ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता  | Khabarhub Khabarhub

ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिनल्याण्ड– नेपाल र फिनल्याण्ड सरकारले जलस्रोत उपयोग, जलवायु परिवर्तन एवं मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री भिल्ले स्किन्नरीबीच आज  भएको भेटवार्तामा उनीहरूले दुई देशका साझा मुद्दामा एकीकृत भएर अगाडि बढ्ने ऐक्यबद्धता व्यक्त गरेका छन् । 

सो अवसरमा मन्त्री भुसालले जलवायु परिवर्तनका लागि नेपालले कुनै योगदान नगरेको तर त्यसको असर भोग्नुपरेकाले फिनल्याण्ड सरकारसँग साझेदारी गरेर अगाडि बढ्न चाहेको बताइन् । उनले जलवायु परिवर्तनको असरबाट उत्पन्न भइरहेको प्रकोपको असर कम गर्नका लागि फिनल्याण्ड सरकारबाट प्राप्त सहयोग थप विस्तार गर्न आग्रह गरिन् । मन्त्री भुसालले भनिन्, ‘जल तथा मौसम विज्ञान विभाग र फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीचको सहकार्यलाई विस्तार गरौँ, हवाई उड्डयनको पूर्वानुमानलाई पनि थप प्रभावकारी तुल्याउनका लागि प्रविधिमैत्री बनाउनुपर्छ । त्यसका लागि हामीलाई फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।’

नेपालको ऊर्जा क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउनका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको जलविद्युत् विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘बूढीगण्डकीजस्ता ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा सरकारले प्राथमिकता दिएको छ, त्यसका लागि ठूलो आर्थिक आवश्यकता पर्छ, बूढीगण्डकी आयोजना निर्माणका लागि फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।’ उनले आफ्नो देशले स्वच्छ ऊर्जालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै हाइड्रोजन ऊर्जा विकास गर्नका लागि प्रविधि हस्तान्तरण गरेर सहयोग गर्न आग्रह गरिन् ।

त्यसैगरी फिनल्यण्डका मन्त्री स्किन्नरीबीले नेपालको सामाजिक विकास र जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने असर कम गर्ने विषयमा आफ्नो सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तनका हाम्रो साझा समस्या हो, यसको असर कम गर्न हामी नेपाललाई सहयोग गर्नेछौँ ।’ जलवायु परिवर्तनको असर कम गर्न र नेपालको ऊर्जा तथा सामाजिक विकासमा थप सहयोग गर्नका लागि तत्पर रहेको उल्लेख गर्दै मन्त्री स्किन्नरीबीले जैविक इन्धनको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए ।

सो भेटघाटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, डिएचएमका महानिर्देशक कमलराम जोशी र फिनल्याण्डका तर्फबाट नेपालका लागि फिनल्याण्डका राजदूत पर्ती एन्टिनेन, फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआइ) का महानिर्देशक जुस्सी काउरोलालगायतको सहभागिता रहेको छ ।

नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच सन् २०१० देखि मौसम पूर्वाअनुमानका विषयमा सहकार्य हुँदै आएको छ । सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि फिनल्याण्डले नेपाललाई ऊर्जा विकास, सरसफाइ, खानेपानी तथा मौसम तथा उड्डयनको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

त्यसअघि जलस्रोत तथा सिँचाइ सचिव राई र फिनल्याण्डको यातायात तथा सञ्चार सचिव डा पेल्भी टोर्स्टीबीच जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्ने विषयमा छुट्टै छलफल भएको थियो । डिएचएमएफएमआईबीच थप सहकार्य गर्ने विषयमा उहाँहरूबीच छलफल भएको हो । पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउने विषयमा छलफल भएको सचिव राईले जानकारी दिए । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ०३ बजे

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै