साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड | Khabarhub Khabarhub

साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उनले सुनाए। भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारी फेरि बढ्न थालेकाले पशुपतिनाथ मन्दिर छिर्ने मूल ढोकामा मास्क नभएका भक्तजनलाई मास्क वितरण गरेर मात्र प्रवेश  गराइएको छ । स्वास्थ्य सुरक्षाका लागि कोषले यस्तो उपाय अपनाएको पराजुलीले सुनाए। बिहान ३ः१५ बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजन बिहानैदेखिको घामका कारण छाता ओढेर लाममा बसेको देखिन्छ । सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि पशुपति क्षेत्रमा भीड छ । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्ण पात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

राजधानीको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर महादेवलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान चार बजेदेखि नै यी मन्दिरको ढोका पनि खुला गरिएको जनाइएको छ ।

यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलो पटक व्रत बस्नेका लागि पाँच  सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १२ : ०९ बजे

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई

महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् !