विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज चैत्र २, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

१३ हजार ५ सय रुसी सेना मारिएको युक्रेनी दाबी

रुस–युक्रेन युद्ध जारी छ । युद्धमा भएको क्षतिका विषयमा दुबै देशले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् । यसैक्रममा युक्रेनको विदेश मन्त्रालयले युद्धका क्रममा १३ हजार ५ सयभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।

त्यस्तै, हालसम्म ४ सय ४ ट्यांक ध्वस्त पारेको पनि युक्रेनले दाबी गरेको छ ।यता, रुसले भने युक्रेनले सार्वजनिक गरेको विवरणको खण्डन गरेको छ ।अत्यधिक रुसी सेनाको मृत्यु भएको भनेर प्रचार गरी युक्रेनले आफ्ना नागरिकलाई सान्त्वना दिइरहेको पनि रुसले प्रतिक्रिया दिएको छ ।

युक्रेनको विदेश मन्त्रालयले पछिल्लो २० दिनमा एक हजार २७९ रुसी हातहतियार, ९५ हेलिकोप्टर, १ सय ५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनलगायत ध्वस्त भएको जनाएको छ ।

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुई पत्रकार मारिएका छन् । राजधानी किभको बाहिरी क्षेत्रमा रहेको होरेन्का क्षेत्रमा फक्स न्युजका ५५ वर्षीय क्यामेरापर्सन आइरिश नागरिक पिएर जाक्रजेव्स्की र २४ वर्षे युक्रेनी ओलेक्सान्द्रा कुभ्सिनोभा मारिएको फक्स न्युजले जनाएको छ ।

फक्स न्युजले पत्रकारको मृत्युप्रति दुःख व्यक्त गरेको छ । च्यानलकी प्रमुख कार्यकारी सुजन स्कटले आफ्नो संस्थाका लागि यो ‘हृदयविदारक दिन’ भएको जनाएकी छिन् ।

उनका अनुसार पिएर अफगानिस्तान, सिरिया इराकजस्ता द्वन्द्वग्रस्त स्थानमा गई समाचार संकलन गर्दै आएका थिए भने कुभ्सिनोभा केही महिनाअघिमात्रै फक्स न्युजमा काम थालेकी थिइन् ।

यसअघि उनीहरूसँगै काम गर्ने ३९ वर्षे बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको समाचार सार्वजनिक भएको थियो । उनको अवस्था गम्भीर रहेको जनाइएपनि यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

गत आइतबारमात्रै न्युयोर्क टाइम्सका पत्रकार ब्रेन्ट रेनडलाई किभ बाहिरको इरपिन शहरमा गोली हानी हत्या गरिएको थियो । युक्रेनी संसद्को मानवअधिकार समितिकी प्रमुख लुदमिला डेनिसोभाले युक्रेनमा कम्तीमा अरु दुई पत्रकार मारिएको जनाएकी छिन् ।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल– दक्षिण कोरिया

उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले जनाएको छ । राजधानी प्योङ्याङ नजिकैबाट प्रक्षेपण गरिएको संदिग्ध क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले सेनाले जनाएको हो ।

‘उत्तर कोरियाले सुनान क्षेत्रबाट करिब साढे ९ बजे अज्ञात क्षेप्यास्त्र प्रहार गर्यो तर उडानलगत्तै यो असफल हुन पुग्यो ।’ दक्षिण कोरियाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

क्षेप्यास्त्र परीक्षण गरिएको ठाउँमा स्थानीयहरुले ठूलो विमानले उडान भरे जस्तो आवाज सुनेको र एकैछिनमा ठूलो आवाजमा केही विस्फोट भएजस्तो आवाज आएको स्थानहरूलाई उद्धृत गर्दै उत्तर कोरियाको समाचार दिने वेबसाइट एनके न्युजले जनाएको छ ।

उत्तर कोरियाले हालसम्म ९ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । केही दिनअघिमात्रै अमेरिकी अधिकारीले उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीका केही हिस्सा परीक्षण गरेको जनाएका थिए ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक परीक्षणको निन्दा गर्दै लामो समयदेखि नाकाबन्दी र प्रतिबन्धहरू लगाउँदै आएको छ ।

युक्रेनमा झण्डै प्रतिसेकेन्ड एक बालबालिका शरणार्थी बन्न बाध्य

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बालबालिका युद्धको कारण शरणार्थी बन्न बाध्य हुन थालेको संयुक्त राष्ट्र मानवीय संगठनहरूले जनाएका छन् ।

रूसी आक्रमण सुरु भएदेखि अहिलेसम्म यस देशबाट भागेका मानिसहरूको संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्याङ्क छ ।

‘अहिले युक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ ।’ अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईओएम का प्रवक्ता पल डिलनले जानकारी दिए । उनका अनुसार यिमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक छन् ।
फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । पछिल्ला २० दिनका दौरान युक्रेनमा हरेक दिन ७० हजार भन्दा बढी केटाकेटी शरणार्थी बन्न बाध्य छन् ।संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने, ‘हरेक मिनेट ५५ जना बालबालिका युक्रेन छोडेर विदेशिने गरेका छन् ।’

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन यूएन न्युज ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ ।

प्रवक्ता एल्डरले भने, ‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी, पोल्याण्डको मेडिका गाउँदेखि युक्रेनको राजधानी किभसम्म त्यताबाट आएको बताउने हजारौँ मानिसहरू बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ । उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए ।’

उनले भने, ‘अवश्यपनि, अधिकांश मानिसहरू अद्भूत मनसाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ ।’

विदेशी पर्यटकका लागि न्युजिल्याण्डको सीमा खोलिने

न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दै आएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुला गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विदेशी पर्यटकहरूलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सीमा नाका खुला गर्नुपरेको अधिकारीले जनाएका छन् । अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो ।

स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११ः५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्डा अर्डेर्नले बताइन् । उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरूलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ ।

न्युजिल्याण्डले दोश्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुला गर्ने भएको हो । ‘कोरोना भाइरसको महामारी नियन्त्रण गर्न हामीले दुई वर्ष आगाडि सबैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सीमा नाका बन्द गर्ने निर्णय पनि एक थियो ।’ उनले भनिन् ।

उनले अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुला गर्ने निर्णय गरिएको बताइन् ।

रुसद्वारा अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ।

रुसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, रक्षा सचिव लायण्ड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवन र सीआइए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्धको घोषणा गरेको हो।

यसले अरु मानिस पनि प्रभावित हुने विदेश मन्त्रालयले बताएको बीबीसीले उल्लेख गरेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमा देशले रुसमाथि प्रतिबन्ध गरेका छन्। केही रुसी कम्पनी र मानिसलाई पनि प्रतिबन्ध लगाइएको छ।

अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ। पश्चिमा देशको प्रतिबन्ध र चेतावनीपछि रुसले, रुसी तेल प्रतिबन्ध गर्नाले यसको मूल्य ३ सय डलर प्रतिब्यारेल पुग्नसक्ने चेतावनी दिएको छ।

यस्तै जर्मनीको लागि मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने चेतावनी दिएको छ। रुसी कारवाही यसकै प्रतिक्रियाको रुपमा आएको बताइएको छ।

पञ्जाबका नवनिर्वाचित मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

भारतको पञ्जाव राज्यका नवनिर्वाचित मुख्यमन्त्री भगवन्त मानले सपथ लिएका छन् ।

आम आदमीका पार्टीका नेता मानले बुधबार खटकर गाउँमा भएको समारोहमा सपथ लिएका हुन् । उनले सपथ लिएको ठाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो ।

सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललगायत उपस्थित थिए ।सपथ लिएपछि नवनिर्वाचित मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

समारोहमा सहभागी हुनेमध्ये अधिकतर पुरुष पहेँलो पगडी र महिला पहेँलो सलमा सजिएका थिए । ११७ सिट रहेको पन्जाव विधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को विधान सभामा ७७ सिट ल्याएको काँग्रेस १८ सिटमा खुम्चिएको छ ।

रुसी फौजद्वारा मारिउपोलको अस्पताल कब्जा ४ सय बन्धक

रुसी फौजले युक्रेनको दक्षिणपूर्वी शहर मारिउपोलमा अस्पताल कब्जा गरी ४ सय जनाभन्दा धेरैलाई बन्धक बनाएको स्थानीय नेताले बताएका छन् । मारिउपोलका क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै रुसी फौजले अस्पताललाई चारैतिरबाट कब्जा गरेको बताएका हुन् ।

उनले अस्पतालभित्र ४ सय जनालाई बन्धक बनाएर राखेको र बाहिर निस्कन खोज्नेमाथि गोली प्रहार गरेको समेत बताए । अस्पतालभित्र एक सयजना भन्दा धेरै चिकित्सक र बिरामी फसेको भन्दै उनले रुसी फौजले बन्धकलाई मानव ढालको रुपमा प्रयोग गरिरहेको आरोप लगाए ।उनले युद्धको नियम र नीतिको विरुद्धमा गई रुसी फौजले गरेका यस्ता गतिविधिको प्रतिकार गर्न समेत विश्वलाई आग्रह गरे ।

रुसी फौजको घेराबन्दीमा परेको मारिउपोल शरमा यसअघि पनि रुसी फौजले बाल अस्पतालमा आक्रमण गरेको थियो ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यस्तो गतिविधिलाई युद्ध अपराध र नरसंहारको संज्ञा दिएका थिए ।

शान्तिवार्ता यथार्थपरक दिशामा– जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको वार्ता ‘यथार्थपरक दिशा’ तर्फ अघि बढिरहेको जनाएका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले यद्यपि थप केही समय लाग्ने बताएका छन् ।

‘वार्ताहरु भइरहेका छन् र छलफल यथार्थपरक हुँदै गएको मलाई जानकारी गराइएको छ । तर युक्रेनको हितमा निर्णय लिन अझै केही समय लाग्न सक्छ ।’ उनले भने ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रुसी वार्ताकारहरूले आफ्नो प्रस्तावलाई अझ लचिलो बनाउँदै लगेको समाचार आएको थियो ।यसैबीच युक्रेनका प्रमुख वार्ताकारले अबको एक वा दुई सातामा रुससँग शान्ति सम्झौता हुनसक्ने बताएका छन् ।

युक्रेनी वार्ता टोलीका सदस्य एवम् जेलेन्स्कीका निकटस्थ ओलेक्सेई एरेस्तोभिचले युक्रेनमा आक्रमण गर्ने रुसी फौजको श्रोत र साधन सकिँदै गएको खण्डमा एक वा दुई साताको अवधिमा शान्ति सम्झौता हुनसक्ने बताएका हुन् ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने बताएका थिए । विश्लेषकहरूले भने यसलाई युक्रेन नेटोको सदस्य मुलुक हुन नहुने रुसकोमागप्रति जेलेन्स्कीले लचकता देखाएको अर्थमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युरोपका तीन प्रधानमन्त्री किभमा

युरोपका तीन प्रधानमन्त्रीहरू व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनी राजधानी किभ पुगेका छन् । युक्रेनी राष्ट्रपति भोदोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न र रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन पोल्यान्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरू किभ पुगेका हुन् ।

पोल्यान्डका प्रधानमन्त्री मातेयस मोरावेस्की, चेक गणतन्त्रका प्रधानमन्त्री पिटर फिआला र स्लोभेनियाका प्रधानमन्त्री यानेज याश्ना रेलमार्गबाट त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

चेक गणतन्त्रका प्रधानमन्त्री फिआलाले ट्विटरमा लेखेका छन्, ‘हामीलाई थाहा छ तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लै हुनुहुन्न, हाम्रा देशहरूमाथि तपाईंको पक्षमा छन् ।’

त्यस्तै, पोल्यान्डका प्रधानमन्त्री मोरावेस्कीले युक्रेनलाई गुमाएको खण्डमा युरोप उस्तै नरहने र युरोप ‘हार, लज्जा, दयनीय अवस्था’ मा पुग्ने प्रतिक्रिया दिएका छन् ।

‘तपाईंहरुको भ्रमण युक्रेनप्रति शक्तिशाली समर्थनको अभिव्यक्ति हो ।’ जेलेन्स्कीले तीन प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बताएको बीबीसीले जनाएको छ ।

भ्रमणका क्रममा रुसविरुद्ध कठोर प्रतिबन्ध र रुसलाई आतङ्कवादलाई साथ दिने देशको मान्यता दिने विषयमा छलफल भएको युक्रेनी प्रधानमन्त्री डेनिस श्याम्हालले ट्विटरमार्फत् जनाएका छन् ।

रुसले युक्रेनमा आक्रमण थालेयता किभमा उच्चस्तरीय विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ०७ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले