काठमाडौं– यी हुन् आजका प्रमुख समाचारहरुः
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले जति भौगोलिक अखण्डता, स्वाधिनता, सार्वभौम सत्ताको अपमान अरु कुनै सरकारले नगरेको बताएका छन् ।
नेपाल चीन हिमालयल मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले सार्वभौम सत्ता अपमान गरेका प्रमाणहरु प्रशस्त रहेको बताएका हुन् ।
यस्तै अध्यक्ष ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चूनौति दिए । उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउँनका लागि अदालतमा मुद्दा हाल्न पनि बामपन्थी भन्नेहरु नै अदालत गएको जिकिर गरे ।
गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने उनले बताए ।
उनले मिलेर देश, लोकतन्त्र र मुलुकका लागि काम गर्ने सरकार बनाउन समेत आह्वान गर्नुभयो अध्यक्ष ओलीले बिगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर दलहरु अघि बढ्नुपर्ने बताए ।
ओलीले एमसीसीका नाममा आफूलाई बद्नाम गर्ने कोशिस भएको भन्दै आफुले देश र जनता बिपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे ।
राष्ट्रियताका बिषयमा संसदमा छलफल हुुनुपर्ने भएपनि संसदले राष्ट्रियता आकाक्षां बिपरित अंकगणितिय अभ्यासमा काम गरेको तर्क गरे । उनले वर्तमान गठबन्धन स्वार्थका लागि भएको र एउटा काम पनि देश र शुसासनका लागि गर्न नसकेको बताए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको बताएका छन् ।
सोही कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले नेपालको भूराजनीतिक अवस्थामा, सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरेकाले कामुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गर्दै वामपन्थीहरु एक हुनुपर्ने बताए । उनले नेपाली भूमि वा राजनीतिलाई प्रयोग गर्ने खेल भएको भन्दै सवै सचेत रहनुपर्ने धारणा राखे ।
यस्तै नेता श्रेष्ठले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गरेका छन् । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले नेपालले भारत र चीनबाट लाभ लिनसक्नुपर्ने बताउनुभयो । यस्तै उनले नेपाल असंलग्न भएको बताउँदै युक्रेन बनाउने बाटोमा जान नहुने जिकिर गरे ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति लिएकोबारे सीसीटीभी फुटेजको अध्ययन
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ ।
सिंहदरबारमा आज दिउँसो बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिको सीसीटीभी गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको जनाएको हो । राजश्व विभाग, भन्सार विभागका महानिर्देशकसँग आज छलफल गरि,सकिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको हो । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनर्विचार गरिनुपर्छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।
भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन फर पब्लिक अव्र्नेस एण्ड पोलिसीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।
सो क्रममा उनले दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि जोड दिए ।
साथै त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारेका हुन् ।
यसअघि अध्यक्ष दाहाल र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका छन् ।
छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने उनले विश्वास व्यक्क्त गरेका छनन यस्तै अध्यक्ष दाहालले आज नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । । तीन दिने भम्रणका क्रममा उनी हिजो दिउँसो भारत प्रस्थान गरेका हुन् ।
स्वास्थ्यमन्त्री खापुङ
स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले नेपालमा उपचार नपाएर कोहिको पनि ज्यान जाने अवस्था आउन नदिने दावी गगरेका छन् ।
काठमाडौंमा आज सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्यक्षेत्रको पूर्वाधारमा बिकास हुदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका हुन् । उनले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सबै प्रकारको तयारीमा सरकार जुटेको बताए ।
भारतमा समेत कोरोना संक्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परिक्षणलाई प्रभावकारी बनाइने उनले । उनले यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजन भएको भएपनि अव त्यस्तो नहुने धारणा राख्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
राप्ती प्रादेशिक अस्पतालमा बहिरंग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने
साउन १ गतेदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शय्या) मा शुल्क नलिने घोषणा गरेको थियो ।
सोही अनुरुप भोलि देखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने भएको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ ।
रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस्तै सरकारले रगत निशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
पर्साका ६९ नेताद्वारा पार्टी परित्याग
जनता समाजवादी पार्टी जसपा पर्साका केन्द्रीय सदस्यसहितका नेताहरूले पार्टी परित्याग गरेका छन् ।
वीरगन्जमा आज पत्रकार सम्मेलन गरेर जसपाको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्यसहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरूले पार्टी परित्याग गरेका हुन ।
केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टाचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताएका छन् ।
योङ कम्युनिष्ट लिग (वाइसिएल)
नेकपा माओवादी केन्द्रको योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने सरकारका प्रयास पर्याप्त नभएको भन्दै अर्थतन्त्रका सूचकलाई सकारात्मक राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण, र आर्थिक मितव्ययितालगायत उपाय अवलम्बन गरी मुलुकले झेल्नुपरेका समस्या समाधान गर्न (वाइसिएल) ले ७ बुँदे माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
यस्तै राज्यका उच्च निकायमा कार्यरत अधिकारी नै नेपाल श्रीलङ्का बन्न सक्छ भन्ने अभिव्यक्ति दिँदै निराशाको सञ्चार गर्ने र परिस्थिति भड्काउने षडयन्त्रमा लागेको भन्दै वाइसिएलले त्यस्ता निराशावादी अभिव्यक्ति दिने जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेको छ भने वाइसिएलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्ने विषय सार्वजनिक भइसकेकाले गभर्नरलाई यथाशीघ्र पदमुक्त गरी छानविनको दायरामा ल्याउन माग गरेको छ ।
यता प्रधानमन्त्री शेर बहादुर देउवाले भने विवादित गभर्नर अधिकारीका विषयमा कानुनविद्सँग परामर्श गरेर आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको छ ।
पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु
पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ ।
जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको आज दिउँसो करेण्ट लागेर मृत्यु भएको हो । गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याईएको छ । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् । उनले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।
नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि
नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ९९ पीसीआर परीक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप ५१ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमा सोही अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र ८२ जना ,ललितपुरमा ११ र भक्तपुरमा सात संक्रमित थपिएका छन् ।
सप्तरीको बोदे आगलागीबाट लाखौँको क्षति
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
एकै साथ तीन सिलिन्डर पडकेर आगलागी हुँदा आगो निभाउने क्रममा तीन स्थानीय घाईते भएका छन । घाइते हुनेहरूमा कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेका छन् ।
सामूहिक बलात्कारको गरेको आरोपमा चार जना पक्राउ
कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ ।
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन् । उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।
गत असार २३ गते राति ती युवतीमाथि सामुहिक बलात्कार भएको जाहेरी हिजो परेपछि प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो । युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले ललाई फकाई मोटरसाइकलमा राखेर उखुबारीमा लगेको त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिइसकेको छ ।
धादिङमा मोटरसाइकल ठक्करबाट एकजनाको मृत्यु
धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ कोल्पुखोलामा बसले मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठकुरी रहेका छन् ।
बा.४ ख ९२९६ नम्बरको बसले बा.५६ प २४९६ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकल दचालक सोही गाउँपालिका–१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बेभरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।
जुम्लामा पहिरोपीडित ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने
जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भासिदा ज्यान गुमाउने ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले आज पहिरो गएको क्षेत्रको स्थलगतअवलोकन गरेको थियो ।
स्थलगत अवलोकन पछि बसेको गाउँ कार्यपालिकाको बैठकले पीडित परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । गत बिहीबार राति हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला लघु जलविद्युत आयोजनामा पहिरो जाँदा विद्युतगृहका अपरेटर गोरखबहादुर शाहीका श्रीमती र ९ र ८ वर्षका दुई छोराको मृत्यु भएको थियो ।
१ सय ४५ बोरा तस्करीको तोरी बरामद
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिका–१ बुधनगरबाट सशस्त्र प्रहरीले १ सय ४५ बोरा तस्करीको तोरी बरामद गरेको छ ।
ट्याक्टरमा लोड गरेर भारतको जोगवनीबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर सिंह नेतृत्वको टोलीले अवैध तोरी बरामद गरेको हो ।
बोरामा प्याक गरेर प्रदेश १–०४–००१ त १२७४ नम्बरको
ट्याक्टरमा लोड गरी ल्याइएको तोरी बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार भन्सार छली गरेर नेपाल भित्राइएको तोरी ५ हजार ८ सय किलोग्राम छ । अवैध तोरी लोड गरिएको ट्याक्टर भारतबाट सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेपछि नियन्त्रणमा लिइएको हो ।
बैंक तथा वित्तीय संस्थाले साउनमा पनि निक्षेपको ब्याजदर
बैंक तथा वित्तीय संस्थाले साउनमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।
ब्याजदर बढाएकै कारण बैंकमा निक्षेप नआउने निष्कर्षका आधारमा बैंक तथा वित्तीय संस्थाले साउनमा पनि पुरानै ब्याजदर प्रकाशित गर्ने निर्णय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरूले गरेका हुन् । आउने साता राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले के कस्तो नीति अवलम्बन गर्छ त्यो हेर्नका लागि पनि बैंक तथा वित्तीय संस्थाले साउनमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने भएपछि डेभलपमेण्ट बैंकर्स संघ र वित्त कम्पनी संघले पनि औपचारिक रूपमा निर्णय नै गरेर साउनका लागि पनि असारकै ब्याजदर प्रकाशित गर्ने सहमति गरेका हुन् ।
जसअनुसार साउनमा वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । यसका आधारमा एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ ।
यस्तै, सहमतिअनुसार विकास बैंकहरूले साउनका लागि एक वर्षे मुद्दती निक्षेपमा अधिकतम ब्याजदर १२ प्रतिशत ब्याजदर र एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र साधारण बचतको ७ प्रतिशत कायम गरेका छन् ।
कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका
साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, जारी गरेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
जारी गरिएको निर्देशिकामा बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने, कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने, बीमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बीमा लेखको हकमा छोटो अवधिका लागि बीमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया