राजा र हिन्दु राज्यको राजनीतिमा लिङ्देन ‘ट्रयाक आउट’ | Khabarhub Khabarhub

राजा र हिन्दु राज्यको राजनीतिमा लिङ्देन ‘ट्रयाक आउट’



राष्ट्रिय प्रजातन्त्र पार्टीमा तीन दशकसम्म एकछत्र राज गरेका कमल थापा काठमाडौँमा सम्पन्न महाधिवेशनबाट च्युत भए। अप्रत्याशित रूपमा राजेन्द्र लिङ्देनसँग दुई सय मतान्तरले पराजित भएपछि अहिले थापाको निद्रा हराम भएको छ।

भाषणमा हिन्दु राज्य र राजसंस्थाको ध्वाँस लगाएर नेपाली जनतालाई झुकाइरहेका थापाको वास्तविकता त्यतिखेर उदांगियो, जतिखेर पार्टीको अध्यक्ष गुमाएपछि उनैले भने, ‘पूर्व राजा ज्ञानेन्द्रको लगानी भएपछि लिङदेनले जितेका हुन् ।’

त्यसपछि लिङदेनसँग भएको सुमधुर सम्बन्ध पनि थापाको बिग्रियो । उनले लगत्तै पछाडि नेपाल झुन्ड्याएर राप्रपा नामक पार्टीको घोषणा गरे । र, अहिले त्यही पार्टीलाई जोरजाम गर्ने ध्याउन्नमा उनी छन् । तर गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा पार्टीलाई विलय गराएपछि उनको पार्टी केवल नामको मात्र भएको छ ।

गत साता पशुपतिमा भएको धर्म सभामा उनले अब एमालेसँग पार्टी एकता गर्ने सोच रहेको बताएका छन् । त्यसपछि त्यहाँ पनि मत बाँडिएको छ । लिङदेनसँग अहिले उनको पानी बाराबारको स्थिति छ ।

यता लिङ्देन भने राप्रपाका अध्यक्ष भएपछि राष्ट्रिय राजनीतिमा बलियो पकड बनाउँदै गएका छन् । राप्रपाको साखलाई ब्युँताउन उनी देश दौडाहामा छन् । उनको पछिल्लो सक्रियताले पार्टीमा एउटा सम्भावनाको रेखा कोरिएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उनले ग्रहण गरेको सिट र पाएको लोकप्रिय मतको विश्लेषण गर्दा अबको निर्वाचनमा राम्रै सिट ल्याउने हो कि राप्रपाले भन्ने अनुमान लगाउन सकिन्छ ।

राप्रपाले प्रत्यक्षमा कति सिट प्राप्त गर्ला ? त्यो चुनावपछिको नतिजाले नै बताउला । तर समानुपातिक सिट भने उनले राम्रै पाउने प्रक्षेपण गर्न सकिन्छ । तर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेपछि भने उनलाई संकट हुने देखिएको छ ।

लिङद्नले पाउने अधिकांश मत आगामी निर्वाचनमा रविको पार्टीले पाउन सक्ने जानकारहरू बताउँछन् । सोही कारण पनि लिङदेन अहिले तनावमा देखिन्छन् । यो उनीहरूको कुरा भयो । तर त्यो उनीहरूको वास्तविकतामाथि अर्कै रहस्य जोडिएको छ ।

फरक राजनैतिक पृष्ठभूमिले गर्दा उनीहरूको अहिले बोलचाल छैन । हिजो दुई दशक बढीसँगै राजनीति गरेका यी दुई नेता अहिले एक अर्काका बैरीजस्ता छन् । अझैसम्म सार्वजनिक कार्यक्रममा उनीहरू सँगै देखिएका छैनन् ।

तर आन्तरिक रूपमा उनीहरूले सँगै डिनर गर्ने, भेटघाट गर्ने गरेको एक विशेष व्यक्तिले बताएका छन् । नाम नखुलाउने सर्तमा उनले राजधानीको एक होटेलमा सँगै डिनर गरेको अवस्थामा उनीहरूलाई आफूले देखेको उनले बताए ।

उनले भने, ‘डिनरमा अरू को को थिए ? के के खाए त्यो त केही भन्न सक्दिनँ तर एउटै टेबलमा बसेर उनीहरू गफिरहेको यी आँखाले देखेको हुँ, कसैले प्रमाण खोजे म भन्न सक्छु ।’ बाहिर हेर्दा उनीहरुबीच वैरभाव रहेको देखिन्छ । तर उनीहरू जनता र कार्यकर्तालाई गुम्राहामा राखेर भ्रम सिर्जना गरिरहेका छन् । ‘भोलि उनीहरू एक हुन्छन् । यो मेरो ठोकुवा भो’, उनले थपे । थापा र लिङदेन दुवै युरोपियन युनियनबाट परिचालित भएर डलर खाएको हुँदा उनीहरूले हिन्दु राज्य स्थापित गर्नै नसक्ने उनको ठोकुवा छ ।

विश्व हिन्दु महासंघका संरक्षक धर्मपाल स्वामी वशिष्ठले पनि लिङ्देन र थापा दुवैले हिन्दु राज्य स्थापना गर्न नसक्ने ठोकुवा गर्दै जनतामाथि भ्रम सिर्जना नगर्न चेतावनी दिइरहेका छन् । ‘राजसंस्था पुनर्बहाली होला भनेर त म भन्न सक्दिन । त्यो भर्खरै सम्भव पनि छैन । यिनले गणतन्त्र स्विकारेका छन् । राजतन्त्र ब्युँताउँछौँ भन्नु भ्रम हो । उनीहरूले सक्दैनन् तर सम्भव भएको हिन्दु राज्य स्थापनामा पनि उनीहरूले राजनीति गरेका छन्,’ उनले भनेका छन् ।

उनीहरू भित्र एउटा राजनीति गरेर बाहिर देखाउनैका लागि राजतन्त्र पुनः स्थापनाको माग चर्काएको पनि उनको दाबी छ । यसले ढिलो चाँडो उनीहरूलाई क्षति गर्ने र जनताप्रतिको भरोसा टुट्ने उनको भनाई छ ।

‘देखाउने हात्तीको दाँत र वास्तविकता अर्कै छ । उनीहरू सच्चा हिन्दुवादी होइनन् र उनीहरूको पार्टीले स्पष्ट रूपमा हिन्दु राज्य हुनुपर्दछ भनेर कहिल्यै भन्न सकेनन् । हिन्दु राज्यको एजेन्डा दुवैको विधान र नियमावलीमा छैन । नाम मात्रै फरक हो । नेता फरक हुन्, गर्ने राजनीति एउटै हो,’ उनले भनेका छन् ।

लिङदेन र थापा अहिले अलग भएजस्तो गरे पनि स्वार्थ मिल्दा पछि एक हुने धेरैको दाबी छ । दुवै युरोपियन युनियनबाट प्रभावित भएको, क्रिष्चियानिटी फैलाउन डलर खाएका आरोप पनि उनीहरूमाथि लागेको छ । तर यो विषय गुपचुप छ ।

नभए उनीहरूले पार्टीको विधानमा र नियमावलीमा हिन्दु राज्य र राजसंस्था स्पष्ट रूपमा उल्लेख हुनुपर्ने थियो । यदि यो होइन भने उनीहरूले वृहत् धर्म सभा गरी गुरुबाट चलेको भनी मार्गदर्शक सिद्धान्त बनाएर विधान र नियमावली परिवर्तन गर्न सक्नुपर्दछ, लिङ्देन भ्रष्ट चरित्रको नभए पनि पार्टीमा मार्गदर्शक सिद्धान्त स्थापित गर्न भने उनी कमजोर नै छन् ।

धर्मबाट चलेको पार्टीले धर्म नीति बनाउनुपर्नेमा उनीहरूले राजनीतिको नाममा कूटनीति गरिरहेको युवा धर्म गुरु कमल पौड्यालले बताउँछन् ।‘नेपालमा म जस्ता धेरै युवाहरू हुनुहुन्छ, जो नेपाललाई हिन्दु राज्य भएको हेर्न चाहनुहुन्छ । तर यहाँ त्यस्तो जिउँदो पार्टी र नेता भएन, जसले हिन्दु राज्य स्थापनाको मुद्दामा प्रष्टसँग बोल्न सकोस् । त्यो काम गर्न नसकेर कमल थापा बहिर्गमन हुनुपर्‍यो,’ उनले भनेका छन् ।

‘सत्ता र मन्त्रीको कुर्सी पाउँदा उनले हिन्दु राज्यको मुद्दा बर्षाए । सत्ताबाहिर हुँदा कुर्लेर हिन्दु राज्य स्थापना हुन सक्दैन । एउटा भरोसा लिङ्देनमा छ । उनले पनि प्रष्टसँग यी मागका विषयमा बोल्न सक्दैनन् । विधान र नियमावली त्यो प्रकारको बनाउन सक्दैनन्, कसरी विश्वास गर्नू ?’ पौड्यालको प्रश्न छ ।

उनले थप अगाडि भनेका छन्, ‘एक जना धर्म गुरुले नारायण पोखरेलको हत्यामा पनि यस्तै यस्तै कारण लुकेको बताउँछन् । धेरैले चरित्रलाई जोडेर पोख्रेलको हत्या भएको हो समेत भनेका छन् । तर यहाँभित्रको राजनीतिको विषयमा कसैलाई थाहा छैन । यसभित्र ठुलो रहस्य छ । ढिलो चाँडो यसको पर्दाफास पनि हुन्छ ।’

नारायण पोखरेल सुरुमा कट्टर हिन्दुवादी थिए, पछि उनमा स्खलन आयो । उनी पनि कसैको प्रलोभनमा परे । बिस्तारै म प्रलोभनमा परेको रहेछु भन्ने उनले थाहा पनि पाए । तर त्यति खेरसम्म समय घर्किसकेको थियो । उनको हत्या भयो ।

नारायण पोख्रेल पछिल्लो समय धार्मिक गतिविधिमा बढी सामेल भएपछि उनको प्रवचन र कलाबाट देशभर हिन्दुत्वको अभियान शक्तिशाली भएर जान्छ भन्ने देखेर क्रिष्चियनहरुको डलर खाएकाहरूले पोख्रेलका हत्या गरेको दाबी गरिएको छ ।

नारायण पोखरेलका हत्यापछि नेपालमा हिन्दु राज्य स्थापनाको मुद्दा कमजोर भएको पनि उनको दाबी छ । त्यसपछिका घटनाक्रमलाई विश्लेषण गरी हिन्दु राज्यको मुद्दा उठाउन कमल थापा र लिङ्देन असफल भएको धर्मगुरुहरू बताउँछन्।

लिङ्देनको पार्टीमा पनि बेथिति सुरु भएको, एक आपसमा कुटाकुट हुन थालेको, केही व्यक्तिले छुट्टै भेला गर्ने लगायत गरेकाले उनको पार्टीबाट पनि धेरै आस गर्न सक्ने ठाउँ नभएको उनी बताउँछन् ।

अहिलेका कमल थापा र राजेन्द्र लिङदेनबाट नेपालमा सनातन हिन्दु राज्य स्थापना हुनै नसक्ने उनीहरूको ठम्याई छ । अब वृहत् धर्म सभा गरी नियमावली र विधानमै हिन्दु राज्य उल्लेख गरेर धार्मिक पार्टी स्थापित नगर्दासम्म हिन्दु राज्य स्थापना हुन नसक्ने धर्म गुरुहरूको दाबी छ । जुन कुरा स्वीकार गर्न थापा र लिङ्देन चाहँदैनन्, त्यो कुरा नेपालमा स्थापित गर्छु भनी राजनीति गर्नु हास्यास्पद मानिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : १६ बजे

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार