ओमिक्रोन भेरिएन्टपछि सीमामा कडाइः छाडा चौपायाका कारण स्थानीयवासीलाई सास्ती | Khabarhub Khabarhub

ओमिक्रोन भेरिएन्टपछि सीमामा कडाइः छाडा चौपायाका कारण स्थानीयवासीलाई सास्ती


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ ।

छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो ।

खुला सीमा नाकाबाट भइरहेको आवतजातलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नगरपालिकाअन्तर्गत डोके बजारबाहेक अन्य सबै नाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

डोके बजार सीमा नाकामा पनि उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले बताए ।

उनका अनुसार डोकेबजारमा दैनिक रुपमा भारतबाट आउनेको सङ्ख्या धेरै भएका कारण त्यसलाई व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालन गराउनका लागि थप सुरक्षाकर्मी उपलब्ध गराइदिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

डोकेबजारमा रहेको हेल्थ डेस्कमा नियमिति रुपमा कोभिड– १९ को जाँच गर्दा देखिएका सङ्क्रमितमध्ये नगरपालिका क्षेत्रका सङ्क्रमितलाई आइसोलेसन र होम आइसोलेसनमा पर्‍याउनका लागि नाकामै तयारी अवस्थामा एम्बुलेन्स राखिएको छ ।

सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुने गरी जुलुस, धर्ना भेला महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्न नगराउनका लागि सूचनासमेत नगरपालिकाले जारी गरेको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सम्पूर्ण निर्देशन पालना गर्ने गराउने तर्फ नगरपालिकाले आवश्यक कारबाही अगाडि बढाएको छ ।

नाकामा विदेशी नागरिकको आगमनमा विशेष निगरानी र सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । “विदेशी नागरिकको आगमनलाई विशेष प्राथमिकताका साथ अनुगमन गर्ने गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत भट्टले भने ।

छाडा चौपायाका स्थानीयवासीलाई सास्ती

सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि बढ्दै गएको छ ।

गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु, बाच्छाबाच्छी छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बन्दै गएको हो ।

कञ्चनपुरमा छाडिएका चौपायाको व्यवस्थापन नहुँदा स्थानीयवासीलाई निकै सास्ती खेप्नुपरेको छ । महेन्द्रनगर बजार, बेदकोट, कृष्णपुरसहित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा छाडा चौपायाका कारण स्थानीय बासिन्दाले हैरानी खेप्दै आएका छन् ।

छाडिएका चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानसमेत मर्कामा पर्न गएको छ । गाउँबस्तीका किसान छाडाचौपायावाट आ–आफनो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ ।

यसैगरी छाडा चौपायाले सडक दुर्घटनासमेत निम्त्याउने गरेका छन् । “गाईलाई राष्ट्रिय जनावरका रुपमा राखिएको छ”, विश्वहिन्दू गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले भने, “दूध दुहुँदासम्म घरमा राखिन्छ । दूध दिन छाडेपछि सडकमा ल्याएर अलपत्र छाडिन्छ । अलपत्ररुपमा छाडिएका गाईलगायतका चौपायाको व्यवस्थापनमा स्थानीय सरकार उदासिन देखिएका छन् ।”

स्थानीय तहले गाईलगायतका चौपाया व्यवस्थापनका लागि ठूलो धनराशी खर्च गरे पनि व्यवस्थापनमा जस्ताको त्यस्तै समस्या रहेको उनले बताए । छाडा चौपाया बजार क्षेत्र र राजमार्ग क्षेत्रमा पहिला जस्तै रहेको उनको भनाइ छ ।

छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र प्रदेश सचिव डा मदनसिंह धाँमीलाई भेटेर ध्यानाकर्षण गराइएको उनले बताए ।

“छाडा चौपाया व्यवस्थापनको भरपर्दो व्यवस्था गरी त्यसबाट उत्पादन र रोजगारी सिर्जना गर्न सकिनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ”, उनले भने, “त्यसबारे मन्त्री र सचिव सकारात्मक देखिएका छन् ।” शुक्लाफाँटा नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन कार्य विगत चार वर्षदेखि अगाडि बढाउँदै आएको छ । नगरपालिकाले छाडा चौपाया व्यवस्थापन केन्द्र नै स्थापना गरी व्यवस्थापनको कार्य गर्दै आएको बताइएको छ ।

‘‘राष्ट्रिय जनावर गाईको हामी नेपाली लक्ष्मीको रुपमा पूजा गर्छौ”, उनले भने, ‘‘गाईको मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भए पनि पशुकल्याणमा लापरवाही हुँदा समस्या जटिल बन्दै गएको छ ।”

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  २ : ४५ बजे

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले

हिजबुल्लाहको आक्रमणमा चार इजरायली सेनाको मृत्यु

जेरुसेलम – उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना

पश्चिमी र स्थानीय वायुको प्रभाव, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी,

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार सन्