आज साउन ३०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
भारत लोकतन्त्रको जननी : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकतन्त्रको जननी भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त धारणा राखेका हुन् ।
भारतले सोमबार स्वतन्त्रताको ७५ वर्ष मनाउँदै छ र यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराएका छन् र प्रतिष्ठित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
‘हामी बापु, नेताजी सुभाष चन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने ।
प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरे ।
‘यस विशेष स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’ प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गरेका छन् । राजघाटस्थित महात्मागान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेर स्वतन्त्र दिवसको सुरुवात भएको थियो ।
इजिप्टको चर्चमा आगलागी
इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरूले जनाएका छन् ।
राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन ।
आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् ।
आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।
तालिबानले मानव अधिकारको उल्लङ्घन गरेको ईयूको आरोप
एक वर्षअघि अफगानिस्तानमा सत्ता कब्जा गरेर नयाँ सरकार गठन गरेको तालिबान समूहले समावेशी राजनीतिक प्रणाली गठन गर्न असफल भएको र मानव अधिकारको उल्लङ्घन जारी राखेको यूरोपेली संघ (ईयू) को एक्सटर्नल एक्सन सर्भिस (ईईएएस) ले आइतबार जनाएको छ ।
ईईएएसले एक विज्ञप्ति जारी गदै भनेको छ, ‘एक वर्षअघि तालिबानले अफगान जनता र अन्तर्राष्ट्रिय समुदायसँग दशकौं लामो अफगान द्वन्द्व समाधानको पहल गर्ने बताएको भएपनि उक्त प्रतिवद्धता तोड्दै गएका छन् । उनीहरूले समावेशी राजनीतिक प्रणाली स्थापित गर्न गरेको प्रतिवद्धता सफल पार्नेतर्फ नभै सम्पूर्ण अफगान जनताको आकांक्षालाई अस्वीकार गरिएको छ ।’
महिला र बालबालिकालाई हिंसा र जबर्जस्ती विवाहबाट जोगाउने संयन्त्रलाई पनि तोडेकोले देशमा घरेलु हिंसा बढेको ईयूको उक्त निकायले उल्लेख गरेको छ । कट्टरपन्थी आन्दोलनबाट स्थापित तालिवान समूहले हजारा र शियालगायत जातीय र धार्मिक समूहलाई दुब्र्यवहार गरेको आरोप पनि ईयूले लगाएको छ ।
तालिबानले गत वर्षको अगष्टमा अफगानिस्तानको सत्ता कब्जा गरेको थियो र विशेष गरी महिला र बालिकाको आधारभूत अधिकारलाई कडा रूपमा सीमित गर्ने नीतिहरू लागू गरेको थियो ।
तालिवानले व्यापक सेन्सरसिप गरेको, आलोचनात्मक रिपोर्टिङलाई सीमित गरेको र पत्रकारहरूलाई हिरासतमा लिई दुब्र्यवहार गर्ने गरेको आरोप उक्त यूरोपेली निकायले लगाएको छ । रिपोर्टमा उनीहरूले पूर्व सरकारी अधिकारी र सुरक्षाकर्मीको प्रतिशोधपूर्ण हत्या र बेपत्ता पार्ने र मानिसहरूलाई मृत्युदण्डजस्ता सजायलाई हल्कारूपमा लिँदै नागरिकहरूलाई तर्साउनेगरेका बताइएको छ ।
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहायता मिसनले गत महिना एक प्रतिवेदन जारी गर्दै तालिबानले कब्जा गरेको १० महिनाको अवधिमा अफगानिस्तानमा मानव अधिकारको अवस्थाबारे उल्लेख गरेको थियो ।
प्रतिवेदनमा नागरिकको सुरक्षा, गैरन्यायिक हत्या, यातना र दुव्र्यवहार, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, अफगानिस्तानमा महिला र बालिकाको अधिकार, मौलिक स्वतन्त्रता र हिरासतको अवस्थाको सम्बन्धमा यूएनएएमएको निष्कर्षलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
सन् २०२१ को अगष्टको मध्यदेखि सन् २०२२ को जुनको मध्यसम्म सशस्त्र हिंसामा समग्रमा उल्लेखनीय कमी आए तापनि युएनएएमएले यो अवधिमा ७०० नागरिकको हत्या र १४०६ जना घाइते गरी २१०६ नागरिक हताहत भएको उल्लेख गरेको छ ।
अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ ।
पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको पछिल्लो भ्रमणको नेतृत्व म्यासाचुसेट्सका सिनेटर मार्कीले गर्नेछन् ।
प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।
चीनको निरन्तर सैन्य चेतावनीबीच ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको रक्षा गर्न भारतलगायत सबै समान विचार भएका राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्दै आफ्नो आत्मरक्षा क्षमतालाई निरन्तर बढाउने बताएको छ ।
जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार
दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ ।
अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाएअनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो ।
जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् निजी कम्पनीहरुमार्फत् लिइएको जनाइएको छ ।
यसअघि जाम्बिया र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबीच १ अर्ब ४० करोड डलर बराबरको सहयोग प्याकेजबारे सम्झौता भएको थियो ।
विश्वका विकासशील मुलुकहरु चिनियाँ ऋण पासोमा परेर वित्तीय जोखिममा रहेको चर्चामाझ जाम्बियाले चिनियाँ ऋण अस्वीकार गरेको हो ।
११ चिनियाँ लडाकु विमान ताइवानी हवाई क्षेत्र प्रवेश
एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् ।
चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । तर, गत साताको तुलनामा चिनिया गतिविधि न्यून छन् ।
जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउँदै आएको छ ।
बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङको कम्युनिष्ट पार्टीसँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवानमा भागेको थियो ।
कोरोना अपडेट
दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ ।
केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थियो ।
अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो ।
दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या २५ हजार ६७३ पुगेको छ ।
सुडानमा भारी वर्षा
अफ्रिकी मुलुक सुडानमा भिषण वर्षा भएको छ । वर्षाको कारण आएको बाढीमा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ ।
सुडानको उत्तरी कोर्दोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
सुडानी रक्षा मन्त्रालयले दिएको जनकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएको छ । वर्षाका कारण दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।
सरकारले त्यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ । यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ ।
इरानी प्रतिनिधिमण्डल काबुलको भ्रमणमा
सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै जाँदा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीसँग भेटवार्ताका लागि इरानी प्रतिनिधिमण्डल अफगान राजधानी काबुल पुगेको छ ।
काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरुसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ ।
अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो ।
आइतबार राती इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिबान सेनाहरू बीच भएको सीमा विवाद भएको थियो ।
इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिबान लडाकू मारिएका छन् भने अर्का एक जना घाइते भएका तालिबान सीमा कमाण्डर मोहम्मद इब्राहिम हेवादलाई उद्धृत गर्दै खामा प्रेसले जानकारी दिएको छ ।
आइतबारको गोली हानाहानमा दुवै पक्षले एक अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाएका छन् । इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिबान सेनाहरू बीच झडप भएको इरानी सञ्चार माध्यमले जानकारी दिएको छ ।
सोमालियामा १३ अल सबाब लडाकु मारिए
अफ्रिकी मुलुक सोमालियाको सेना र त्यहाँको संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको संयुक्त कारवाहीका क्रममा अल सबाबका कम्तीमा पनि १३ लडाकुको ज्यान गएको छ ।
मध्य सोमालियाको हिरान क्षेत्रमा भएको हवाई कारवाहीका क्रममा ती लडाकु मारिएका समाचारमा जनाइएको छ ।
सोमाली नेसनल आर्मी रेडियोले दिएको जानकारीअनुसार सोमाली सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको हवाई कारवाहीका क्रममा ती लडाकु मारिएका छन् ।
हिरान क्षेत्रमा भएको आतङ्कवादीविरुद्ध कारवाहीमा ती लडाकु मारिएका सो रेडियोले जनाएको छ । उक्त कारवाहीका क्रममा परी अरु केही लडाकु घाइते भएका र अल सबाबका लडाकू भएका आश्रयस्थलहरु पनि ध्वस्त बनाइएको छ ।
अल सबाब लडाकूहरुका विरुद्धमा सोमालियाली सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले संयुक्त रुपमा आतङ्कवादीविरुद्ध कारवाही थालेका छन् । पछिल्ला दिनहरुमा अल सबाबले यस क्षेत्रमा हिंसात्मक क्रियाकलाप सञ्चालन गर्दै आएकाले सो कारवाही अघि बढाइएको बताइएको छ ।
प्रतिक्रिया