दिनभर आज: यी हुन् तपाईंले थाहा पाउनुपर्ने मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले थाहा पाउनुपर्ने मुख्य समाचारहरू


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यी हुन् आज दिनभरका मुख्य समाचारहरूः

उपसभामुखमा पुष्पा भुसाल

प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत,सो प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो ।

बैठकमा कुल २४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गरेका हुन् ।

उपसभामुखमा कांग्रेसकी सांसद भुसाल र एमालेकी सांसद विद्या भट्टराईले उम्मेद्वारी दिएकी थिइन् ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो ।

यसैबीच प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्ने सभामुख सापकोटाले सदनमा जानकारी गराएका थिए ।

नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउनका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

उपसभामुखमा विजयी भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भएको र संसदको सबै पदहरुले पूर्णता पाएको भन्दै आफुले जिम्मेवारीपूर्वक पदिय दायित्व पुरा गर्ने बताएकी हुन् । उनले संसदको सबै पदहरुले पूर्णता पाउनु संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन भएको बताइन् ।

उपसभामुख भुसालले संवैधानिक परिषद्को सदस्यको रुपमा समेत आफुले इमान्दारीपूर्वक र समन्वयनकारी तवरले भूमिका निर्वाह गर्ने जिकिर गरिन् । उनले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरिन् ।

१३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका विभिन्न १३ वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज शुक्रवार प्रमाणीकरण गरेकी हुन् ।

विभिन्न सात देशका लागि नवनियुक्त राजदूतको शपथ

विभिन्न सात देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त सात जना नेपाली राजदूतहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच शपथ लिएका हुन् ।

शपथ लिने राजदूतहरूमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अस्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) छन् ।

नागरिकता विधेयक

प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसअघि बिधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको छलफलका क्रममा सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिएका थिए ।

उनीहरुले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताएका थिए । उनीहरुले नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिदै गृहमन्त्री बालकृष्ण खाँणले बिधेयकमा केहि समस्या देखिए परिमार्जन गर्न सकिने बताए । उनले कुनैप नि नेपाली नागरिकहरु नागरिकताबिहीन हुन नपरोस भन्ने उदेश्यका साथ नै सरकारले नागरिकता बिधयेक ल्याएको धारणा राखे ।

सदनमा प्रस्तुत गरेको नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई मूलरूपमा सम्बोधन गर्ने र आमाबाबु नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता नपाएर सरकारबाट पाउने सेवा सुविधा लिन बञ्चित भएका लाखौँ युवाले नागरिकता पाउने सरकारले जनाएको छ ।

चीनको आपत्ति

नेपालका लागि अमेरिकी प्रस्तावित राजदूत डिन थम्प्सनले संसदीय सुनुवाइका क्रममा दिएको अभिव्यक्तिका चीनले खण्डन गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासकी प्रवक्ता गाओ वेईले आज थम्प्सनको भनाइको खण्डन गरेका हुन् ।

एमसीसी सम्झौताले नेपालमा व्यापक विवाद उत्पन्न भएको प्रवक्ता वेईले उल्लेख गरेका छन् । नेपाली संसद्बाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको प्रति आलोचना गरेका छन् ।

सो घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले सो कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको छ । बुधबार सुनुवाइका क्रममा थम्प्सनले चीनको दुष्प्रचारका बाबजुद नेपाली संसद्बाट (मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता अनुमोदन भएको बताएका थिए ।

सुवास नेम्वाङको भनाइ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एक–एक हिसाव लिएर जनतामाझ जाने बताएका छन् ।

संसद भवनमा बाहिर आज संचारकर्मीसंग कुरा गर्दै नेम्वाङले सरकारले गरेका गलत कामहरुको बहिखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसावकिताव बुझाउने तर्क गरे ।

उनले सरकारले गलत गरेका धेरै कामहरु रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताए । नेम्वाङले अब समयमा नै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे ।

उनले अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहाना राखेको धारणा राखे । त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गरे ।

केही महिनापछि आम निर्वाचन गर्ने तयारी रहेका बेला अहिले विधि पुराउनका लागि वा सत्ताको भित्री खेलमा उपसभामुख चयन भएको देखिएको उनको भनाइ छ । उनले संसदीय अभ्यासमा बिकृति पैदा भएको समेत बताए ।

धीरजप्रतापसिहं विरुद्धको रिट खारेज

प्रहरी महानिरीक्षक आइजीपी धीरजप्रतापसिहं विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको सयुंक्त इजलासले आज सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गर्दै एआइजी विश्वराज पोखरेलको दायर गर्नुभएको रिट खारेज गरेको हो ।

पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ । पटक पटक पेशी तोकिएदै आएको सो मुद्धाको आज टुंगो लागेको हो ।

आईजीपीमा सरकारले आफूभन्दा जुनियर सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेलले गत वैशाख १९ गते रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

यसैबीच एआईजी) पोखरेलले राजीनामा दिने तयारी गरेका छन् ।

सरकारले आइजीपीमा सिंहलाई प्रहरी महानिरीक्षक (आईजी)मा बढुवा गरेसँगै असन्तुष्टि जनाउँदै सर्वोच्चमा दायर गर्नुभएका रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेको बुझिएको छ । यद्यपि एआइजी पोखरेलले साउन २० गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

सर्वोच्च अदालतद्वारा सचिवद्वयलाई पदबाट हटाउने आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुस्करलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले अर्थमन्त्रालयको बहुचर्चित सिसिटिभी प्रकरणसम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले सिसिटिभी फुटेज सुरक्षित राख्ने सचिवद्वयलाई जिम्मेवारीबाट हटाउन माग गरेका थिए ।

सर्वोच्चले भने कारण देखाउ आदेश जारी गरेको छ ।मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश दिएको छ ।

माधव कुमार नेपालको भनाइ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको चालू अधिवेशन अन्त्य हुनेबितिकै आगामी निर्वाचनको मिति घोषणा हुनसक्ने बताएका छन् ।

काठमाडौंमा आज बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसदको चालू अधिवेशनपछि अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुनसक्ने भन्दै तयारीमा जुट्न कार्यकर्तालाइ निर्देशन दिए ।

सङ्घ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न पनि उहाले निर्देशन दिए ।

उनले धेरै कारणका बीच स्थानीय तहमा सवै स्थानमा जीत हासिल गर्न नसकेपछि आगामी निर्वाचनमा पार्टीले धेरै भन्दा धेरै सिट जित्ने दावी गरे ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन महानगर र उपमहानगरबाहेकका स्थानमा प्रभावकारी रुपमा तालमेल हुन नसकेको बताए ।

आफ्नो पार्टीलाई तालमेलका क्रममा अपमानजनक व्यवहार भएको भन्दै आगामी निर्वाचनमा सवै गल्तीहरुलाई सच्चाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल भएको बताइएको छ ।

एमालेको आरोप

नेकपा एमालेले सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको आरोप लगाएको छ ।

एमालेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागले आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा एक वर्ष समयको बर्बादी मात्र गरेको आरोप लगाएको हो । सं

विधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेले जनाएको छ ।

संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले कुनै काम गर्न नसकेको एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले बताए । उनले कमजोर व्यवस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी कोरोना खोपको मिति सकिएर फालिएको र अर्को २० लाख खोप खेर जाने अवस्थामा रहेको आरोप लगाए ।

सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको र बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै न्यून रहेको भट्टराईले बताए ।

उनले निजामती, सुरक्षा अंग र शैक्षिक क्षेत्र लगायत सबै औपचारिक क्षेत्रलाई बीमाको दायरामा ल्याउने बीमा ऐन, २०७४ को अवधारणा कार्यान्वयनमा सरकार असफल भएको तर्क गरे।

त्यस्तै एमालेले शहीद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्रमा व्यक्ति केन्द्रित गरी गठन आदेश संशोधन गरिएको र यस्ता कार्यले संस्थागत विकासमा दीर्घकालीन असर गर्ने निश्चित रहेको जनाएको छ ।

आम महिलाहरुले प्रयोगमा ल्याउने सेनिटरी प्याडका सन्दर्भमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशायी पारेको र यसले सरकारी नेतृत्व नीतिगत भ्रष्टाचारमा संलग्न भएको ज्वलन्त प्रमाणित भएको एमालेले जनाएको छ ।

धनुषामा ३ जना पक्राउ

धनुषाको जनकपुरधामस्थित एक घरमा भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । ती सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अन्य अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ

मोरङ जिल्लाको सुनवर्शी नगरपालिका ८ हसनगढी स्थित सीमा ईलाकाबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले १५ पत्ता ट्रामाडोल र १५ वटा नाईट्राजेपाम नामक लागु औषध सहित सोही नगरपालिका ३ बाहुनटोल बस्ने २१ वर्षिय विष्णु ऋषिदेव र २० वर्षिय अभिषेक ऋषिदेवलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा सो लागूऔषध फेला पारेको हो ।

छतबाट खसेर एक जनाको मृत्यु

धनुषाको जनकपुर उपमहानगरपालिका ८ मा घरको छतबाट खसेर एक जनाको मुत्यु भएको छ ।

रानीसती पेट्रोल पम्प बस्ने ७५ वर्षीया मातोश्वरी देवी साहको आफ्नै घरको दुई तल्ला माथि छतबाट लडेर आज बिहान मृत्यु भएको हो ।

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनावश्यक दुःख दिएको अभियोगमा १० जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुहरुलाई लाग्ने भाडा भन्दा बढी भाडा लिई अनावश्यक दुःख दिएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्नेहरु सिन्धुलीका ३० वर्षीय हरि बहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलालीका २१ वर्षीय राजु थापा, पर्सा वीरगंजका ३५ वर्षीय राजिव कुमार सिंह, सिन्धुलीका ३० वर्षीय नितिश जंग राणा, सर्लाहीका २९ वर्षीय रबिन्द्र चौधरी, काठमाडौं महानगरपालिका–१३ बस्ने भारत बिहारका २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कीर्तिपुर नगरपालिका–२ बस्ने रौतहटका २९ वर्षीय आकाश तामाङ, नागार्जुन नगरपालिका–३ बस्ने ईलामका २९ वर्षीय दोर्जे गुरुङ र काठमाडौं दक्षिणकाली बस्ने ४० वर्षीय राम तामाङ रहेका छन् ।

सो काउण्टरमा केही व्यक्तिहरुले यात्रुहरुलाई अनावश्यक दुःख दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

सरकारले आयल निगमलाई समायोजन रकम प्रदान गर्ने

सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा करबापत गरिएको समायोजन रकम प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले यसअघि कर कटौती गरेर उपभोक्तालाई दिएको राहत बराबरको रकम निगमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत दिने निर्णय गरेको हो ।

यसअघि असार ११ गते सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेलगत्तै निगमले उपभोक्ताका लागि सो बराबरको मूल्य घटाएको थियो । त्यसअघि पनि ती पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर समायोजन गरिएको थियो ।

कर समायोजनबापतको मूल्य उपभोक्ताका लागि घटाए पनि निगमले सरकारलाई भने पुरानै दरको कर तिर्दै आएको छ । यसले गर्दा भारतीय आयल कर्पोरेसनलाई बुझाउनुपर्ने बक्यौता रकम निगमलाई बढ्दै गएको थियो ।

करबापतको रकम निगमलाई प्रदान गर्ने आजको मन्त्रिपरिषद् बैठकको निर्णले निगमलाई राहत मिल्नेछ ।

त्रिचन्द्र कलेजका लागि ५० करोड बजेट विनियोजन

सरकारले त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न ५० करोड बजेट विनियोजन गरेको छ ।

कलेज पुनर्निर्माण गर्न बजेट सुनिश्चित भइसकेको कलेजका सहायक क्याम्पस प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलले जानकारी दिए ।

कलेज पुनर्निर्माणका लागि बजेट छुट्याएसँगै अहिले टेन्डरको प्रक्रिया शुरु भएको छ । नेपालकै पहिलो उच्च शिक्षाको केन्द्र त्रिचन्द्र कलेज २०७२ को भूकम्पपश्चात् जीर्ण अवस्थामा पुगेको थियो । भवनको पुनर्निर्माण यसअघि एक्जिम बैंक (भारत)को सहयोगले गर्ने भनिएको थियो।

तर एक्जिम बैंकको प्रक्रिया निकै लामो भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यही आर्थिक वर्षमा नेपालकै बजेटले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

शेयर बजार बढ्यो

कारोबारको अन्तिम दिन आज शेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ ।

नेप्से आज सात दशमलव ९३ अङ्कले बढेर दुई हजार नौ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार ७ सय ७१ कित्ता शेयर एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रुपैयाँमा कारोबार भएको छ ।

आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । ग्रीन लाइफ हाइड्रोको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्ेको छ ।

कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोसी, एभरेस्ट बैंक, किसान लघुवित्त (संस्थापक), हिमालयन डिस्टिलरी र अरुणकाबेली क्रमशः अगाडि रहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ०५ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको