काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।
काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहमा मन्त्री खड्काले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताएका हुन् ।
विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको भन्दै उनले त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्ने पनि बताए ।
नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेकोसमेत उनले जानकारी दिए ।
मन्त्री खड्काले अल्मुनाइसँग आबद्ध प्रतिनिधिलाई जापानमा सिकेको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्नसमेत आग्रह गरे ।
एशोसिएशन जापानमा अध्ययन भ्रमण र तालिममा सहभागी भएर फर्किएका नेपालीहरूको संस्था हो । यसले नेपाल जापानको मित्रतालाई सुदृढ र विकासमा योगदान पुर्याउँदै आएको छ ।
सन् १९७३ मा स्थापना भएको एशोसिएशनमा जापानमा कार्यरत एक हजार ३०० नेपाली सदस्य छन् ।
एशोसिएशनले भ्रमणमा जाने नेपालीलाई अनुशिक्षण कार्यक्रम सञ्चालनदेखि ललितपुर सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका पनि विमोचन गरिएको यो कार्यक्रममा एशोसिएशनका अध्यक्ष रामचन्द्र भूसाल, उपाध्यक्ष केदार पौडेल, महासचिव शान्तिलक्ष्मी शाक्य, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया