'संसदीय चुनावसम्मै देउवा सरकार चल्छ' | Khabarhub Khabarhub

‘संसदीय चुनावसम्मै देउवा सरकार चल्छ’

'समाजवादीकाले जस्तो माओवादी नेताले मन्त्री बन्न मरिहत्ते गरेका छैनन्'


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सरकार परिवर्तनको विषयले चर्चा पाएको छ । नेकपा एकीकृत समाजवादीले बजेटलगत्तै मन्त्री फेर्ने तयारीले सरकार परिवर्तनको चर्चा चुलिएको हो । गठबन्धन भत्काउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीकै अफर गरेको हल्ला चलेको थियो । अहिले यो विषयमा पनि गठबन्धनका नेताबीच छलफल हुने गरेको छ । मन्त्री फेर्ने विषय र नयाँ नेताहरू मन्त्री बन्न दौडधुप गर्दा राष्ट्रिय राजनीतिको स्वार्थी प्रवृत्ति उदांगो बन्दै गइरहेको छ । सत्ता र स्वार्थका लागि मन्त्री बन्न चाहनेको चर्चा चलिरहेका बेला माओवादीभित्र भइरहेको अन्तरबहसका विषयमा खबरहबका लागि धीरज बस्नेतले पूर्वमन्त्री एवं माओवादी नेता हरिबोल गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश:

मन्त्री फेर्ने विषयले सत्ता गठबन्धनका दलभित्रै भाँडभैलो मच्चिएको छ, तपाईँहरूको पार्टीमा त्यसको दबाब कति छ ?

दबाब स्वाभाविक रूपमा हुन्छ । अन्य पार्टीको फेरिदा हाम्रो किन नफेर्ने भनेर आकांक्षीले प्रश्न गर्छन्, गरिरहेका छन् । तर, मन्त्री बन्न खोज्नेहरुलाई दोष दिनु हुँदैन । मुख्य कुरा हामीले कस्तो संस्कार निर्माण गर्‍यौ भन्ने हो । पार्टीको नेता भएपछि चुनाव लड्नै पर्ने, सांसद हुनैपर्ने र सांसद भएपछि मन्त्री बन्नै पर्ने जुन खालको संस्कार विकास गर्‍यौ त्यो नै हाम्रो समस्या हो। सबै नेता सांसद मन्त्री बन्न वा पार्टी निर्माणमा संगठनका हिसाबले उपयुक्त हुँदैनन् । तर, यहाँ जो सुकैलाई मन्त्री बनाइएको छ । जनताको काम गर्ने जनतालाई डेलिभरी दिने हिसाबले हामीले कहिल्यै सोचेनौँ। को मान्छे त्यो मन्त्रालयमा पठाउँदा प्रभावकारी काम हुन्छ भन्नेबारे कहिल्यै ध्यान दिएनौ । यो विषयमा पार्टीका शीर्ष नेताहरुले गम्भीर त्रुटि गरेका छन् । आफ्नो कुर्सी सुरक्षित राख्न उनीहरुले क–कसलाई कहाँ-कहाँ के गर्नुपर्छ त्यही गरिरहेका छन् । जनताको समस्या र काममा उनीहरुले खासै ध्यान दिएका छैनन् । त्यसैको उपज हो अहिले मन्त्री फेर्ने तयारी । जनताको कामबारे सोच्ने भन्दा पनि नेताहरुलाई मन्त्रीको पालो पुर्‍याइदिने होडबाजी चलिरहेको छ । २ महिना भए पनि मन्त्री बन्न पाए हुन्थ्यो भनेर दौडिनेहरू बढेका छन् । यो नेपाली राजनीतिको ठूलो विकृति हो । अत्यन्त घातक संस्कार हो ।

भाग मिलाउन हाम्रा नेताहरुलाई मन्त्री बनाइदिनु पर्‍यो नत्र गठबन्धन धरापमा पर्छ भनेर धम्की दिने क्रम पनि भएको रहेछ नि, होइन ?
मैले पनि सुनेको छु तर यो गलत हो । अब जम्मा ४-५ महिना पनि बाँकी छैन संसदीय चुनाव आउन । यस्तो अवस्थामा मन्त्री फेरेर के गर्ने ? आएका नयाँ मन्त्रीले के गर्छन् ? अहिले बजेट पेस भएको छ, कम्तीमा तिनै मन्त्री रहे भने ४/५ महिनामा केही काम पनि गर्लान् । पुरानाले मन्त्रालयको काम र आफ्नो भूमिका बल्ल बुझेका छन्, अब उनीहरुलाई हटाएर नयाँ ल्याउँदा त्यसले अस्थिरता बाहेक के दिन्छ ? उनीहरुले मन्त्रालयको काम कसरी गर्न सक्छन् ? मन्त्रीले कुनै ठूलै गल्ति गरेको भए हटाउनु पर्छ नत्र भाग पुर्‍याउनकै लागि, कसैको रहर पुरा गर्न  मन्त्रीहरुलाई हटाउनु राम्रो होइन । कसैको धाक धम्कीले मन्त्री फेर्ने र सरकार चलाउने भन्ने हुँदैन । त्यसो गर्नु पनि हुँदैन ।

तपाईँकै पार्टीका नेता पनि मन्त्री बन्न दौडधुप गरिरहेको कुरा बाहिर आएको छ नि ! व्यवस्थापन कसरी हुन्छ ?
साथीहरुले आकांक्षा राखेको मैले पनि सुनेको छु । तर अन्य पार्टीमा जस्तो उहाँहरुको अनावश्यक दौडधुप चलिरहेको छैन । एकीकृत समाजवादी र जनता समाजवादीमा जस्तो भाँडभैलो हाम्रो पार्टीमा छैन । इच्छा चाहना त छ, तर जसरी हुन्छ मन्त्री बनाइदिनै पर्छ नत्र बर्बाद हुन्छ भन्ने छैन ।

एकताका पार्टीका नेताहरूले मलाई मन्त्री बनाइदिनु पर्‍यो भनेर घर घरमा धाउने, दबाब दिने, थर्काउने, तर्साउने गर्न थाले भनेर अध्यक्ष प्रचण्डले भन्नु भएको थियो । फेरि त्यही अवस्था आइपुगेको हो ?
त्यस्तै अवस्था त आएजस्तो मलाई लाग्दैन । तर, नेताहरूले मन्त्री बन्न जुन खालको दबाब दिन थाले भनिएको छ यसले नै अध्यक्ष प्रचण्ड आफैले कस्तो संस्कार बसाल्नु भयो भन्ने कुराको झल्को दिन्छ । हिजोको दिनमा बिना मापदण्ड जसलाई पनि मन्त्री बनाइदिने, भाग पुर्‍याउन र रहर पुरा गरिदिन जस्तालाई पनि मन्त्रीको कुर्सीमा बसालेपछि यस्तो समस्या आइहाल्छ नि । यो त पार्टीका अन्य साथीमा भन्दा स्वयम अध्यक्षमा समस्या देख्छु । कहाँ त्रुटि भयो, साथीहरुमा यस्तो मनोविज्ञान कसरी आयो भन्ने कुराको समीक्षा अध्यक्षले गर्नु पर्‍यो नि । गलत संस्कार बसाएपछि राम्रो व्यवहार पाइन्छ त ।

मन्त्री होइन प्रधानमन्त्री नै फेर्ने हल्ला सुनिन्छ । तपाईँकै पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर आएको हो ? अहिलेको सरकार ढालेर नयाँ सरकार बनाउने सम्भावना कति छ ?
प्रतिगमनलाई परास्त गर्न यो सरकार बनेको हो । एउटा लक्ष्य उद्देश्य पुरा भएपछि सरकार परिवर्तन होला । तर, अहिले त्यो लक्ष्य पुरा भएको छैन। प्रतिगमन स्थानीय चुनावमा केही खस्किएको छ तर दम्भ र अहंकार घटेको छैन । त्यसलाई आगामी संसदीय चुनावमा पराजित गर्नैपर्छ। त्यसैले अहिले सरकार परिवर्तन गर्ने भन्ने कुरा केवल हल्ला मात्रै हो । अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको अफर आयो होला तर त्यो अफर  माओवादीलाई स्वीकार्य छैन । गठबन्धनलाई मजबुत बनाउने र यही सरकारलाई अघि बढाउने माओवादीको अहिलेको नीति हो । त्यसैले आगामी संसदीय चुनावसम्म नै शेरबहादुर देउवा नेतृत्वको सरकार चल्छ । प्रतिनिधि र प्रदेश सभाको चुनाव यही गठबन्धन सरकारले गर्छ ।

अर्कोतर्फ तपाईँहरु नै नेपाली कांग्रेसले अहंकार देखायो, उसलाई साइजमा राख्नु पर्छ भनेर गठबन्धनमा रहेका चार दलबीच छुट्टै छलफल पनि गरिरहनुभएकै छ नि यो त दोधारे रणनीति भएन र ?
कांग्रेसमा अहंकार आएकै हो । नेपालमा जुन दल ठूलो हुन्छ, उसमा अहंकार आउने गरकै छ । त्यसैले उसलाई सतर्क गराउने र खबरदारी गर्ने काम भइराखेको छ । स्थानीय निर्वाचनमा कयौं ठाउँमा कमी कमजोरी भएको छ। त्यसको समीक्षा गर्नै पर्छ । संसदीय निर्वाचनमा सिट बाँडफाँडको कुरा आउँछ, त्यसमा पनि छलफल हुनुपर्छ । यस्ता विषयमा अनौपचारिक छलफल हुनसक्छ। तर, गठबन्धनमा रहेको कांग्रेसलाई पन्छाएर ४ दलबीच छुट्टै छलफल भएको छैन । अनौपचारिक छलफल हुनु स्वाभाविक हो, तर कांग्रेसविरुद्ध गठबन्धन गर्ने भनेर ४ दलले मोर्चा बनाउनेबारे सोचेको छैन । मलाई लाग्छ त्यो दिन आउँदैन । कांग्रेसले आफ्ना कमजोरीहरु सच्याउँछ र यही गठबन्धन मजबुत भएर जान्छ ।

पार्टीलाई मजबुत बनाउन र संगठनलाई चुस्त बनाउनुभन्दा पनि गठबन्धन मात्रै भनेर तपाईँहरु किन हिँडिरहनु भएको छ ?
महाधिवेशन लगत्तै स्थानीय चुनाव आइहाल्यो । त्यसकारणले संगठनलाई पूर्णता दिन नसकिएको सत्य हो । अब चाँडै पदाधिकारीको टुंगो लगाउनेदेखि संगठन मजबुत बनाउने काममा हाम्रो ध्यान केन्द्रित हुनेछ । तर हामीले महाधिवेशनबाट विगतको कमी कमजोरी सच्याउँदै सही विचार नीति लिएका छौँ । अब कसरी अघि बढ्ने भन्ने बाटो पनि तय गरेका छौँ । यो बाटोमा सही ढंगले लाग्न सक्यौ भने माओवादी शक्तिशाली पार्टी बन्न सक्छ । कसैको पछि लाग्नु पर्ने आवश्यकता नपर्न सक्छ । तर, हिजोका दिनमा हाम्रा कमीकमजोरीका कारण धेरै समस्या उत्पन्न भएको छ । किन गठबन्धन गरेको भन्ने प्रश्नमा चाहीँ, कुरा के हो भने प्रतिगमन हामी एक्लैले परास्त गर्न सक्ने अवस्था थिएन । त्यसका लागि उसकाविरुद्धमा उत्रिएका शक्तिहरु एकै ठाउँमा उभिएका हौ । गठबन्धन गरेका हौँ । अब तीनै तहको चुनावमार्फत प्रतिगमनलाई ठेगान लगाएपछि हामी हाम्रो तरिकाले अघि बढ्छौ ।

वास्तवमा माओवादी अरूको सहारा बिना चल्नै नसक्ने पार्टी बन्यो है ?
हामी विगतको तुलनामा कमजोर भएका हौ । तर अरूको साहारा बिना चल्नै नसक्ने भएका होइनौँ । प्रतिगमन परास्त गर्न एक ठाउँमा उभिनुलाई अरूको साहारामा चलेको भन्न नमिल्ला। विगतमा बाम एकताको प्रयास गर्नुलाई गलत भन्न नमिल्ला । हामीले परिस्थिति अनुसार फरक खालको भूमिका निभाएका हौँ । अहिले पनि मुलुक हाम्रै एजेन्डामा हिँडिरहेको छ । तर, हामीले यो कुरा जनतालाई बुझाउन र भजाउन सकेनौ । विगतमा कमजोरी भयो भनेर महाधिवेशनमा नै समीक्षा भैसकेको छ । अध्यक्षले कमजोरीको जिम्मेवारी म लिन्छु भनिसक्नु भएको छ । कमजोरी सच्याएर माओवादीलाई शक्तिशाली पार्टीका रूपमा स्थापित गर्ने संकल्प गर्नु भएको छ । अब यो केन्द्रीय कमिटीको बैठकबाट थाहा हुन्छ, उहाँको बोलिले मात्रै रूपान्तरण हुनु भएको हो की साञ्चै बद्लिन र पार्टी बदल्न खोजिरहनु भएको हो भन्ने उहाँले ल्याउने एजेन्डाले संकेत गर्नेछ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ९ : ३८ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको