सुदूरपश्चिममा बढ्याे आपराधिक घटना | Khabarhub Khabarhub

सुदूरपश्चिममा बढ्याे आपराधिक घटना


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी- आइतबार कैलाली निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र ख का उम्मेदवार अमरबहादुर साउँदले प्रयोग गरेको गाडी तोडफोड भएको छ । चुनावी प्रचार–प्रसारका क्रममा साउँदले प्रयोग गरेको से १ च १५९० नम्बरको गाडी घोडाघोडि नगरपालिका–५ मा पार्किङ गरेर राखेको बेला अज्ञात समूहले तोडफोड गरेको उम्मेदवारको भनाइ छ ।

२३ कात्तिकमा धनगढी–१७ डुमलियामा नागरिक उन्मुक्ति पार्टीले चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएको बा ११ च ५८६० नम्बरको कारमा पनि अज्ञात समूहले तोडफोड गरेको थियो । तर, सो सवारी हालसम्म कसले र किन तोडफोड गरेको हो भन्ने खुलेको छैन ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कैलाली लगायत सुदूरपश्चिममा आपराधिक गतिविधि पनि बढ्न थालेका माथिका दुई उदाहरण हुन् । पछिल्लो समय केही स्थानमा झडप हुने र उम्मेदवारका सवारी तोडफोड हुने क्रम बढेपछि सुरक्षा चुनौती बढेको प्रहरीको भनाइ छ ।

‘चुनावको मिति नजिकिँदै गर्दा केही स्थानमा उच्छृङ्खल गतिविधि भइरहेका छन्,’ प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एवं एसएसपी भोलाबहादुर रावलले भने, ‘खास गरी उम्मेदवार लक्षित गरेर हुने गतिविधिले जोखिम झनै बढाएको छ, यसलाई रोक्न थप सुरक्षा बल खटाउने तयारी गरेका छौँ ।’

चुनाव नजिकिएसँगै दार्चुलामा दुई वटा झडपसमेत भएका छन् । आइतबार दिउँसो दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारका क्रममा दुई समूहबीच झडक हुँदा दुई जना घाइते भएका थिए । सत्तारुढ गठबन्धन दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच भएको झडपमा परी नौगाढ गाउँपालिका ५ का २४ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का ३४ वर्षीय जयसिंह धामी घाइते भएका थिए । जयसिंहको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

यसै गरी २३ कात्तिकमा दार्चुलाकै अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा मार्मा गाउँपालिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी, अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका थिए ।

प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी रावलका अनुसार राजनीतिक दलको नेतृत्व जिम्मेवार बन्न नसक्दा कार्यकर्ताबीच झडप हुने गरेको छ । ‘नेतृत्वले कार्यकर्तालाई जोशमा आउने गरी भाषण दिने गर्दछन्,’ रावलले भने, ‘त्यसको असर कार्यकर्तामा पर्ने गरेको छ ।’ सुदूरपश्चिमका पहाडी जिल्लामा मुड्भेड र झडप बढी हुने गरेको उनले बताए ।

उनले सुरक्षा चुनौती देखिएका स्थानमा थप सुरक्षा बल पठाइने गरेका बताए । ‘प्रदेशभरका ५५२ मतदान केन्द्रलाई सुरक्षा वा भौगोलिक विकटताका दृष्टिले संवेदनशील सूचीमा राखेर त्यसै अनुसारको सुरक्षा व्यवस्था परिचालन गरिएको छ,’ एसएसपी रावलले भने, ‘त्यसबाहेक चुनावका दौरान आपराधिक क्रियाकलाप भएका स्थानमा हामीले थप सुरक्षाकर्मी परिचालन गरिरहेका छौँ ।’

सुदूरपश्चिम प्रदेशका धेरै जिल्ला भारतसँग सिमाना जोडिएका हुँदा सीमानाका आसपासका मतदान केन्द्रलाई संवेदनशील क्षेत्रमा राखिएका छन् । त्यसै गरी केही मतदान केन्द्रलाई भौगोलिक विकटताका दृष्टिले संवेदनशील सूचीमा राखिएका रावलले बताए । संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रमा सामान्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने गरिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर सुदूरपश्चिममा ६ हजार ४१० जना नेपाल प्रहरी, ११ हजार ५५९ जना म्यादी प्रहरी, साढे तीन हजार सशस्त्र प्रहरी र ६ हजार बढी नेपाली सेना परिचालन हुने छन् ।

घटना लुकाउन खोज्दा थप चुनौती थपिँदै

चुनावी प्रचारप्रसारका क्रममा आइतबार कैलाली क्षेत्र नम्बर–३ को प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेदवार अमरबहादुर साउँदले प्रयोग गरेको से १ च १५९० नम्बरको गाडी घोडाघोडि नगरपालिका–५ मा पार्किङ गरेर राखेको बेला अज्ञात समूहले तोडफोड गरेको उम्मेदवारको भनाइ छ । ‘तर सो विषयमा प्रहरीलाई भने कुनै जानकारी छैन । मिडियामा समाचार आएपछि घटनाबारेमा हामीले जानकारी पाएका हौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘तर उम्मेदवारले त्यस विषयमा प्रहरीलाई जानकारी गराएको छैन ।’

चुनावी प्रचारप्रसारका क्रममा स्थानीय स्तरमा हुने धेरै घटना प्रहरीलाई जानकारी नदिएरै गोप्य राख्न खोज्दा त्यसले थप दुर्घटनाको जोखिम बढाउने गरेको प्रवक्ता जोशी बताउँछन् ।

स्थानीय स्तरमा हुने सामान्य घटनालाई दलहरूले लुकाउन खोज्दा त्यसले पछि उग्ररूप लिएका धेरै घटना छन्,’ जोशीले भने, ‘त्यसैले स्थानीय स्तरमा हुने सामान्य घटनाको पनि समयमै प्रहरीलाई जानकारी गराइदिन अनुरोध गर्छु ।’

उनका अनुसार आइतबार राति नागरिक उन्मुक्ति पार्टीको टिकापुर कार्यालयमा अज्ञात समूहले तोडफोड गर्न खोजेको भए पनि सो खबर सोमबार दिउँसो मात्रै प्रहरीलाई दिइएको थियो । यसरी प्रहरीलाई ढिलो गरी खबर दिँदा अनुसन्धानमा जटिलता थपिने गरेको उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ३० बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा