहरु घट्दै गएकामा अहिले दैनिक १ लाख जति पुग्न लागेका बताइएको छ ।
जर्मन सरकारले सार्वजनिक स्थलहरुमा हुने जमघट तथा अन्य कतिपय कार्यहरुमा आगामी दिनमा के कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिरहेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
युएईमा चर्को घाममा कामदारलाई काममा लगाउन रोक
खाडी राष्ट्रहरूमा गर्मी बढेसँगै श्रमिकहरूलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ ।
युएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन कम्पनीहरूलाई अनुरोध गरेको छ ।
नयाँ नियम अनुसार श्रमिकले दैनिक कामको अवधि ८ घण्टा गर्नु पर्नेछ । यदि कसैले २४ घण्टा भित्र आठ घण्टा भन्दा बढी काम गर्दछ भने, अतिरिक्त समय ओभर टाइम मानिनेछ, जसको लागि कामदारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।
रोजगारदाता कम्पनीहरूले दैनिक काम गर्ने घण्टाको तालिका कार्यस्थलमा एक प्रमुख साइटमा राख्नु पर्नेछ, र अरबी बाहेक अन्य भाषामा पनि लेख्नुपर्दछ, जुन कामदारहरूले सजिलै बुझन सक्ने हुनुपर्ने छ ।
कम्पनीहरूले सरकारले जारी गरेको नियमको उल्लङ्घन भएको पाइएमा प्रत्येक एक व्यक्ति कम्पनीले ५ हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ ।
यदि नियम विपरीत कम्पनीले धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । युएईमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।
यसअघि नै कतारले खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समय सीमा तोकिसकेको छ भने कुवेतले पनि १ जुनदेखि ३१ अगस्टसम्म यो नियम लागू गरिसकेको छ ।
अष्ट्रेलियामा कार्यरत कामदारको तलब बढ्यो
अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बढाइएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बढेकाले कामदारहरुको सेवा सुविधा पनि बढाउनु परेकोले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो ।
स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्युनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो ।
हरेक मजदुरले सातामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक बढाउन आग्रह गरेका थिए ।
तर विभिन्न कर्मचारी सङ्गठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बिचमा रहेर ५.२ प्रतिशत बृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।
आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन दबाब दिने गरेको बताए ।
उनले भने, “विषेश गरेर तल्लो तहका कर्मचारीहरुले तलब धेरै पढाउन पटक पटक दबाब दिदै आएका थिए ।”
पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफ स्वदेश फर्किने
स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ ।
उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओएले जनाएको छ ।
उपचारका लागि जमानतमा विदेश जान अनुमति पाएका मुसर्रफ सन् २०१६ देखि संयुक्त अरब इमिरेट्समा बस्दै आएका थिए । त्यतिबेला उनीमाथि देशद्रोहको मुद्दा चलिरहेको थियो । पछि उच्च अदालतले उनीविरुद्धको मुद्दा खारेज गरेको थियो ।
गत साता सञ्चारमाध्यमहरूमा उनको बिग्रिएको स्वास्थ्यस्थितिबारे समाचार सार्वजनिक गरेका थिए । ती समाचारको खण्डन गर्दै मुसर्रफको परिवारले स्वास्थ्यलाभ हुने कठिन चरणबाट उनी गुज्रिरहेका बताएका थिए ।
यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पूर्वराष्ट्रपतिको स्वास्थ्यलाई दृष्टिगत गरी उनको स्वदेश आगमनमा कुनै अवरोध नहुने बताएका छन् । विगतका घटनालाई लिएर उनलाई घर फर्कनबाट रोक्न नहुने बताउँदै ‘अल्लाहले उनलाई स्वस्थ पारुन् ताकि उनले आफ्नो बाँकी जीवन सम्मानका साथ बिताउन सकून्’ रक्षामन्त्री आसिफले ट्विट गरेका छन् ।
सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरिफको सरकारलाई अपदस्थ गरी जनरल मुसर्रफले रक्तपातविहीन सैनिक विद्रोह गरेर सत्ता कब्जा गरेका थिए । उनले पछि आफूलाई राष्ट्रपति घोषणा गरे । सन् २००८ को आम निर्वाचनमा पराजित भएपछि नयाँ संसद्ले आफूमाथि महाभियोग लगाएर पदच्युत गर्ने निश्चित भयो र त्यसबाट बच्न उनले पदत्याग गरेका थिए ।
जापानमा जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने
जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिए ।
निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरुले भने अबदेखि नै तयारी थाल्ने भएका छन् ।
जापानको माथिल्लो सदनमा २४५ जना सदस्य रहने जनाइएको छ । उनीहरुको कार्यकाल छ वर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई बर्ष बढी हो ।
त्यसैगरी माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० बर्षको हुनुपर्नेछ, जवकी तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ बर्षको भए पुग्ने व्यवस्था छ ।
मेक्सिकोमा सुरक्षा कारवाहीमा परी १० बन्दुकधारी मारिए
मेक्सिकोमा सुरक्षा कारवाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको छ ।
राजधानी मेक्सिको सिटीबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको टेहकालटिट्लान नगरमा प्रहरीले गरेको कारवाहीमा १० बन्दुकधारी मारिएको अमेरिकी टेलिभिजन च्यानल एबीसीको अनलाइन संस्करणले जनाएको छ ।
सुरक्षाकर्मीको कारवाहीमा अरु ४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
सो क्षेत्रमा सरकारी अधिकारीहरुले संदिग्ध अपराधीहरुलाई पक्राउका लागि पूर्जी लिएर गएको र त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सुरक्षा टोलीमाथि नै गोली चलाएको जनाइएको छ । सो क्षेत्रमा बारम्बार आपराधिक घटनाहरु हुँदै आएको बताइन्छ ।
दोहोरो गोली हानाहानमा ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारवाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ ।
अधिकारीहरुले घटनास्थलबाट २० राइफाल, पेस्तोल, गोलीगठ्ठा, सैनिक पोसाक र बुलेटप्रुफ भेष्ट बरामद गरेको एबीसीले जनाएको छ ।
मम अड्केर भारतमा एकजनाको मृत्यु
अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ ।
ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो ।
एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पुर्याइएको थियो ।
मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए। खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो ।
डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।
मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।
उनको मृत्युको कारक मम पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ ।
पाकिस्तानी मन्त्रीद्वारा चिया कम पिउन सुझाव
देशको अर्थतन्त्र जोगाउन भन्दै पाकिस्तानका एक जना मन्त्रीले चिया कम पिउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।
एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम गर्न अपील गर्नेछु।’
उनले व्यापारीहरुलाई बिजुलीको उपभोग कम गर्नका लागि बेलुकी साढे ८ बजे नै पसल बन्द गर्न समेत आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।
चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पाकिस्तानमा चिया पारखीको ठूलो जनसंख्या रहेको जनाइएको छ ।
आतंकवाद र राजनीतिक संकटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेका बेला पाकिस्तानी मन्त्रीले सर्वसाधारणलाई चिया कम पिउन आग्रह गरेका हुन् ।
पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलब ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेलआउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ ।
बीबीसीका अनुसार पाकिस्तान विश्वकै सबैभन्दा ठूलो चिया आयातकर्ता मुलुक हो । गत वर्षमात्रै पाकिस्तानले ६० करोड डलर बराबरको चिया आयात गरेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार औसत पाकिस्तानीले हरेक वर्ष एक किलो चिया पिउने गरेका छन् ।
नयाँ दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो
भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ ।
सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो ।
भारतको सङ्घीय राजधानीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ ।
स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जबकी अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए ।
पछिल्लो एक दिनमा ५०० सङ्क्रमित निको भएका छन् । भारतमा अहिले देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार ५४८ रहेका छन् । भारतमा अहिले फेरि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएको छ ।
प्रतिक्रिया