काठमाडौँ – आज दिनभर महाभियोग सिफारिस समितिले भोलि प्रतिवेदन पेश गर्ने, सिट बाँडफाँटको विषयमा गठबन्धनभित्र ८० प्रति सहमति, संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस, संसदको कार्यकाल सन्तोषजनक नभएको माधव नेपालको भनाइ, कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
महाभियोग सिफारिस समितिले भोलि प्रतिवेदन पेश गर्ने
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरासंग बयानको लिखित प्रतिमा हस्ताक्षर लिएको छ ।
समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा समेटेकोमा आजको बयानको ६५ पेजसम्म हस्ताक्षर लिइएको समितिका प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए ।
बैठकमा जबरालाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो । शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १ सय ७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउने गरिएको थियो । भोलि बाँकी बयान पढ्ने र हस्ताक्षर गर्ने काम हुने प्रवक्ता गौतमले बताए ।
सिट बाँडफाँटको विषयमा गठबन्धन भित्र ८० प्रति सहमति
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँटको बिषयमा दलहरुबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन ।
संसद भवनमा सञ्चारकर्मीसंग आज कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य बिषयमा पनि सहमति भइ निर्वाचनमा जाने दावी गरे । राजनीतिक स्थीरता नदिइ, देशको बिकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए ।
संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस
सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मध्यराति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो ।
आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता सहभागि हुने
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थलका साथै २२ हजार २२६ वटा मतदानकेन्द्र तोकेको छ । जसमा १८ वर्ष उमे पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली स्वीकृत गरेको आयोगले जनाएको हो । यसैगरी सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ, झापा र काठमाडौं रहेका छन् ।
जसमा आयोगका सबभन्दा धेरै मतदाता मोरङमा ७ लाख ३५ हजार ५२५ , झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन् । सबभन्दा कम भने मनाङमा ६ हजार ७७९ मतदाता छन् । मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ मतदाता रहेका छन् ।
यसैबीच २०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने भएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची भोलि मध्यराति १२ बजेदेखि कायम नरहने जनाएको हो ।
संसदको कार्यकाल सन्तोषजनक नभएको माधव नेपालको भनाइ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन ।
संसद भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसंग कुरा गर्दै जनताका मुद्धा स्थापीत गर्न र मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन । २०७४ सालको निर्वाचनपनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच बर्षे कार्यकाल हुन नसकेको उनको भनाई छ ।
उनले केपी ओलीको व्यक्तिबादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । संसद भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाई छ ।
त्यस्तै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले कानून निर्माण गर्ने कुरामा संसदका पाँच बर्षे कार्यकाल सफल भएको बताए । उनले पक्ष बिपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसदले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको बताए ।
त्यस्तै कांग्रेस सांसद सुजाता कोईरालाले पनि संसदका पाँच बर्षे कार्यकालमा महत्वपूर्ण निर्णय भएको र केहि विवाद भएपनि संसद सफल भएको बताए ।
गठबन्धनका कारण संसद प्रभावकारी नभएको एमालेको आरोप
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संसदको पाँच बर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरुको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन ।
संसद भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले संसदको नेतृत्व गर्ने पात्रहरुको भूमिका महत्वपूर्ण हुने भएपनि त्यस्तो हुन नसकेको बताएका हुन । पोखरेलले सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा भूमिका खेलेको आरोप लगाए ।उहाले केहि पात्रहरुका कारण नै संसद अनाकर्षण थलोको रुपमा देखापरेको टिप्पणी गरे ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएका ऊर्जा मन्त्री पम्फा भुसालले सो संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ ।
यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८” पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परिक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त नयाँ मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।
त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । हवाई इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ ।
हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ । यद्यपि निगमले भने मूल्य घटेर आउँदा पनि घाटा भएको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया